८ वैशाख २०८१ शनिबार
अर्थ

महँगो भयो डलर, १ डलरको १०९ रुपैयाँ ३६ पैसा

काठमाडौं- परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ  नौ महिनापछि उच्च दरले बढेको छ। शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ।

गत वर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च १ सय ९ रुपैयाँ ७७ पैसा पुगेको थियो। पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो लागेको छ । शनिबारको भाउ यसअघिको कीर्तिमानभन्दा ४१ पैसाले कम हो।

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा कमजोर बन्दा नेपालमा डलरको भाउ बढेको हो । अमेरिकी अर्थतन्त्र थप बलियो हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो।

डलरको भाउ बढ्दा तेस्रो मुलुक (भारतबाहेक) बाट आयात हुने सामानको मूल्य बढ्ने नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले शनिबार नागरिकलाई बताए। ‘डलरको भाउ वृद्धिसँगै तेस्रो मुलुकबाट आउने सामानको मूल्य पनि बढ्ने छ,’ उनले भने, ‘डरलको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा बढी हुन्छ।’

डलरको भाउ बढ्दा दैनिक उपभोग्य वस्तुदेखि ठुल्ठूला मेसिन औजारसमेत आयात गर्नुपर्ने नेपालका सर्वसाधारणको टाउकोमा महँगीको भारी थपिने छ। महँगीले नेपालजस्तो विपन्न मुलुकका थप नागरिकलाई गरिबीको रेखामुनि धकेल्न सक्छ।

डलर बढ्दा विदेशमा कमाएको रकम नेपाल पठाउनेलाई मात्र फाइदा हुने ढुंगानाले बताए। ‘रेमिटेन्स पठाउनेलाई मात्र फाइदा हुन्छ,’ उनले भने, ‘त्यो भन्दा बहेकलाई फाइदा हुँदैन्।’

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जितेमा डलर अहिलेसम्मकै कमजोर हुने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका थिए । ट्रम्पले अग्रता लिन थालेको खबर सार्वजनिक भएपछि विश्व सेयर बजारमा गिरावट आएको पनि थियो । ‘ट्रम्पले जिते एक डलरको भाउ ९० रुपैयाँमा आउने अनुमान गरेका थिए,’ ढुंगानाले भने, ‘तर त्यसको विपरीत उकालो लागेको छ।’

ट्रम्पले जितेसँगै अमेरिकी अर्थतन्त्रले सकारात्मक संकेत देखापरेको छ।  ‘जापानी येन, पाउन्ड स्टर्लिङको समेत अवमूल्यन भएको छ,’ उनले भने, ‘अमेरिकका केही राष्ट्रवादीले ट्रम्पले विदेशबाट लगानी फिर्ता ल्याउने उद्घोष गरेकाले पनि अमेरिकी डलर बलियो बनेको हो।’

भारतीयहरु भारु मोह प्रति आकर्षित नदेखिएका कारण पनि डलर थप मजबुत बन्न पुगेको  ढुंगानाको भनाइ छ । ‘डलरको भाउ अरु धेरै बढ्ने सम्भावना भने देखिँदैन,’ उनले भने।

केन्द्रीय बैंकले निर्धारण गरेको भन्दा केही फरक हुने भएकाले उनीहरुले केही महँगोमा डलर बिक्री गरे। राष्ट्र बैंकले निर्धारण गरेको विनियम दरकै हाराहारीमा वाणिज्य बैंकले डलर खरिद–बिक्री मूल्य निर्धारण गर्दै आएको पनि ढुंगानाले जानकारी दिए।

अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएकाले डलरको भाउ अझै बढ्न सक्ने विज्ञहरु बताउँछन् । ‘अमेरिकी अर्थतन्त्र अझै मजबुत हुने अवस्था देखिएको छ,’ एकजना विज्ञले भने, ‘त्यसैले डलरको भाउ अझै बढ्ने सम्भावना देखिन्छ।’

डलरको भाउ बढ्दा विदेशबाट आयात हुने सामान महँगिन्छ । स्वदेशी मुद्रा कमजोर हुँदा सर्वसाधारणको भान्छामा चाहिने नुनतेलदेखि ठुल्ठूला जलविद्युत आयोजनाका टर्बाइनसम्मको लागि बढी मूल्य तिर्नुपर्छ । नेपाल सरकारले तिर्ने विदेशी ऋणको साँवा–ब्याज भुक्तानीका लागि पनि बढी रकम छुट्ट्याउनुपर्ने हुन्छ । सरकारले विदेशी ऋणको साँवा–ब्याजको भुक्तानी परिवर्तनीय मुद्रा अमेरिकी डलरमै गर्छ।   

