८ वैशाख २०८१ शनिबार
अन्य

४० वर्षपछि ‘सीतापुरमा फेरि अर्को रहस्यात्मक हत्या’

शव ढाकेको सेतो कपडामा शवकै चित्र छ। शव उठाएको नाममा चित्रलाई मात्रै उठाइन्छ, मञ्चका कलाकारहरूचित्रलाई नै शव देख्छन्। जब चित्रले छोपिएको शव उठेर सूत्रधारको रूपमा बोल्न थाल्छ, तब अन्य कलाकारको गति रोकिन्छ। सूत्रधारले कथानकलाई मेलो दिन्छ र छेउ लाग्छ, गति रोकिएका कलाकारहरू गतिशील हुन थाल्छन्।

सूत्रधार (राजन खतिवडा) डम्फु बजाउँदै बोल्छ, डम्फु बजाउँदै गाउँछ, उसको पछाडि पाश्र्व–गायन र संगीतको झलक दिने गरी एक युवक गितार बजाउँदै अभिनय गर्छ।

यति सुन्दर कला र विम्बले नाटकको उठान हुन्छ। रंगमञ्चीय कलाको व्याकरण बुझ्ने दर्शक हैरान हुन्छ, नबुझ्नेसोच्न बाध्य हुन्छ।

प्रसंग काठमाडौं, अनामनगरस्थित मण्डला थियटरमा मञ्चन भइरहेको नाटक ‘महाभोज’को हो। भारतीय साहित्यकार मन्नु भण्डारीकृत हिन्दी नाटक ‘महाभोज’लाई नेपालका लेखक विप्लव प्रतीकले अनुवाद र रंगकर्मी अनुप बरालले निर्देशन गरेका छन्।

नाटकमा मञ्च, कलाकार, अभिनय, कथावस्तु, संवादसँगै नृत्यकला, चित्रकला, संगीतकला लगायत कला जोडिएका हुन्छन्। निर्देशक बरालले नाटक ‘महाभोज’लाई कलाकारको अभिनय, मञ्च साजसज्जा, समग्र कला र विम्बले भरिपूर्ण बनाएका छन्।

पृष्ठभूमि
मन्नुले मूल नाटकमा मिडियालाई व्यंग्य गर्दै लेखेकी छन्–
नरोत्तम : हेडलाइन हुनेछ– सरोहामा आज बिहानै पुलमाथि एक व्यक्तिको लास भेटियो।
भनावी : धत्तेरीका ! यति सपाट हेडलाइन ! (एक क्षण सोचेपछि नाटकीय मुद्रामा) सरोहामा फेरिअर्को रहस्यात्मक हत्या ! लास पुलमुनि भेटियो, गाउँ तनावग्रस्त। (सहज हुँदै) हेडलाइन हमेसा छुरा जस्तो हुनुपर्छ, जसले पढ्यो, उसले किन्यो।

निर्देशकले लासमाथिको महाभोज र राजनीतिजस्तो यति विघ्न खराब दृश्यहरूमा पनि कला र विम्बको अद्भुत प्रयोग गरेर नाटकलाई दर्शनीय बनाएका छन्।

आजभन्दा ४० वर्षअघि (सन् १९७९ मा) भारतउत्तरप्रदेशकोएक गाउँ सरोहालाई स्थान मानेर मन्नुले उपन्यास ‘महाभोज’ लेखेकी थिइन्, जसमा सरोहा गाउँको दलित बस्तीका एक चेतनशील युवा बिसेसर उर्फ बिसुको हत्यापछि कथावस्तुअघि बढ्छ। यही उपन्यासलाई पछि मन्नुले नै नाट्य रूपान्तरण गरेकी हुन्।महाभोज भारतमा धेरैपटक मञ्चन भएको र रुचाइएको नाटक हो।

नाटक अनुसार, दलित बस्तीमा आगजनीबाट नौजनाको हत्या भएको हुन्छ र त्यस हत्याको प्रमाण बिसुले जुटाउँछ। बिसु प्रमाणमार्फत हत्यारालाई कारबाही गराउने योजनामा थियो, त्यही बेला उसैको हत्या भयो। उसको हत्या राष्ट्रिय राजनीति, प्रहरी प्रशासन र मिडियासँग जोडिन पुग्छ। मन्नुले यस्तो खालको कथावस्तु किन चयन गरिन् त ? किनभने,विशेष खालको देश, काल र परिस्थितिले उनलाई झकझकाएको थियो।

