८ वैशाख २०८१ शनिबार
समाज

दीपावलीभन्दा दुई महिनाअघि नै पटाका तस्करी

सर्लाही - तस्करहरूले दीपावली एवं छठ पर्वलाई लक्षित गर्दै दुई महिनाअघि नै पटाकालगायत विस्फोटजन्य सामग्री भित्र्याउन सुरु गरेका छन्। नेपाल–भारत खुला सिमानाको अनुचित फाइदा उठाउँदै तस्कर समूहले नेपालतर्फ पटाका, सुतली, आलुलगायत बम, रकेट, फुलझरी, भुइँचम्पा, झिरझिरेलगायत सामग्री भित्र्याउन थालेको प्रहरीले बताएको छ।

सशस्त्र प्रहरीले शुक्रबार ५५ हजार मूल्यबराबरका पटाकालगायत विस्फोटजन्य सामग्री नष्ट पारेको छ। भारतबाट नेपाल भिœयाउँदै गरेको अवस्थामा गत बुधबार राति मलंगवा नगरपालिका–१० राजदेवी मन्दिरछेउबाट ती सामग्री बरामद गरिएको १० नम्बर गणकका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए। बोरामा रहेको विस्फोटजन्य पदार्थ ल्याउँदै गरेका तस्करहरू सुरक्षाकर्मीलाई देख्नेबित्तिकै सामान छाडेर भागेको बताइएको छ। सशस्त्रले शुक्रबार बिहान जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहबरमा खाडलभित्र सामग्री राख्दै माथिबाट पानीसमेत हालेर नष्ट पारेका हो।

दीपावली र छठपर्वमा आतिसबाजी गर्न ल्याइने पटाकालगायत विस्फोटजन्य सामान केही समयअगाडि नै भित्र्याउन सहज हुने अनुमानका साथ तस्कर समूहले भारतबाट नेपालतर्फ त्यस्ता सामान ल्याउन सुरु गरेको हुन सक्ने सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन्। ‘उतिखेरै ल्याउँदा सिमामा कडाइ हुन सक्ने र अगाडि त्यति वास्ता नहुने भएकाले त्यस्ता सामान ल्याउन सुरु गरिएको हुन सक्छ,’ श्रेष्ठले भने, ‘तर हामीले सीमाक्षेत्रमा अवैध आयात निर्यातमा निकै कडाइ गरिरहेका छौं, जसले गर्दा यस्ता सामग्री बरामद हुन थालेको हो।’

त्यस्तै नेपाल प्रहरीले समेत भदौ पहिलो साता १ लाख रुपैयाँबराबरको पटाकालगायत विस्फोटजन्य सामग्री बरामद गरिसकेको छ। बरामद सामग्री केही दिनपछि नष्ट गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिए। दीपावली र छठ पर्वलाई लक्षित गर्दै व्यवसायीहरूले अहिलेदेखि नै अवैध रूपमा पटाका भिœयाउन सुरु गरेको राठौरको भनाइ छ। भारतमा खुला र नेपालमा त्यस्ता सामग्री कारोबार प्रतिबन्धित रहे पनि खुला सिमानाका कारण तस्कर समूहले भारतबाट नेपालतर्फ त्यस्ता सामान भिœयाउने गरेको जानकारहरू बताउँछन्।

दीपावली तथा छठ पर्वमा तराई–मधेस क्षेत्रमा पटाका, बम, रकेटलगायत सामग्री पड्काएर आतिसबाजीसहित उल्लास मनाउने प्रचलन छ। पछिल्लो समय पहाडी क्षेत्रमा समेत यस्तो प्रचलन भित्रिँदो छ। भारतमा यस्ता सामग्री किनबेच एवं प्रयोगमा कुनै प्रतिबन्ध छैन। सोनवर्षा, लालबन्दी, मेजरगन्ज, बसभिट्टा, कनौलीलगायत सीमावर्ती भारतीय बजारबाट खरिद गरिएको त्यस्ता सामग्री लुकाईछिपाई राजधानी काठमाडौंसम्म पुग्ने गरेको एक जानकारले बताए। भारतीय बजारमा किनेर काठमाडौं पु-याउन सके त्यस्ता सामानमा पाँचगुणा बढी फाइदा हुने भएकाले तस्कर समूह हाल सक्रिय रहेको जानकारहरू बताउँछन्।

प्रकाशित: २८ भाद्र २०७६ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App