coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

अनन्तलिंगेश्वर दर्शन

अनन्तलिंगेश्वर मन्दिर प्यागोडा शैलीमा पुनर्निर्माण भएको छ। पावन भूमि अनन्तलिंगेश्वर ‘हाइकिङ प्याराडाइज’ समेत मानिन्छ।    इतिहासविद्का अनुसार भक्तपुरको दधिकोट क्षेत्र लिच्छिविकालमा समृद्ध थियो। तिनताका अनन्तलिंगेश्वर क्षेत्रलाई ‘हंशगृह’ भनिन्थ्यो। त्यसका रक्षक लोकपाल स्वामी अर्थात् अनन्तलिंगेश्वर थिए।

सूर्यविनायक नगरपालिका–४ मा पर्छ अनन्तलिंगेश्वर। धार्मिक वनको बीचमा छन् महादेव। इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठको पुस्तक ‘अनन्तलिंगेश्वर’का अनुसार सातौं शताब्दीमा भक्तपुरका राजा नरेन्द्रदेवले यसको जीर्णोदार गराएको अभिलेख छ।    
अनन्तलिंगेश्वर दर्शनले सुख÷शान्ति, रोगव्याधिबाट मुक्ति र मनोकामना पूरा हुने जनविश्वास छ।

मन्दिरभित्र प्राचीन शिवलिंग छन्। मन्दिर हातामा गणेश, बासुकी, उमा महेश्वर, जलहरी, गणेश, अन्नपूर्णा, लक्ष्मी, वनदुर्गा, सरस्वती पादुका, बसाहा र गरुडका मूर्ति छन्।   

अनन्तलिंगेश्वर सम्बन्धी किंंवदन्ती भन्छ–उहिल्यै जंगलमा ऋषिमुनि तपस्या गर्थे। उनीहरू पानी खोज्दै डाँडाको काखमा पुगेछन्। त्यहाँ त्रिशूल गाडेर खन्दा शिवलिंग फेला परेछ। ३० फिट गहिराइमा पुग्दा समेत लिंगको फेद भेटिएनछ। बरु त्यसबाट रगत आएछ।  
त्यही बेलादेखि अनन्तलिंगेश्वर मानेर पुज्न थालियो। ऋषिहरूले नजिकै फेरि कुवा खने। त्यस अनन्त कुवाको पानी खाँदा रोग निको हुने विश्वास छ।  

धार्मिक आस्था भएकाहरू दिनहुँ मन्दिर पुगेर दर्शन गर्छन्। घुमन्तेहरू पनि बरोबर आउँछन्। अनन्तलिंगेश्वर क्षेत्र हाइकिङ र साइक्लिङका लागि उपयुक्त छ। मन्दिरबाट उकालो चढेर लाँकुरी भञ्ज्याङ हुँदै रानीकोट वा लामाटार जान सकिन्छ।

आकाश खुलेका बेला मन्दिर मास्तिरबाट काठमाडौं खाल्डोका साथै हिमालको दर्शन मिल्छ। मन्दिर फेदको अनन्त झुला अर्को आकर्षण बनेको छ। भर्खरै अनन्तलिंगेश्वर मन्दिर पुननिर्माण सकिएको छ। पुरातत्त्व विभागले दुई करोड ७ लाख रुपैयाँ खर्चेर प्यागोडा शैलीमा निर्माण गरेको मन्दिर उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रतिनिधि सभाका सभासद् महेश बस्नेतले भदौ २३ मा उद्घाटन गरेका छन्। मन्दिर हातामै शिवभक्त इन्जिनियर कुमार उप्रेतीले निजी लगानीमा गणेश मन्दिर बनाइदिएका छन्।

वैशाख १२ गतेको भूकम्प अघि अनन्तलिंगेश्वर गुम्बज शैलीमा थियो। अहिले प्यागोडा शैलीमा बनाइएको छ। ‘विसं १९९० सालको भूकम्प अघि अनन्तलिंगेश्वर प्यागोडा शैलीमा थियो’, अनन्तलिंगेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष शालिग्राम न्यौपाने भन्छन्, ‘पछि गुम्बज शैलीमा बनाइएको रहेछ। त्यसैले हामीले मन्दिरको प्राचीन रूप झल्काउन प्यागोडा शैलीमै पुननिर्माण गरेका हौं।’

अर्को खुसीको कुरा, ‘नेपाल भूमिमा वृन्दावन, वृन्दावनमा वृद्धाश्रम’ भन्ने नाराका साथ स्थापित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले अनन्तलिंगेश्वरलाई नेपालको वृन्दावन बनाउने अभियान चलाएको छ। केन्द्रकी अध्यक्ष रेखा अर्यालका अनुसार वृन्दावनमा वृद्धाश्रम, अस्पताल, योगशालाका साथै राधाकृष्ण मन्दिर बनाइने छ। त्यो पूरा भएपछि दधिकोट क्षेत्र नै चम्कने देखिन्छ।

यतिबेला समिति अनन्तलिंगेश्वर क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्दैछ। दधिकोट क्षेत्रमा खाजा पसल र रेष्टुराँ छन्। मन्दिर माथि डाँडामा होमस्टे सुविधा छ। त्यहाँ होटल तथा रिसोर्टको खाँचो देखिन्छ।  

अनन्तलिंगेश्वर घुमेर फर्कंदा ताजा तरकारी कोसेली ल्याउन सकिन्छ। अनन्तलिंगेश्वर बसपार्क र गाम्चा बजारमा खुवा, गुँदपाक र पुस्टकारी किन्न पाइन्छ।  

कसरी पुग्ने : अरनिको राजमार्गको नयाँ ठिमीस्थित शंखधर चोकबाट करिब ६ किमिमा अनन्तलिंगेश्वर मन्दिर। ठिमीबाट अनन्तलिंगेश्वरको फेदीसम्म सार्वजनिक यातायात चल्छन्। सूर्यविनायकबाट साँढे चार किमिमा अनन्तलिंगेश्वर।

धार्मिक पर्यटन
शालिग्राम न्यौपाने

अध्यक्ष, संरक्षण तथा विकास समिति
हामी अब अनन्तलिंगेश्वरलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्छौं। मन्दिरको फेदमा पिकनिक स्पटहरू, खानेपानी, पार्किङ लगायत व्यवस्था गर्नेछौं। केन्द्रीय सरकार, प्रदेश सरकार र नगरपालिकासँग हातेमालो गरेर विकासमा अघि बढ्छौं।  

प्रकाशित: २८ भाद्र २०७६ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App