coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कांग्रेसमाथि आक्रमण गरेको आरोपमा १० जनाविरुद्ध किटानी जाहेरी

नेपालगन्ज- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण कार्यक्रम बिथोल्दै नेता, कार्यकर्तामाथि आक्रमणमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १० जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ। दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेका बेला बिहीबार दिउँसो करिव १ बजेतिर बाँकेस्थित खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताहरु हलभित्र प्रवेश गरी जिल्ला सभापति किरण कोइरालासहित दर्जनौं नेता तथा कार्यकर्तामाथी आक्रमण गरेका थिए। आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको थियो, भने अन्य ब्यक्तिलाई सामान्य चोट लागेको थियो। 

जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् सभापति कोइरालाका पुत्र सुधान्सु कोइरालाले ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दर्ता गराएका हुन्। घटनामा संलग्न रहेको आरोपमा खजुरा गाउँपालिका वडा नम्बर १ राधापुर निवासी ३८ बर्षिय सुमन मल्ल, सोही ठाउँका ३८ वर्षकै निर्मल खत्री, ३२ बर्षिय लोके भन्ने लोकबहादुर शाही, ३२ बर्षिय रोशनसिंह ठकुरी, २८ बर्षिय दिपु भन्ने दिपबहादुर राना, खजुरा–२ सितापुर निवासी ३८ बर्षिय मुमबहादुर ओली, सोही ठाउँका ४१ बर्षिय पारस मल्ल, ३५ बर्षिय सुनिल भन्ने इन्द्रबहादुर खत्री, ४० बर्षिय ललित चन्द र ३७ बर्षिय हेमन्त थापा विरुद्ध किटानी जाहेरी दर्ता गराइएको नेपाली कांग्रेसले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेले पनि खजुराको सितापुरमा भएको घटनाका विषयमा शुक्रबार किटानी जाहेरी दर्ता भएको बताएको छ। जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक शिव सिंहले जाहेरी दर्ता भएपनि आरोपी ब्यक्तिको नाम भन्न नमिल्ने बताए। ‘पीडितको तर्फबाट जाहेरी दर्ता भएको छ, तर अहिले नै नाम सार्वजनिक गर्न मिल्दैन,’ उनले भने। जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनामा संलग्न मध्ये ३ जनालाई पक्राउ गरिएको जनाएको छ। घटनाकै दिन मध्यराती करिव साढे १२ बजेतिर ‘लोके’ भन्ने लोकबहादुर शाही, निर्मल खत्री, रोशनसिंह ठकुरीलाई पक्राउ गरिएको प्रहरी प्रमुख (एसपी) बीरबहादुर ओलीले बताए। घटनाका अन्य आरोपी भने पक्राउ नपरेको उनको भनाई छ।

प्रकाशित: २७ भाद्र २०७६ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App