८ वैशाख २०८१ शनिबार
समाज

शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा

रामपुर- पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकामा शैक्षिकसत्र २०७६ मा भर्ना भएका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका एक हजार ५ सय ५ बालबालिका विद्यालयमा भर्ना भएका र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको प्रतिवेदनका आधारमा विद्यार्थी भर्ना गराउने गाउँपालिका जिल्लामा नै पहिलो भएको हो।     

गाउँपालिकाभित्र अहिले ३७ सामुदायिक विद्यालय पाँच निजी तथा एउटा धार्मिक विद्यालय रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीराम बस्यालले बताए। बालमैत्रीपूर्ण विद्यालय, त्यहाँको मूल्याङ्कन पद्धति, अनुगमन, सुपरीवेक्षण, स्थानीय पाठ्यक्रमको प्रयोग, विषयविज्ञ समिति, दैनिक क्रियाकलाप, गृहकार्य तथा बाल विकास कक्षाका माध्यमले पनि विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुगेको उनको भनाइ छ।     

आधारभूत र माध्यामिक तहमा २ सय १२ शिक्षकले अध्यापन गराउँदै आएका उक्त गाउँपालिकाका हरेक क्षेत्रमा विकास र समृद्धिको पहल तीव्र पारिँदै गएको अवसरमा यो पनि महत्वपूर्ण शैक्षिक उपलब्धि भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

उनले पटक–पटक विद्यालय व्यवस्थापन समिति, प्रध्यानाध्यापकको छुट्टाछुट्टै बैठक तथा अनुगमनबाट विद्यार्थी विद्यालय भर्नामा छुटे÷नछुटेको अनुगमन गरेपछि पुनः कार्यपालिका बैठकपछि गाउँपालिकाले पनि अनुगमन गरेर यथार्थ पहिल्याएको स्पष्ट पारे।     

गाउँपालिकाले बालमैत्री शासन भएको गाउँपालिकामा पाँच वर्षदेखि १२ वर्ष उमेरका विद्यार्थी सबै विद्यार्थी भर्ना भएका घोषणा, अपाङ्गता भएका व्यक्तिलाई पनि विद्यालय भर्ना गरेर शिक्षाको पहुँचमा ल्याउने र आगामी वर्ष पनि यही कार्यक्रम लागू गर्ने निर्णय समेत गरेको छ।रासस
 

प्रकाशित: २७ भाद्र २०७६ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App