भारतको इतिहासमा पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीले २४ जनवरी, १९६६ देखि २४ मार्च १९७७ सम्म शासन गरेकी थिइन्। यो उपन्यास उनको शासनपछि प्रकाशित भयो। पछि उनी १४ जनवरी १९८० देखि ३१ अक्टुबर १९८४ सम्म प्रधानमन्त्री पदमा रहिन्। महाभोज नाटक यहीबीचमा पहिलोपटक मञ्चन भएको थियो।

यो नाटकले तत्कालीन भारतको समाज, राजनीति, प्रहरी प्रशासन र मिडियाको नकाब उतार्ने कोसिस गरेको छ।
विशेषतः सन् १९७५–७७ को बीचमा भएको २१ महिने आपतकाल (संकटकाल)र तत्कालीन भारतीय राष्ट्रिय राजनीतिले तल्लो तहका नागरिकबीच सिर्जना गरेको राजनीतिक परिस्थितिलाई नाटकले बोल्छ। स्वतन्त्रतापछि भारतीय राजनीतिले गान्धीवादको ‘मुकुण्डो’ त लगाउँछ, तर विविध कारण भ्रष्टाचार, अन्याय, हत्याहिंसा सतहमा देखिन्छन्। भारतीय लेखक प्रो. चमनलाल आफ्नो पुस्तक ‘दलित साहित्य एक मूल्यांकन’ मा लेख्छन्, ‘मन्नुको उपन्यास महाभोज प्रकाशित हुँदा आपतस्थिति पछिको चुनावमा जनता पार्टी अस्तित्वमा आएको थियो। पूरै भारतमा पहिलोपटक गैरकांग्रेस पार्टीहरूको वर्चस्व थियो। बिहारमा पनि जनता पार्टीको सरकार थियो, तर ‘दोस्रो आजादी’ भनिएको शासन–व्यवस्थामा धेरै मात्रामा दलितहरूको नरसंहार भएको थियो, विशेषतः बिहारमा।’

चमनलालका अनुसार, तत्कालीन भारतमा कांग्रेस र जनता पार्टी दुवै ठूला जमिनदार र पुँजीपतिहरूको हकहितको संरक्षक थिए। यी पार्टीले दलित र किसानलाई भोट बैंकको रूपमा प्रयोग गर्दथे। राजनीतिक दलहरूको दोहोर चरित्रले मन्नु जस्ती मानवीय संवेदना भएकी लेखिकालाई सिर्जनात्मक रुपमा विचलित बनायो र उनले यति गहिरो मानवीय संवेदनाबाट महाभोज जस्तो उपन्यासको रचना गरिन्।

‘दोस्रो आजादी’ भनिएको तत्कालीन भारतीय शासन–व्यवस्थामा धेरै मात्रामा दलितहरूको नरसंहार भएको थियो, विशेषतः बिहारमा। यो नाटक लासमाथिको राजनीति हो।

मन्नुलेनाटकको भूमिकामैलेखेकी छन्, ‘महाभोज आजको राजनीतिक माहोल उजागर गर्ने स्थितिप्रधान उपन्यास हो।’

बहस
१) लासमाथिको साहित्य
मूल नाट्य रूपान्तरण अनुसार, सरोहा गाउँमा विधानसभाको एक सिटका लागि चुनाव हुँदै थियो, त्यही मुखमा बिसुको हत्या हुन्छ र लासमाथि राजनीति सुरु हुन्छ।

महाभोज मात्रै त्यस्तो नाटक होइन, जसमा लासमाथि राजनीति घुसेको छ। प्राचीन युनानी नाटककार सोफोक्लिज (४९७–४०६ ईपू)को नाटक एन्टिगोनी पनि लासमाथि हुने राजनीतिमा आधारित छ। राजा इडिपसका छोराहरू एटियोक्लिज र पोलिनिससको मृत्युपछि कसको लासलाई राजकीय सम्मान दिने भन्ने विवादबाटएन्टिगोनीको कथा अघि बढ्छ। त्यस्तै, सेक्सपियरको चर्चित नाटक ‘हेमलेट’को कथा पनि नाटकका प्रधानपात्र राजकुमार हेमलेटका पिताको हत्यापछि सुरु हुन्छ। मन्नुको कथावस्तुको फरकपन यही हो, जसमा ठूला शासकको होइन, गाउँको साधारण युवकको हत्यापछि कथाले ठूलो राजनीतिक रूप लिएको छ।साहित्यमा यो तल्लो वर्गको आवाज र उत्पीडनको सम्बोधन हो।

