coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टानले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने

काठमाडौँ- ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने भएको छ। राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा) ले आज यहाँ आयोजना गरेको टानको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा पर्वतीय पर्यटनको विस्तारका लागि नयाँ गन्तव्य खोजी गर्ने बताइएको हो।     

कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीले पर्वतीय पर्यटन क्षेत्रमा लागेका व्यवसायीको समस्या समाधानका लागि टान लाग्ने बताए। “नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउन टान पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग सहकार्य गरेर अगाडि बढ्छ”, उनले भने।

आफ्नो संस्था पर्यटन मन्त्रालयसँग दाहिने हात बनेर सहयोग गर्न तयार रहेको उनको भनाइ थियो। उनले निर्वाचनमा राखेका प्रतिबद्धता पूरा गर्न नयाँ कार्यसमिति दृढ भएर अगाडि बढ्ने बताए।     

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले टानलाई राजनीतिबाट मुक्त बनाएर अगाडि बढाउनुपर्ने बताए। “ यो संस्थालाई राजनीति गर्ने थलोभन्दा पनि व्यवसायीको हकहितका लागि लड्ने थलोको रुपमा विकास गरौँ”, उनले भने।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं पर्यटन व्यवसायी रामशरण थपलियाले पर्वतीय पर्यटनको विकासका लागि नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताए। टानका वरिष्ठ उपाध्यक्ष नवीन त्रिताल, महासचिव सरिता लामालगायतले पर्वतीय पर्यटनमा देखिएका समस्या समाधानका लागि नयाँ कार्यसमितिले काम गर्ने बताए।

राष्ट्रिय अनलाइन पत्रकार सङ्घका अध्यक्ष मुकुन्दकुमार ढुङ्गानाले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न नवनिर्वाचित कार्यसमितिसँग आग्रह गरे।रासस   
 

प्रकाशित: २७ भाद्र २०७६ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App