coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने सडक निर्माण ‘नयाँ आयोजना’बाट

रसुवा – रसुवागढी नाका जोड्ने सडकको नयाँ आयोजना लगाएर काम गर्नुपर्ने देखिएको छ। २०४२ मा निर्माण भएको बेत्रावती–धुन्चे सडक मर्मत गरेर मात्रै यातायात सहज बनाउन नसकिने भएकाले आयोजना ल्याउनुपर्ने भएको हो।

बर्सेनि सडकको मर्मत तथा सुधारको काम गरिँदै आएको भए पनि अवस्था नसुध्रिएपछि नयाँ आयोजना ल्याउन आवश्यक रहेको प्राविधिकले बताएका छन्। वार्षिक रूपमा विनियोजन भएको बजेटले सडकमा गर्नुपर्ने काममध्ये १० प्रतिशतभन्दा बढी हुन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ।

अघिल्लो साता जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको बैठकमा डिभिजन कार्यालयका इन्जिनियर सरोज कडारियाले बजेट अभावमा अप्ठेरो ठाउँ सुधार गर्ने बाहेक अरु काम गर्न नसकिएको धारणा राखेका थिए।

सडक सुधार तथा मर्मतका लागि करिब तीन अर्ब लाग्ने उनको भनाइ थियो। उनले सडकको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम सडक विभागले गर्ने भएकाले लागत स्टिमेट गर्ने काम मात्रै कार्यालयले गर्ने बताए।

डिभिजनले बनिसकेको सडकको मर्मतसम्भार गर्ने काम मात्रै गर्छ। यसका लागि पर्याप्त बजेट नहुँदा काम प्रभावकारी हुन सकेको छैन। यो वर्ष यही भदौ मसान्तभित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने भएकाले सोहीअनुसार काम अघि बढाइएको डिभिजन प्रमुख निरज शाक्यले बताए।

‘नाका जोड्ने सडकलाई पूर्ण रूपमा सुधारको काम गर्ने हो भने छुट्टै आयोजना चाहिन्छ,’ उनले भने, ‘हामीसँग भएको बजेटले सबै काम पूरा हुन सक्दैन।’ चालु आव ०७६÷७७ का लागि जिल्लामा सानो भार्खु, मूलखर्क, खोपाङ भीरस्थित सडकमा ढलान गर्ने कार्ययोजना छ।

पासाङ ल्हामु मार्गको स्याउबारीदेखि स्याफ्रुको जेरो किलोसम्मको लागत स्टिमेट गर्नका लागि गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले आग्रह गरेका छन्। सडक सुधार गर्नका लागि गाउँपालिकाले सहयोग गर्ने बताउँदै यसका लागि डिभिजनले उचित योजना बनाउन उनले आग्रह गरेका हुन्।

नाका जोड्ने सडक जीर्ण भएका कारण सवारी सञ्चालन गर्न कठिनाइ हुने गरेको छ भने सडक हिलो हुँदा दैनिक चार घण्टाभन्दा बढी समय गाडी रोक्नुपर्ने अवस्था आएको छ। नाका जोड्ने सडक भए पनि सम्बन्धित निकायले चासो नदिँदा समस्या हुँदै आएको छ।

प्रकाशित: २७ भाद्र २०७६ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App