सिनेम्यानिया

माओकालमा प्रेम

शनिबार, ०४ मङि्सर २०७३, ०९ : ४७ अभय श्रेष्ठ

क्रान्तिपछि चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङ एक दिन विद्यार्थीको व्यावहारिक ज्ञान जाँच्न कुनै गाउँको विद्यालय गए । एउटा टोकरीमा स्याउ राखेर उनले सबै विद्यार्थीलाई एकएक वटा लिन आग्रह गरे । भोकाएका विद्यार्थीले हाप र झाप गर्दै सकेसम्म सबैभन्दा ठूलो र राम्रो स्याउ छानेर खाए । एउटा हट्टाकट्टा छात्रले भने सबैले छानेर बाँकी रहेको कमसल स्याउ लियो ।
‘बाबु, तिमीले किन पहिल्यै लिएनौ ? के तिमी उनीहरूसँग भिड्न सक्दैनथ्यौ ?’
‘सक्थेँ अध्यक्ष माओ । तर, यसो गर्नु मैले उचित ठानिनँ ।’
‘किन ? किन तिमीलाई यो कुरा उचित लागेन बाबु ?’
‘अध्यक्ष माओ, म यिनीहरूभन्दा बलियो छु । त्यसैले मैले उनीहरूलाई अगाडि मौका दिनु जरुरी थियो ।’
छात्रको कुरा सुनेर माओ अत्यन्त खुसी भए र सबैसामु घोषणा गरे, ‘अब म ढुक्क छु, चीनमा कसैले समाजवाद ल्याउँछ भने यही छात्र वा ऊजस्ता मान्छेले मात्र ल्याउँछन् ।’

सांस्कृतिक क्रान्ति
अपने हि तो है जो दिल पर वार करते हैँ फराज
वरना गैरोँ को क्या खबर कि दिल कि जगह कौन सी है !

उर्दु कवि अहमद फराजले सायद ठीकै भनेका हुन् । किनभने आफन्तलाई नै थाहा हुन्छ, कसलाई कहाँ आक्रमण गर्दा सबैभन्दा बढी दुख्छ । समाजवादको यति उँचो सपना देख्ने अध्यक्ष माओको दिल टुक्य्राउने काम पनि उनकै पार्टीभित्र हुर्किरहेका दक्षिणपन्थी मित्रहरूले गरिरहेका थिए । कतिसम्म भने उनले सबैभन्दा बढी विश्वास गरेका लिन प्याओ स्वयंले उनलाई पदच्यूत गर्ने षड्यन्त्र गरे । त्यत्रो बलिदान र र ज्यानको बाजीको मूल्यमा समाजवादको सपना सजाउँदै  सन् १९४९ मा क्रान्ति सम्पन्न भयो । सत्ता कम्युनिस्ट पार्टीको हातमा पनि आयो । तर, यही पार्टीभित्र समाजवादविरोधी दक्षिणपन्थीहरूको एकछत्र राज चल्न थाल्यो ।

यसमा अध्यक्ष माओले सन् १९५८ मा थालेको योजना ‘ग्रेट फरवार्ड लिप’ को दुर्नियति र देशमा आएको अनिकालले झनै ऊर्जा थपेको थियो । यही मेसोमा ल्यु साओ ची र देङ स्याओपिङ अध्यक्ष माओलाई कार्यकारीबाट शृंगारिकमा सीमित गरी पाखा लगाउने जाल बुनिरहेका थिए । त्यसपछि माओलाई पूरै विश्वास भयो, कम्युनिस्ट पार्टीको हेडक्वार्टर पुँजीवादीको कब्जामा छ ।