निकासीकर्ता, पर्यटन उद्योग र बिप्रेषण बुझ्ने परिवारमा भने डलरको भाउ महँगिदा आम्दानी बढ्छ। विदेशी पर्यटक लक्षित होटल, रिसोर्ट, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी जस्ता पर्यटन उद्योगले विदेशी पर्यटकबाट सेवा शुल्क डलरमा भुक्तानी लिने हुँदा उनीहरुको आम्दानी बढ्छ । निकासीकर्तालाई पनि निकासी गरेको सामानको भुक्तानी डलरमै प्राप्त हुने हुँदा उही परिमाणको वस्तुबाट बढी रकम हात पर्छ । विदेशमा बसेर कमाउने नेपालीको आम्दानी पनि बढ्छ।

अमेरिकी रोजगारी र अर्थतन्त्र सुधारको दिशामा गएकाले डलर थप महँगो भएको विज्ञहरुको भनाइ छ । अमेरिकामा बेरोजगारी घटेकोले डलरलाई बलियो हुन सघाउ पुगेको उनीहरुको भनाइ छ ।

साढे पाँच वर्षअघि एक डलर किन्न लगभग ७१ रुपैयाँ तिर्नुपथ्र्यो । अहिले करिब एक सय १० रुपैयाँ तिर्नुपर्छ । अर्थतन्त्र कमजोर हुँदा मुद्रा पनि कमजोर बन्छ । तर यतिबेला नेपाली अर्थतन्त्र कमजोर भए पनि रुपैयाँ सस्तिनुमा यसको हात छैन । यसमा नेपाल सरकार र केन्दीय बैंकले कुनै उपचार खोज्न पनि सक्दैन ।

नेपाली मुद्रा र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर कायम गरिएकाले भारु सस्तिए नेपाली रुपैयाँ सस्तिन्छ, भारु महँगिए महँगिन्छ । अहिले भएको त्यही हो । अर्थात भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको सिधा असर नेपाली रुपैयाँको विनिमय दरमा परेको हो ।

विश्व बजारमा अमेरिकी डलरको माग उच्च दरले बढेका बेला एसियाली मुद्राहरु कमजोर हुन थालेकाले भारुको तुलनामा डलर महँगिएको हो ।

जापानमा देखिएको आर्थिक समस्याले त्यहाँको मुद्रालाई कमजोर बनाएपछि डलरलार्ई थप फाइदा पुगेको विज्ञहरुको भनाइ छ । अहिले जापानी येन डलरको तुलनमा कमजोर भएको छ । युरोसमेत डलरको तुलनामा कमजोर हुँदा भारुमाथि थप दबाब सिर्जना भएको विश्लेषक बताउँछन् ।

विश्व बजारमा सुन र पेट्रोलियम पदार्थको भाउ निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र सुनमा आएको अस्थिरताले लगनीकर्ता अन्य क्षेत्रतर्फ मोडिँदा डलरको मूल्य बढेको जानकार बताउँछन् । एकजना विज्ञले भने, ‘सुन र तेलमा घटबढ भएका कारण डलर बढेको हो ।’

अमेरिकी सेयर बजारप्रति संसारभरका लगानीकर्ताको आकर्षण बढेको बढ्यै छ । यसले डलरलाई थप बलियो बनाउन सहयोग गरेको छ ।

डलर महँगिदा बढ्ने बवप्रेषण आप्रवाहले सरकारी खातालाई गम्भीर दुर्घटनामा पर्नबाट अस्थायी रुपमा रोक्न भने केही मद्दत गर्छ । तर जनस्तरमा असमानता बढाउनेछ । विज्ञहरु डलरको तीव्र अधिमूल्यनले बजारमा महँगी बढाउने र यसले आर्थिक हिसाबले सिँढीको पुछारमा रहेका नागरिकलाई गरिबीको रेखामुनि धकेल्ने बताउँछन् ।

अमेरिकी ट्रेजरी बिलमा लगानी गरेका कारण डलर बढेको हुन सक्ने विज्ञको भनाइ छ । उनीहरु भन्छन्, ‘सुरक्षित लगानी खोज्न थालेकोले पनि डलरको भाउ बढेको हो ।’

प्रकाशित: ४ मंसिर २०७३ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App