४ वैशाख २०८१ मंगलबार
खेल

नेपालको लक्ष्य फेरि अधुरै

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गिस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा बिहीबार उज्बेकिस्तानसँग ३–२ ले पराजित हुँदा ठूला प्रतियोगितामा उपाधि चुम्ने लक्ष्य आठौं पटक पनि अधुरै बनेको छ।

लिगमा पनि उज्बेकिस्तानसँग पराजित भएको नेपालले फाइनलमा बदला लिने लक्ष्यसहित मैदान उत्रिए पनि सफल हुन सकेन। लिगमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको थियो। नेपालकी सावित्रा भण्डारी एक्लैले दुई गोल गरे पनि जितका लागि त्यो पर्याप्त भएन। यससँगै सावित्राले नेपालका लागि सर्वाधिक ३५ गोल पूरा गरेकी छिन्। ३५ गोल पूरा गरेकी अनु लामाको कीर्तिमानसँग बराबरी भएको छ। 

नेपालकी सावित्रा भण्डारी एक्लैले दुई गोल गरे पनि जितका लागि त्यो पर्याप्त भएन।

उपविजेतामा खुम्चिएको नेपाल यसअघि  सन् २०१०, २०१६ मा सागमा उपविजेता बन्दा २०१० को साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो। यस्तै साफ महिला च्याम्पियनसिपअन्तर्गत सन् २०१२, २०१४, २०१९ र भारतमा भएको हिरो वुमन्स गोल्डकपमा उपविजेतामा खुुम्चिनुपरेको थियो।

प्रतियोगितमा अपराजित रहेको टोली उज्बेकिस्तानले खेलको सुरुआतबाट नै आक्रामक खेलेको थियो। आठौं मिनेटमा नेपाली टोलीलाई दबाब दिएको उज्बेकिस्तानको प्रयासलाई नेपाली रक्षापंक्तिले उत्कृष्ट बचाउ गरेको थियो। निरन्तर प्रयासमा रहेको उज्बेकिस्तानले ३९औं मिनेटमा गोल गर्न सफल भयो। उज्बेकिस्तानले नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाएको  थियो।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्बेकिस्तानले दोस्रो हाफमा आक्रामक रणनीतिलाई निरन्तरता दियो। ५५औं मिनेटमा उज्बेकिस्तानले दोस्रो गोल गर्न सफल भयो। पुनः रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर पारेको थियो। दुई गोलको अग्रता बनाएको उज्वेकिस्तानले ६४औं मिनेटमा तेस्रो गोल ग¥यो। यस पटक पनि नेपालको डिफेन्स र गोलकिपरको कमजोरीको फाइदा उठाउँदै उज्वेकिस्तानले स्थिति बलियो बनाएको थियो।

पछि परे पनि गोलका लागि आक्रामक खेलेको नेपालका लागि सावित्राले गोल गर्दै अग्रता छोट्याइन्। ६७औं मिनेटमा अनिता बस्नेतले दिएको लामो पासलाई सदुपयोग गर्दै सावित्राले बललाई गोलको दिशा दिइन्। ७३औं मिनेटमा प्रहार गरेको नेपालको प्रयास बारमा लागेर बाहिरिएको थियो। ७६औं मिनेटमा पुनः नेपालको अर्को प्रयास खेर गयो। बारमा नै लागेर फर्किंदा नेपाल स्तब्ध हुन पुगेको थियो। खेल सकिन अन्तिम मिनेट बाँकी रहँदा नेपालले पेनाल्टीको अवसर पायो। सावित्राले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै अन्तर ३–२ मा पु¥याइन्। बाँकी समयमा नेपालले खेलमा फर्किने प्रयास गरे पनि बलियो रक्षापंक्तिलाई तोड्न असफल रहँदा उपविजेतामा खुम्चिन बाध्य बन्यो।

प्रतियोगितामा ७ गोल गरेकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनिन्। चार देशको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा सञ्चालन भएको थियो। प्रतियोगितामा आयोजक किर्गिस्तान, ताजाकिस्तान, उज्बेकिस्तान र नेपालले सहभागिता जनाएका थिए। नेपालले लिग खेलमा उज्बेकिस्तानबाहेक अन्य सबै टोलीलाई पराजित गरेको थियो। ताजकिस्तानलाई १–० ले हराएको नेपालले आयोजक किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रकाशित: २७ भाद्र २०७६ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App