८ वैशाख २०८१ शनिबार
समाज

शान्ति स्मारकसहित लघुपार्क बनाइँदै

रोल्पा - रोल्पाको ‘होलेरी’ तत्कालिन माओवादीले १० वर्षे शसस्त्र विद्रोहको सुरुवात गरेको ठाउँ हो। २०५२ साल फाल्गुन १ गते यहाँको इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालिन माओवादीले औपचारिक यद्द सुरु गरेको थियो। त्यो हमलाका ३ जना हस्तीहरु अहिले रोल्पाबाट निर्वाचित भएका छन। प्रतिनिधिसभामा जितेका वर्षमान पुन, प्रदेशसभा ‘क’ बाट निर्वाचित कुलप्रशाद केसी र ‘ख’ बाट निर्वाचित दिपेन्द्र पुन ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन। त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन उपराष्ट्रपति छन।

२०५२ पछि फेरि २०५८ असारमा भएको दोस्रो ठुलो होलेरी आक्रमणमा तहस नहस भएको प्रहरी चौकी नजिकै अहिले रुन्टीगढी गाउँपालिकाले शान्ती स्मारकसहित लघुपार्क बनाउँदैछ। यो स्मारकमा माओवादी लडाइको स्केच, दुवन्दकालिन सुचना, बस्नलाई बेन्च, बगैचा र छेउको मन्दीरलाई पनि मर्मत गरेर पर्यटकिय स्थल बनाइने छ। ‘द्वन्दको सम्झना र पर्यटकिय हिसाबले पनि यो स्मारक महत्वको हुनेछ।’ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने ‘यो बिगतको सम्झना पनि हो।’

गाउँपालिकाको पर्यटन फोकल पर्सन दिपक डागीकाअनुसार यो वर्ष १० लाखको लगानीमा सुरु गरिएको पार्क पुर्ण रुपमा सम्पन्न हुँदा सम्म करिब ५० लाख जति खर्चिने योजना रहेको छ। गाउँपालिकाले आफ्नै खर्चमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको स्मारक कम्तिमा अर्को आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य छ। द्वन्द पर्यटनलाई प्रबद्धन गर्ने उद्येश्यले सुरु गरिएको स्मारकसंग अन्य पर्यटनलाई पनि जोडिने गाउँपालिकाले बताएको छ।

फेरिँदै होलेरी
कुनै समय सुनसान र निरश होलेरी हिजो आज फेरीएको छ। द्वन्दताका उकुस मुकुसमा रहेको यो ठाउँ अहिले शान्त र परिवर्तनको तयारीमा छ। दाङ, थवाङ हुदै रुकुम जोड्ने शहिद मार्ग होलेरी सम्म कालो पत्रे भईसकेको छ भने थप कालो पत्रेको काम पनि भईरहेको छ। दाङबाट ३० किलोमिटर र रोल्पा सदरमुकाम लिवाङबाट ६३ किलोमिटरको दुरीमा रहेको पश्चिम रोल्पाको होलेरी यतिबेला थप परिवर्तनको आशामा छ।

‘पहिला भन्दा ब्यापार दोब्बर बढेको छ। गाउँपालिका भएर पनि होला मान्छेहरु आउने जाने क्रम थपिएको छ। अहिले त गाडीले दिनभरि बाटो खालि हुदैन। कहिले कसो त केटाकेटीलाई बाटो काट्नै हैरान हुन्छ।’ लामो समय देखि ब्यापार गरेर बसेकी चन्दा किराना पसलकी चन्दा थापाले भनिन्।

यहाँ अन्य ब्यापार त फस्टाएकै छ झनै होटल ब्यबसाय अत्यन्त राम्रो छ। ‘बाटो पिच भयो। गाउँ गाउँ बाटो खुले। मान्छे आउने जाने गरिरहन्छन। गाउँपालिका आए देखि त झनै चहलपहल बढेको छ। वद्धारी जानेको पनि भिड लाग्छ। हिजो आज त उपभोक्ता समितिले पनि चहलपहल थपेको छ।’ स्थानीय शिक्षक कुलराज आचार्यले बताए।

स्थानीय तहको निर्बाचनपछि गाउँमै सरकारी सेवा आएपछि होलेरीले मुहार फेर्न थालेको हो। त्यसो त दाङदेखि यहाँसम्म सडक कालोपत्रे भएपछि धार्मिक पर्यटकिय स्थल स्वर्गद्धारी जानेको पनि घुइचो हुन्छ। यहि बाटो भएर सदरमुकाम लिवाङ, घर्तीगाउँ, थवाङ, रुकुम जानेहरु पनि होलेरी हुदै निस्कन थालेका छन।

हिजो आज यो ठाउँ हुदै दैनिक ४/५ दर्जन ठूला साना सवारी साधन ओहोर दोहोर गर्छन। उहिले एउटामात्र मावि रहेको यो क्षेत्रमा हाल ४ वटा मावि खुलेको छन् भने एउटा १० जोड २ पनि संचालनमा छ। बजार अलि व्यवस्थित र ठूलो भएको छ। बत्ति छ, इमेल इन्टरनेट छ, सुविधा सम्पन्न होटेल खुलेका छन्। दुईवटा एफएम रेडियो, एउटा साप्ताहिक पत्रिका होलेरीमै छ। दर्जन बढि अन्य जिल्लाका रेडियो पनि सुनिन्छ। ४ वटा लघुवित्तिय बैंक छन् भने एउटा सहकारी पनि छ।

सखी, झेनाम, डुब्रिङ, दुविडाँडा गरी चार गाविसको संगम रहेको होलेरी बजार समेटिएको रुन्टीगढी गाउँपालिकामा मसिना, जौलिपोखरी र जेदबाङ्गको केहि भाग पनि थपिएको छ। स्थानिय तह निर्बाचन, प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचन सकिए संगै होलेरीको अपेक्षा पनि थपिएको हो।

‘आमरुपमा जनताको अपेक्षा आधारभुत सेवाहरु गाउँ सम्म आओस भन्ने छ। शिक्षा, स्वास्थ्य, बाटो, बत्ति, रोजगार यिनै अपेक्षा बढि छ। हामि सुसासन र पारदर्सिताका बिषयमा पनि गम्भिर छौ।’ रुन्टीगढी गाउँपालिका प्रमुख वालाराम बुढाले बताए। ‘आधारभुत बिकास शिक्षा, स्वास्थ्य संगै कृर्षिलाई पनि प्राथमिकतामा राखेर काम गर्दै छौ। कर्मचारीतन्त्रमा अभ्यस्त जनताहरुमा पनि भर्खरै जनप्रतिनिधि प्रतिको मोह बढ्न थालेको छ।’

प्रकाशित: २७ भाद्र २०७६ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App