७ वैशाख २०८१ शुक्रबार
खेल

ओलम्पिक कमिटीको निर्वाचन शनिबार

काठमाडौं – सर्वोच्च अदालतले निर्वाचनका लागि बाटो फुकुवा गरेसँगै नेपाल ओलम्पिक किमिटीको नयाँ नेतृत्व चयन शनिबार हुने भएको छ।

अदालतमा मुद्दा परेपछि पहिलो पटकको निर्वाचन मिति सरेको ओलम्पिकको साधारणसभा तथा निर्वाचन शनिबार हुँदै छ। यसअघि गत भदौ २० गते पहिलो पटक निर्वाचनका लागि तय भएको थियो। तर, सर्वाेच्चले मान्यता दिएको रुक्मशमशेर राणा नेतृत्वको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले अन्तर्राष्ट्रिय मान्यता पाएको ओलम्पिक कमिटी (जीवनराम श्रेष्ठ नेतृत्व) को निर्वाचन रोक्न रिट दायर गरेका थिए।

यद्यपि, अदालतले श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको निर्वाचन रोक्न नपर्ने फैसला गरेसँगै तत्कालका लागि विवाद मत्थर भयो। साथै निर्वाचनको बाटोसमेत खुल्यो। सर्वाेच्च अदालतले गत २२ भदौमा एनओसीको निर्वाचनका लागि वैधानिक बाटो खोलिदिएको थियो।

त्यससँगै श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको निर्वाचन समितिले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) सँगको परामर्शपछि निर्वाचनका लागि शनिबार नयाँ मिति तय भएको हो। शनिबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा हुने निर्वाचन तथा साधारणसभामा आइओसी र ओसिएका पर्वेक्षकको समेतको उपस्थिति हुनेछ।

निर्वाचन समितिमा संयोजक वरिष्ठ अधिवक्ता लोकभक्त राणा तथा सदस्यहरूमा सुरेन्द्रबहादुर थापा र राधिका खतिवडा छन्। शनिबारको निर्वाचनबाट १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव ३ सचिव र ७ सदस्यसहित १९ सदस्यीय कार्यसमितिको चयन गर्नेछ। यसपटक एनओसीको अध्यक्षमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल  श्रेष्ठ भिड्दै छन्।

उपमहासचिवमा पीताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन टन्डनको मात्र उम्मेदवारी परेकाले यी दुई पदमा निर्विरोध हुने पक्कापक्की भइसकेको छ। कुल २७ मतदाता रहेको कमिटीमा १९ सदस्यीय कार्यसमितिको विभिन्न पदको दाबेदारीसहित शुक्रबार २६ जनाले प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: २७ भाद्र २०७६ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App