coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्वास्थ्य बिमामा २१ लाख ८१ हजार

काठमाडाैं – बिरामी पर्दा उपचार गराउन सजिलो हुने भएपछि दुर्गम र पिछडिएका क्षेत्रका बासिन्दा स्थास्थ्य बिमा कार्यक्रममा सहभागी हुन उत्सुक देखिएका छन्।

स्थास्थ्य बिमा समितिको अभिलेख अनुसार मुलुकभर हालसम्म २१ लाख ८१ हजार एक सय ९३ जनाले स्थास्थ्य बिमा गराएका छन्।

समितिले घर–दैलोमुखी कार्यक्रम सञ्चालन गरेर ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य बिमाको फाइदाबारे जानकारी गराइरहेका छ। बिमा कार्यक्रममा सहभागीले बिरामी भई उपचार गराउँदा त्यसको खर्च धमाधम समितिले भुक्तानी गर्न थालेपछि यसमा सर्वसाधारण आकर्षित भएको समितिका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए।

आर्थिक वर्ष ०७२/७३ बाट सुरु भएको स्वास्थ बिमा कार्यक्रम हाल मुलुकका ४८ जिल्लाका सात लाख ८४ हजार नौ सय ७२ परिवारमा पुगेको छ। निकट भविष्यमै सबै जिल्लामा बिमा कार्यक्रम विस्तार गर्ने योजनामा समिति छ।
वार्षिक तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिर्दा एक लाख रुपैयाँसम्मको उपचार खर्च समितिले बेहोर्ने भएकाले स्वास्थ्य बिमा सर्वसाधारणको रोजाइमा परेको हो।

कार्यकारी निर्देशक पोखरेलका अनुसार परिवारमा पाँचजना भन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि सात सय रुपैयाँका दरले शुल्क तिर्नुपर्छ। उपचार खर्च जनही २० हजार रुपैयाँ थप हुने व्यवस्था छ। पाँचजनाभन्दा बढी सदस्य भएको परिवारलाई अधिकतम दुई लाख तथा पाँचजनाको परिवारलाई बढीमा एक लाख रुपैयाँ उपचार खर्च दाबी भुक्तानी हुने समितिले जनाएको छ।

दाबी भुक्तानी प्रक्रिया सहज बनाउन समितिसँग सम्झौता गरेका सरकारी तथा निजी क्षेत्रका अस्पतालमा उपचार गर्दा बढीमा एक लाख रुपैयाँसम्म तिर्नुपर्दैन। सम्बन्धित अस्पतालले समितिसँग कागजी प्रक्रियामार्फत बिमकको उपचार खर्च दाबी गरी भुक्तानी लिन्छन्।

स्थास्थ्य बिमा कार्यक्रममा सहभागीले दुई सय ८८ वटा सरकारी तथा निजी क्षेत्रका अस्पतालमा उपचार गराउन सक्छन्। समितिका अनुसार दुई सय १० सरकारी तथा ७८ वटा निजी अस्पतालमा निःशुल्क उपचार हुन्छ।

गरिबी निवारण समितिले प्रदान गरेको पहिचानपत्रको आधारमा अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स र क्षयरोग लागेका परिवारको निःशुल्क स्थास्थ्य बिमा हुने व्यवस्था छ। महिला स्वास्थ्य स्वयंसेवकलाई रोग लागेमा स्थास्थ्य बिमा गर्दा ५० प्रतिशत छुट हुने समितिले जनाएको छ।

त्यसैगरी, परिवारका एक सदस्यालाई यस्ता प्रकृतिका रोग लागेमा प्रतिपरिवार बढीमा पाँचजनाको निःशुल्क स्वास्थ्य बिमा हुन्छ।

समितिको हालसम्मको तथ्यांक अनुसार ११ लाख ४४ हजार ४९ पुरुष, १० लाख ३६ हजार आठ सय ९४ महिला र दुई सय ५० जना तेस्रोलिंगीले स्वास्थ्य बिमा गरेका छन्।

त्यसैगरी, एक लाख ८७ हजार चार सय २२ ज्येष्ठ नागरिक, पाँच लाख ४१ हजार एक सय २१ अति गरिब परिवार, चार सय ८१ एचआइभी संक्रमित, ४४ कुष्टरोगीलगायत विपन्न परिवारको निःशुल्क स्थास्थ्य बिमा गरेको समितिले जनाएको छ।

निकट भविष्यमा सुदूरपश्चिम प्रदेशलाई ‘स्थास्थ्य बिमा हब’ बनाउने योजना रहेको कार्यकारी निर्देशक पोखरेलले जानकारी दिए। उनका अनुसार हालसम्म सात लाख ८४ हजार नौ सय ७२ परिवारले स्वास्थ्य बिमा गराएका छन्। तीमध्ये करिब सात लाख २८ हजार परिवारले नियमित स्वास्थ्य बिमा गर्दै आएको समितिको तथ्यांकमा उल्लेख गरिएको छ।

विकसित मुलुकमा स्थास्थ्य बिमा अनिवार्य भइसके पनि हाम्रोमा बिमाबारे सामान्य जानकारीसमेत नभएकाले कार्यक्रमले उद्देश्य अनुसार गति लिन नसकेको कार्यकारी निर्देशक पोखरेलले बताए।

कार्यक्रम सञ्चालन भएका हरेक वडामा कार्यरत दर्ता सहयोगीले स्थानीय बासिन्दालाई स्वास्थ्य बिमाबारे जानकारी दिन्छन्। उनीहरुले बिमालेख पनि बेच्छन्। दर्ता सहयोगीले बिमालेख बिक्री गरेको आधारमा १० देखि १२ प्रतिशत कमिसन पाउँछन्।

समितिले हालसम्म करिब दुई अर्ब ३७ करोड रुपैयाँ प्रिमियम संकलन गरी तीन अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको  छ।

प्रकाशित: २७ भाद्र २०७६ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App