७ वैशाख २०८१ शुक्रबार
खेल

‘साकिब नै कप्तान’

ढाका – बंगलादेश क्रिकेट बोर्डका प्रमुख नाजमुल हसनले टेस्ट संरचनामा नपरे पनि साकिब अल हसन नै टोलीको कप्तान रहने प्रस्ट पारेका छन्। बंगलादेश यसै साता अफगानिस्तानविरुद्धको एक मात्र टेस्ट २ सय २४ रनले गुमाएको थियो। हसनले पाँच दिने टेस्ट संरचना खेल्न साकिबको आकर्षण कम भएको जानकार रहेको पनि बताए।

‘हामीले पनि उनी टेस्ट क्रिकेटप्रति त्यति आकर्षित नभएको अनुभव गरिरहेका छौं। विशेष गरी उनले विदेशी भूमिमा हुने टेस्ट भ्रमण व्यक्तिगत कारण देखाउदै रद्द गर्दै आएका छन्,’ हसनले भने, ‘कुनै पनि खेलाडीको आफ्नो इच्छा हुनु स्वाभाविक हो। तर साकिब कप्तानको जिम्मेवारी लिनबाट कहिले पनि पन्छिएका छैनन्। कप्तान भएपछि खेल्नैपर्छ। कप्तानलाई अन्य टोली सदस्यजस्तो भ्रमणमा नजाने नैतिकताले दिँदैन।’

अफगानिस्तानसँगको हारसँगै साकिबले आफू अब टेस्ट टोलीको जिम्मा लिन इच्छुक नभएको बताएका थिए। बंगलादेश टेस्ट सदस्यता पाउने राष्ट्रमध्ये १० राष्ट्रसँग पराजित हुने पहिलो टोली हो। इङ्ल्यान्ड विश्वकपमा ६ सय ६ रन जोड्नुका साथै ११ विकेटसमेत लिएका साकिबलाई श्रीलंका भ्रमणबाट कप्तानको जिम्मेवारी दिइएको थियो, जहाँ बंगलादेशी टोली ३–० ले पराजित भएको थियो। साकिबले पटकपटक कप्तानीको जिम्मेवारीबाट हटाए मात्र आफूले स्वाभाविक खेलमा ध्यान दिन सक्ने बताउँदै आएका छन्।

‘मैले कप्तानी छोडें, त्यो सबैका लागि राम्रो हुनेछ,’ साकिबले अफगानिस्तानविरुद्धको हारपछि भने, ‘मैले कप्तानीलाई निरन्तरता दिने वा नदिने बोर्डसँगको बैठक पछि मात्र थाहा हुन्छ।’ बंगलादेशले शुक्रबारबाट जिम्बाब्बे र अफगानिस्तान सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ, जहाँ टोलीको कप्तानी साकिबले नै गर्नेछन्।

 

 

प्रकाशित: २७ भाद्र २०७६ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App