सोभियत सत्तामा सुधारवादी नेता खु्रस्चेभको आगमनपछि त्यहाँ समाजवाद ध्वस्त भएको बुझाइ अध्यक्ष माओको थियो । यता, दक्षिणढल्कुवा कम्युनिस्टहरू चीनमै उनलाई धक्का दिन खोजिरहेका थिए । यसले चिनियाँ समाजवादको सपना विघटित हुने निष्कर्षसहित उनले क्रान्ति बचाउन जनतासँग अपिल गरे । यही मेसोमा सन् १९६६ को मे १६ मा सुरु भयो, सर्वहारा सांस्कृतिक क्रान्ति । माओको समर्थनमा खासगरी जोश जाँगर भएका किशोर र युवाहरू करोडौँको संख्यामा सडकमा उत्रिए । त्यसले चिनियाँ परम्परागत मूल्य, मान्यता र नैतिकताका अध्यायहरूलाई धुलो चटाइदियो ।

विध्वंश, दमन, हत्या, हिंसा पनि प्रशस्त भए । माओले नै चुनेका अध्यक्ष तथा राष्ट्रपति ल्यु साओची स्वयं पुँजीवादी भएको आरोपमा थुनिए । जेलमै उनको हत्या भयो । माओ अराजक दक्षिणपन्थी होइन, क्रान्ति बचाउन उन्नत संस्कृतियुक्त, सर्वहारा क्रान्तिकारी कार्यदिशाका लागि जनतालाई तयार पार्न चाहन्थे । कतिपय अति उनकै उद्देश्यविरुद्ध पनि भए । त्यसबारे त्यतिखेरै संसारमा अनेक प्रतिक्रिया व्यक्त भए ।

सोभियत संघका नेताहरूले ‘उग्र अराजकतावादी आतंक, नेतृत्व हत्याउने रक्तपातपूर्ण संघर्ष’ भने । अमेरिकाले मानव स्वतन्त्रतामाथि तीव्र दमन र बर्बर गृहयुद्धको संज्ञा दियो । उता कोरियाली नेता किम इल सुङले ‘पृथ्वी थर्काउने महान् क्रान्तिकारी आन्दोलन’ भनी प्रशंसा गरे । यस क्रान्तिका मुख्य कार्यकारी चार जना थिए जसलाई पछि विरोधीहरूले ‘चार चण्डाल’ भने । यसमा अध्यक्ष माओकी कान्छी पत्नी चियाङ चिङको नेतृत्वमा वाङ होन वेन, वेन युआन र झाङ चुन छियाओ थिए । माओले सन् १९६९ मा सांस्कृतिक क्रान्ति सकियो भने पनि खासमा यो १९७६ सेप्टेम्बर ९ मा उनको निधन र चार जनाको गिरफ्तारीपछि मात्र सकियो ।

सांस्कृतिक क्रान्तिका क्रममा हत्या, दमन, यातना र अतिवादी वितन्डाका घटनाहरू अवश्य भए । तर, अध्यक्ष माओको नियत खराब थिएन । उनी जनतालाई समाजवादी संघर्ष र श्रमसँग रमाउने मौलिक संस्कृतियुक्त लडाकु बनाउन चाहन्थे । यस क्रममा उनले शिक्षित जमातलाई व्यावहारिक ज्ञान आर्जनका लागि किसानकहाँ पठाउने योजना बनाएका थिए । उनको मूल मन्त्र थियो, खेतलाई कक्षाकोठा बनाऊ, किसानलाई शिक्षकका रूपमा ग्रहण गर । वास्तविक शिक्षा त्यहीँ छ । किसानमाथि बोझ नबन, उनीहरूका सहयोगीका रूपमा आफूलाई रूपान्तरण गर ।

क्रान्तिमा प्रेम
विद्यार्थीलाई पुनर्शिक्षाका लागि किसानकहाँ पठाउने माओको यही नीतिमा आधारित भएर चीनका संसारप्रसिद्ध निर्देशक झाङ यिमुले एउटा सिनेमा बनाए, ‘अन्डर द हाथोर्न ट्री’ । आई मीको प्रसिद्ध उपन्यास ‘हाथेर्न ट्री फरएभर’ मा आधारित यो सिनेमा हाई स्कुलकी छात्रा जिङ र भूगर्भशास्त्रको छात्र सुङको समर्पित प्रेमकथा हो । खासमा यो आई मीको आफ्नै साथी जिङको प्रेमको दुःखान्त थियो । उनीहरूको प्रेमको पृष्ठभूमिमा सांस्कृतिक क्रान्तिका छिर्काहरूलाई सिनेमाले मिहिन ढंगले चित्रण गरेको छ ।