२) पत्रपत्रिकाको ‘हेडलाइन’
उपरोक्त संवादमा नरोत्तम मशाल पत्रिकाका रिपोर्टर हुन् भने भवानी सह–सम्पादक। अनुदित नाटकमा पुरुष पात्र नरोत्तमको ठाउँमा महिला पात्र ‘गौरी’ (प्रमिला खनाल) छन्। गौरीले घटनाबारे स्थलगत भ्रमण गरेर समाचार लेख्दै छन्, स्रोतहरू खोज्दै छन्, तर सह–सम्पादक भवानी (सोमनाथ खनाल) कोठाभित्र बसेर रिपोर्टरको समाचारलाई मनगढन्ते विश्लेषण गरी ‘बिकाउ’ बनाउन उद्यत छन्। उनी मानिसको मृत्युको समाचारलाई बजार अनुसार वस्तुकरण गर्ने कोसिस गर्छन्।

भर्खरै अंग्रेज सरकारबाट आजादी पाएको तत्कालीन भारतमा सामन्तवाद र पुँजीवाद एकैचोटि अस्तित्वमा थियो। मन्नुले नाटकमार्फत पत्रिकामा पुँजीवाद वा बजारतन्त्रको असर देखाएकी छन्। पत्रिकाको बिक्री बढाउन मृत्युको समाचारलाई सनसनीखेज बनाउने, पत्रिका चलाउन सत्तासँग सम्झौता गरी न्यायलाई बलि चढाउने प्रवृत्ति नाटकमा देखाइएको छ। ४० वर्षअघि भारतमा पत्रपत्रिकाले जस्तो ‘हेडलाइन’ राख्ने अभ्यास गर्थे, आज पनि भारतीय र नेपाली मिडिया कुनै न कुनै रुपमा त्यो अभ्यस्तताबाट मुक्त हुन सकेका छैनन्। आज नेपाली मिडिया जगत्ले कस्ता ‘हेडलाइन’ राखेर पाठकलाई आकर्षित गर्ने दुष्प्रयत्न गर्छन्, त्यो जगजाहेरै छ।

३) सामञ्जस्यता/असामञ्जस्यता
अनुदित नाटकमा नेपालको तराईको कुनै ‘सीतापुर’ भन्ने गाउँलाई स्थान मानिएको छ। निश्चय नै भारतीय नाटकलाई नेपालीकरण गर्दा स्थान र केही पात्र बदलिएका छन्। अनौठो त, ४० वर्षअघिको भारतीय परिस्थिति आजको नेपालको समसामयिक राजनीति, अपराधका घटना, प्रहरी र मिडियाको भूमिकासँग मिल्दोजुल्दो प्रतीत हुन्छ।

नेपालका पछिल्ला केही हत्याका घटना, त्यसमा प्रहरीको भूमिकामाथि जनअविश्वास, घटनामाथि राजनीतिकरणको आभास— यस्तो वर्तमान स्थितिसँग नाटक ‘महाभोज’ मेल खाएजस्तो लाग्छ।

पछिल्लो कालखण्डमा हामीकहाँ जे–जस्ता सकारात्मक परिवर्तन भए, ठीक त्यस्तै प्रकृतिको परिवर्तन पहिले भारतमा आएको थियो। हामीकहाँ जंगबहादुरले सुरु गरेर चन्द्रशमशेरले सन् १९२० मा सतीप्रथामाथि बन्देज लगाएका थिए। जबकि सन् १८२९ मै भारतमा सतीप्रथामाथि बन्देज लगाइएको थियो। जब ‘इस्ट इन्डिया कम्पनी’का नाममा अंग्रेज साम्राज्य भारतमा प्रवेश गर्छ र भारतीय संस्कृति वा विकृतिमाथि प्रहार गर्न थाल्छ, तब भारतमा सामाजिक–धार्मिक सुधार आन्दोलन सुरु हुन्छ। राजा राममोहन रायको ‘ब्रह्म समाज’, स्वामी दयानन्द सरस्वतीको ‘आर्य समाज’, आत्माराम पाण्डुरंगहरूको ‘प्रार्थना समाज’, स्वामी विवेकानन्दको ‘रामकृष्ण मिसन’ आदिका माध्यमबाट भारतमा सुधार आन्दोलन भएका थिए। यी आन्दोलनकै छेउछाउबाट त्यहाँदलित मुक्तिको आवाजसहित ज्योतिबा फुले, भीमराव अम्बेडकर उदाए।

