coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डेंगीले सातको मृत्यु

काठमाडौं - दुई महिनादेखि फैलिएको डेंगी संक्रमणका कारण देशभरमा सातजनाको मृत्यु भएको छ। पछिल्लो पटक मंगलबार साँझ विराटनगरका १८ वर्षीय अविनाश शर्माको मृत्यु भएसँगै डेंगीबाट मृत्यु हुनेको संख्या सात पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यसअघि काठमाडौंमा दुई, चितवनमा एक, सिन्धुपाल्चोकमा एक, डोटीमा एक र सुनसरीमा एकजनाको मृत्यु भइसकेको छ। शर्मासहित दुई महिनाको अवधिमा सातजनाको मृत्यु भएको हो। सबै मृतकहरूको मृत्युको विस्तृत कारण अहिलेसम्म संकलन हुन सकेको छैन। मृतक शर्मालाई सात दिनदेखि ज्वरो आएको र उनको रगत परीक्षण गर्दा डेंगी पोजिटिभ देखिएको थियो। उनको डेंगी ज्वरो देखिएको सात दिनमै मृत्यु भएको हो।

जनतालाई डेंगीका बारेमा थाहा पनि छ तर व्यवहारमा जति सचेतना हुनुपर्ने हो त्यो देखिन्न।

महाशाखाका अनुसार दुई महिनाको अवधिमा डेंगी परीक्षण भएकामध्ये पाँच हजार ९५ जनामा डेंगी पोजिटिभ प्रमाणित भइसकेको छ, जसमा सबैभन्दा बढी प्रदेश तीनमा डेंगी प्रमाणितको संख्या तीन हजार एक सय २६ पुगेको छ। त्यसपछि गण्डकी प्रदेशमा नौ सय ७२ र त्यसपछि प्रदेश एकमा आठ सय ३१ रहेको छ। स्वास्थ्य संरचनामा आएको परिवर्तन र कतिपय अस्पतालले पूर्ण तथ्यांक पठाउन नसकेकाले अहिलेसम्म यकिन तथ्यांक प्राप्त हुन नसकेको महाशाखाका पदाधिकारीको भनाइ छ।

पानी परिरहेको र अनुकूल तापक्रमका कारण थप दुई महिना डेंगी संक्रमण हुने स्थिति रहेको महाशाखाको अनुमान छ। स्वास्थ्य मन्त्रालयबाट नियन्त्रण सम्भव नहुने डेंगी नियन्त्रणका बारेमा समुदायमा कसरी नियन्त्रण गर्ने सन्देश पुगे पनि व्यवहारमा कमी भएकाले नियन्त्रणमा चुनौती थपिएको महाशाखाको कीटरोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाह बताउँछन्। ‘महाशाखा र स्वास्थ्य मन्त्रालयले सातै क्षेत्रीय तथा स्थानीय तहका स्वास्थ्य निकायलाई बोलाएर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ,’ उनले भने, ‘जनतालाई थाहा पनि छ तर व्यवहारमा जति सचेतना हुनुपर्ने हो त्यो देखिन्न।’

सरकारले भदौको दोस्रो साता गरेको छलफल कार्यक्रममा सरोकारवाला निकाय सबैलाई बोलाएर संयुक्त रूपमा लामखुट्टेको अन्डा र लार्भा खोजेर नष्ट गर्न आग्रह गरेो। प्रभावित सबै ठाउँमा प्रहरी–प्रशासन तथा सेना खटिरहेको अवस्था छैन। ‘कतिपय जिल्लामा प्रहरी प्रशासन खटेको देखिन्छ, सबैमा खटेको अवस्था देखिँदैन,’ इपिडिमियमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार विवेककुमार लालले भने।

एक साताअघि नै गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई डेंगी नियन्त्रणमा समन्वय गर्न परिपत्र पठाइसकेको छ। डा. लालका अनुसार डेंगी प्रकोपित अन्य देशहरूमा सेना, प्रहरी नै परिचालन भएका थिए। नेपालमा पनि यो समूह खटेको अवस्थामा छिटो नियन्त्रण हुन सक्ने सम्भावना रहेको डा. लालले बताए।

‘घरको लामखुट्टे घरवालाले नष्ट गरे पनि सडक, कारखानाजस्ता ठूला स्थलको लार्भा नष्ट गर्न सेना÷प्रहरीको भूमिका प्रभावकारी हुन्छ,’ उनले भने, ‘समयमै डेंगी नियन्त्रण गर्ने मुख्य उपाय भनेको लामखुट्टेको अन्डा र लार्भा खोजी–खोजी नष्ट गर्नु नै हो।’ यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सातायता सबै निकायसँग समन्वयका लागि अपिल गरे पनि पूर्ण रूपमा व्यवहारमा उत्रिन नसकेको उनको भनाइ छ।

लामखुट्टेको लार्भा नष्ट गर्न सेना/प्रहरी

देशभरि फैलिएको डेंगी नियन्त्रणका लागि नेपाल प्रहरी, सेना तथा स्थानीय निकाय टोल–टोलमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार राजधानीको टोखामा प्रहरी, स्थानीय क्लब, स्थानीय निकाय तथा स्वास्थ्यकर्मीसहितको टोली सफाइमा खटेको छ। कास्की जिल्लामा फैलिएको प्रकोपलाई नियन्त्रण गर्न गण्डकी प्रदेश सरकारले सेना–प्रहरी सबैलाई निर्देशन जारी गरी टोल–टोलमा खटाएको मन्त्रालयले जनाएको छ।

‘पोखरामा प्रदेश सरकारको निर्देशनमा डेंगी नियन्त्रणका लागि -याली नै भइसकेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने। गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयले सबै निकायमा अपिल गरिसकेको हुनाले अब दैनिक रूपमा टोल–टोलमा पुगेर लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्ने काम हुने उनले बताए।

प्रकाशित: २८ भाद्र २०७६ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App