६ वैशाख २०८१ बिहीबार
अर्थ

धरहराको निर्माण एक चौथाइ सकियो

काठमाडौं – राष्ट्रिय पुननिर्माण प्राधिकरणले ऐतिहासिक धरहराको पुनर्निर्माण एक चौथाइ सम्पन्न भएको छ। धरहरा पुनर्निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले हालसम्म २६ प्रतिशत पुनर्निर्माणको काम सकिएको जनाएको छ। निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले बिहीबार आयोजित छलफल कार्यक्रममा धरहरा पुनर्निर्माण २६ प्रतिशत सकिएको जानकारी दिए।

उनका अनुसार आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७.५ प्रतिशत प्रगति भएको छ। धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ। त्यसैगरी, गोश्वारा हुलाक रहेका भवन भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइल हाल्ने कार्य चलिरहेको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका काम समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्न अनुरोध गरेका छन्। ‘गुणस्तर कायम राख्दै तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गर्नुप-यो,’ उनले भने, ‘कम्पनीको तर्फबाट कुनै पनि ढिलासुस्ती र आलटाल नहोस्।’

धरहरा पुनर्निर्माणको सुपरीवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयबारे प्रस्तुतीकरण गरिएको थियो। समीक्षामा धरहरा पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य, निमित्त सचिवलगायतको उपस्थिति थियो।

यसैबीच, दसैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम भइरहेको छ। सञ्चय कोष र साविकको गोश्वारा हुलाकको बीचमा आठफुटे अस्थायी पैदल मार्ग हुनेछ। खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ। अब यी दुई बाटो जोडिनेछ भने पछि यहाँ स्थायी सडक रहनेछ।

प्रकाशित: २७ भाद्र २०७६ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App