एक किसिमले भारत यस्तो राष्ट्रिय परिस्थितिबाट गुज्रिसकेपछिमन्नुले महाभोज लेखेकी हुन्, उनको कथावस्तुमा दलित नेता बिसुको हत्या हुन्छ, उसले दलित मुक्तिका लागि थप संघर्ष गर्न पाउँदैन। अझ, उसैको लासमाथि सत्ताले महाभोज गर्छ।

यस नाटकमा अन्यायको विजय देखाएर पीडक पक्षलाई आफू पीडक भएको र पीडितलाई आफूहरू उत्पीडनमा परेको बोध गराउन खोजिएको छ। निश्चय नै महसुस वा बोध भएपछि मानिस बदलिने हो। यद्यपि, उत्पीडित वर्गको मुक्ति वा न्यायका लागि अन्ततः संघर्ष आवश्यक हुन्छ। तर, बहुसंख्यकको अगाडि अल्पसंख्यकको संघर्षको सुनुवाइ नहुन सक्छ।

भारतमा अझै पनि धार्मिक–सामाजिक सुधारका आन्दोलन सफल भएको र सामाजिक न्याय स्थापित भएको अवस्था होइन, दलितहरू उस्तै उत्पीडनमा छन्। हामीकहाँ त प्रभावकारी धार्मिक–सामाजिक सुधारका आन्दोलनबिनै कानुनी वा संवैधानिक रुपमा परिवर्तन आएको छ। यो परिस्थितिमा हामीकहाँ दलित मुक्तिका लागि सामाजिक–धार्मिक सुधारको सशक्त आन्दोलन आवश्यक छ। यो आवश्यकतालाई नाटकमा विपक्षी दलका नेताको ‘समाजवादी’ भाषणमार्फत समेटिएको त छ, तर उत्पीडित वर्गहरू जागेको देखाइँदैन। वास्तवमा आज हामीकहाँ उत्पीडित वर्ग जाग्न आवश्यक छ।

४) कलापक्ष
यो नाटक विभत्स र घिनलाग्दा राजनीतिक घटनाक्रमले भरिएको छ, तर निर्देशकले त्यसलाई कलाका माध्यमबाट रुचिकर ढंगले पस्केका छन्।

लासमाथि महाभोज कसरी चल्छ, स्थानीय स्तरमा प्रहरी प्रशासन अर्थात् सत्ताले उत्पीडित वर्गलाई कसरी दबाएर राखेको छ, नेताले कस्ता सपना बाँडिरहेका छन्, यथार्थमा दलित र किसानको अवस्था के छ भन्ने नाटकमा देखाइएको छ। प्रहरीले आफूले चाहेका बेला आन्दोलनकारी उतार्छ र आफ्नै इसारामा चुप लगाउँछ। सत्तापक्ष र विपक्षी दलका कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारामा लड्छन्।

निर्देशकले यति विघ्न खराब दृश्यमा पनि कला र विम्बको अद्भुत प्रयोग गरेर नाटकलाई दर्शनीय बनाएका छन्। नाटकमा जुनसुकै दलका कार्यकता होऊन्, उनीहरूले आफ्नै नेताको मुकुण्डो लगाएका छन्। यो यस्तो विम्ब हो कि सारा कार्यकर्ताको आफ्नो मौलिक अनुहार वा विचार छैन, नेताको अनुहार र विचार बोकेर हिँडिरहेछन्।

त्यसमाथि यसमा स्वाङ नाटकको प्रयोग गरिएको छ। भारतीय लेखक दशरथ ओझाको पुस्तक ‘हिन्दी नाटक : उद्भव और विकास’ का अनुसार स्वाङ नाट्य परम्परा डोम जातिमा प्रचलित थियो। भारत उत्तर प्रदेशमा डोम जातिलाई शूद्र अर्थात् दलित मानिन्छ।

