५ वैशाख २०८१ बुधबार
कला

राम्रा नेपाली फिल्म बनेको खै?

काठमाडौं - ‘नेपाली दर्शक राम्रो र सस्तो नेपाली फिल्म हेर्न चाहन्छन्। छक्का पञ्जाले कमेडी फिल्म नेपाली दर्शकले मनपराउँछन् भन्ने मान्यतालाई स्थापित गर्न सफल भयो,’ अभिनेता दीपकराज गिरी भन्दै थिए। राजधानीको प्रज्ञा प्रतिष्ठानमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र सम्मेलनअन्तर्गत ‘नेपाली चलचित्रमा विविधताको खोजी’ नामक छलफलमा सहभागी उनले नेपाली फिल्ममेकरले स्क्रिप्ट र अनुसन्धानमा ध्यान दिने नगरेको स्वीकारे।

‘फिल्मले विशुद्ध मनोरञ्जन दिनसक्नुपर्छ। मनोरञ्जनपछि शिक्षा र सामाजिक दायित्वलगायतका विभिन्न पक्ष फिल्ममा जोडिन्छन्। नेपाली फिल्मको स्क्रिप्ट लेखन र अनुसन्धानमा फिल्ममेकरले खासै ध्यान दिनसकेका छैनन्। फलस्वरुप नेपालमा बन्ने ८० प्रतिशत फिल्मले टाउको दुखाउँछ। फिल्मको मापन बजारले निधारण गरेको हुन्छ,’ उनले भने, ‘संस्कृति अतिक्रमण भइरहेको विषयमा राज्य गम्भिर हुन सकेको छैन्।’

फिल्म समिक्षक सामीप्यराज तिमल्सेनाले सहजीकरण गरेका सो छलफलमा उनीसहित निर्देशक दीपेन्द्र के खनाल, लक्ष्मी बर्देवा र सोमत घिमिरे सहभागी थिए। त्यस्तै ‘बुलबुल’ फिल्ममा टेम्पु चालकको भूमिका निर्वाह गरेकी अभिनेत्री लक्ष्मी बर्देवाले कलाकारअरू फरक भूमिकामा काम गर्न सक्छन् भन्ने मान्यता स्वीकार्न फिल्ममेकर तयार नभएको तर्क राखिन्। ‘मैले फिल्ममा निर्वाह गरेको एउटा भूमिकालाई आधार मानेर बारम्बार त्यस्तैखालको अफर आउने गरेको छ। सो कलाकारले फरक भूमिकापनि निवार्ह गर्नसक्छ भन्ने विषयमा फिल्ममेकर ध्यान दिनचाहँदैन्,’अभिनेत्री लक्ष्मी बर्देवाले भनिन्। छलफलमा सहभागी निर्देशक दीपेन्द्र के खनालका अनुसार नेपाली फिल्ममा विविधिताको कुरा आउँदै गर्दा दर्शकको संख्या बढ्न सकेको छैन्।

राज्यका लागि चलचित्र पब्लिक प्रोप्रोगान्डामात्रै हो। चलचित्रका लागि राज्यले कहिल्यै सहजकर्ताको भूमिका निर्वाह गरेन। फिल्ममेकरले कहिल्यै स्क्रिप्टमा ध्यान दिनुपर्नेमा जोड दिएनन्।

त्यस्तै राष्ट्रिय चलचित्र सम्मेलनको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्षले नेपाली चलचित्रको विकास र समृद्धिको लागि प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ आवश्यक भएको बताएका थिए। ‘नेपाली चलचित्रको विकास र समृद्धिको लागि सृृजनशिलता र प्रविधिको सही सदुपयोग हुनु आवश्यक रहेको छ। यसको विकासको लागि प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ आवश्यक भएकाले फिल्मआवद्ध सबैसँग सुझाव संकलन गरिरहेका छौं,’ उनले भने।

सम्मेलनका बोल्दै समालोचक हरि शर्माले चलचित्रमा संसारको सुख दुःख पाइने तर्क राखेका थिए। ‘अहिले हात–हातमा चलचित्र छ। चलचित्र हेर्न एकसाथ सबै प्रकारको भावना महसुस हुने गरेको पाइन्छ’, उनले भने। ‘समाजशास्त्रीय दृष्टिमा चलचित्र’ विषयमा बोल्दै उनले भने,‘ समाजको दृष्टिकोणलाई परिवर्तन गर्न चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ। नेपाली चलचित्रले भने तुलनात्मक रूपमा समाजको प्रतिनिधित्व गर्न सकेको छैन्। राज्यको लागि चलचित्र पब्लिक प्रोप्रोगान्डामात्रै हो।

चलचित्रको लागि राज्यले कहिल्यै सहजकर्ताको भूमिका निर्वाह गरेन्।’ नेपाली फिल्ममेकरले स्क्रिप्टमा ध्यान दिन नसक्दा राम्रा चलचित्र बनाउन नसकेको दाबी उनले गरेका थिए। सम्मेलनमा लोकरञ्जन पराजुलीले ‘सिनेमा हेराइको पहिलो नेपाली अनुभव’, सम्झना वाग्लेले ‘नेपाली सिनेमामा लैंगिक प्रस्तुतीकरण’ र ‘नेपाली चलचित्रमा राष्ट्रवाद’ बारे उज्ज्वल प्रसाईं र अनुभव अजितले आ–आफ्नो प्रस्तुति दिएका थिए। सम्मेलनको आयोजना मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डले संयुक्त रूपमा गरेको थियो।

तीन दिने सम्मेलनमा ‘राजनीतिको आँखामा चलचित्र’ र ‘नेपाली चलचित्रमा महिलाको स्पेस’ विषयमा छलफल हुनेछन्। त्यस्तै नवनीधिका दाहाल, अनुप सुवेदी, सरोज सापकोटा, नीर शाह, पूजासिंह राजवशीं, भाष्कर गौतम, बलबहादुर थापा र सचिन घिमिरे, महेश राई, दीपक तोलांगे र गौरव केसीले आ–आफ्नो प्रस्तुति दिनेछन्।

प्रकाशित: २७ भाद्र २०७६ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App