पिँध वा तल्लो पदधारीमानिसले शक्तिशाली मानिसका अगाडि ‘स्वाङ’गरेको आज पनि समाजमा यत्रतत्रदेखिन्छ। यो नाटकको कथाभूमि भारत उत्तरप्रदेशकै भएकाले निर्देशकले स्वाङको प्रयोग गरी नाटकमा सौन्दर्य थपेका छन्। जस्तोः प्रहरीका अगाडि गाउँलेले अस्वाभिक त्रास देखाउँछन्, तर नाटकीय लयमा देखिन्छ।  
नाटकमा सूत्रधारले डम्फु बजाएको पनि भारत तमिलनाडुका एक जातिको ‘परई’ नामक ढोल वा दमाहाजस्तो बाजासँग मिल्छ। अंग्रेजकालमा त्यहाँ ‘परई’ बजाउनेले ‘परियार’ थर पाएको पाइन्छ। यस नाटकमा सूत्रधारले बजाएको डम्फुलाई आ–आफ्नो रटानको अर्थमा प्रयोग गरिएको छ। उनको पछाडि गितार बजाउने पात्र सिर्जना गरेर पाश्र्व–संगीतको झलक दिइएको छ। यद्यपि, भारत र नेपालमा दलित जातिहरू कला, संस्कृति र शिल्पका का धनी हुन्। त्यसैले नाटकमा दलितकै संस्कृति भल्काइएको भए सुनमा सुगन्ध हुने थियो।

मूल नाटकमा सक्सेना नामका प्रहरी अधिकृतले बिसुको हत्याबारे पुनः छानबिन गरी सत्यतथ्य पत्ता लगाउँछन्, तर उनी शक्तिको अगाडि निलम्बनमा पर्नुपर्छ। अनुदित नाटकमा भने यही दृश्य र पात्रमा इन्स्पेक्टर रीता चाम्लिङलाई खटाइएको छ, जो गर्भवती छन्।

यहाँ रीताको भूमिका निभाउने नेपाली रंगमञ्चकी स्थापित रंगकर्मी सिर्जना सुब्बा अहिले वास्तविक जीवनमै गर्भवती अवस्थामा छन्, उनकै लागि सुहाउँदो गरी यो पात्रको सिर्जना गरिएको छ। घटना रहस्यको गर्भमै रहेको अवस्थामा एक गर्भवती प्रहरी अधिकृतले सत्यतथ्य पत्ता लगाउने जिम्मा पाउँछिन्, यसले आफैँमा सौन्दर्य बोलेको छ। गर्भवती भएकाले उनीमाथि सन्देह व्यक्त गरिन्छ, त्यस्तो लाग्छ पनि। यद्यपि, नाटकमा उनले यति सुन्दर अभिनय गर्छिन्, दर्शकलाई मानवीय संवेदनाले बाँधिरहन्छ।

यसरी यो नाटक राम्रो र नराम्रो, न्याय र अन्यायको ऐना बनेको छ। जहाँ आजको हाम्रो समाज, शासनसत्ता र राजनीति प्रतिविम्बित भएझैँ लाग्छ।

यस नाटकमा साजसज्जाले पात्रको भेष वा उमेर परिवर्तनमा जोड दिइएको छैन। स्वाभाविक पात्रहरू मञ्चमा प्रस्तुत छन्। जसकारण तीनपुस्ते कलाकार एउटै मञ्चमा देख्न पाइन्छ, त्यसैले यो नाटक एपिक रूप र शैलीको बनेको छ। सबै कलाकार आ–आफ्नो भूमिकामा स्थापित छन्। प्रमुख भूमिका निभाउने रमेश बुढाथोकी, राजन खतिवडा, विजय बराल, प्रदीपकुमार चौधरी, मिलन कार्की, सुषमा निरौला, शेखर चापागाईं, दयाहाङ राई, बुद्धि तामाङ, राज न्यौपाने, रञ्जना ओली, देविन चौधरी, सन्दीप श्रेष्ठ, प्रमिला खनाल, सोमनाथ खनालदेखि सहायक भूमिका निभाउने सपना चौधरीसम्मले नाटकमा आफ्नो प्रभाव छाडेका छन्।

नाटकमा अनुवादक विप्लव प्रतीकसँगै सबिन घलान, सागर दाहाल, कविराज राई, रिजन परियार, उमेश तामाङ सिके विष्ट लगायतको अभिनय रहेको छ।

प्रकाशित: २८ भाद्र २०७६ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App