संसारमा नाम चलेका चिनियाँ अन्य निर्देशकझैँ झाङ पनि सांस्कृतिक आन्दोलनप्रति आलोचकीय दृष्टि राख्छन् भन्नेमा शंका छैन । (सायद ‘द फ्लावर अफ द वार’ मात्र यस्तो सिनेमा हो जसमा झाङले चिनियाँ कम्युनिस्ट पार्टीको देशभक्तिपूर्ण लडाइँको दिल खोलेर प्रशंसा गरेका छन् ।) उनी क्रान्तिकालका समर्पित कम्युनिस्टलाई सोझा, इमानदार तर मुर्खका रूपमा चित्रण गर्छन् । तर, ‘..ट्री’ मा उनले त्यस समयको सामाजिक र राजनीतिक मानसिकताको चित्रण गर्दै एक जोडी युवाको चोखो प्रेमको कथा भनेका छन् । तिनको प्रेममा तत्कालीन शासन बाधक हुने आशंका व्यक्त भए पनि तिनको प्रेम पक्राउ पर्दैन । बरु नियतिले तिनको प्रेमलाई दुःखान्त बनाइदिन्छ ।

हुबेई प्रान्तको यिचाङ सहरबाट याङ्जे नदी क्षेत्रको किसान बस्तीमा हाई स्कुलका विद्यार्थी आइपुग्छन् । ओठमा सदैव निर्दोष मुस्कान फुलाउने सानो काँटीकी किशोरी जिङ पनि यही समूहमा हुन्छे । किसानहरू विद्यार्थीलाई स्वागत गर्न आइपुग्छन् । किसानकहाँ पठाउँदै गर्दा शिक्षक आफ्ना विद्यार्थीलाई अध्यक्ष माओको नीति सम्झाउँदै भन्छन्, ‘किसान दाजुभाइमाथि बोझ नबन्नू, बरु उहाँहरूको सहयोगी हुनु ।’ जिङ जुन घरमा जान्छे, त्यहाँका सानी फुच्चीदेखि वृद्धसम्म सबैले उसलाई अत्यन्त प्रेम गर्छन् । त्यही घरमा खाना खाने भूगर्भशास्त्रको विद्यार्थी सुन हाँस्दा मिलिक्क बत्ती बलेझैँ उज्यालो देखिन्छ । ऊ सहयोगी र उत्तिकै हार्दिक पनि छ । किसान परिवारले उसलाई तेस्रो छोराको रूपमा स्वीकारेको हुन्छ ।

जिङको बाबु राजनीतिक बन्दी छ । ऊ कतै श्रम शिविरमा बसेर प्रायश्चित गरिरहेको छ । पुँजीवादी भएको आरोपमा शिक्षिका आमा पनि पार्टीको कडा निगरानीमा छिन् । उनी जिङलाई कुनै गल्ती नगर्न सदैव सचेत गराइरहेकी हुन्छिन् । उसले डिप्लोमा सकाएर शिक्षिका भई परिवारलाई सघाउनु छ । यता, भूगर्भशास्त्रको विद्यार्थी सुनको बाबु चिनिया जनसेनाको उच्च पदमा छ । तर, पुँजीवादी भएको आरोप लाग्दा उसकी आमाले चार वर्षअघि छतबाट फाल हालेर आत्महत्या गरिन् । हुन पनि उनी आफ्नो रूप, पहिरन र शृंगारमा अत्यन्त व्यस्त हुन्थिन् । आत्महत्या गर्नुअघि पनि उनले आफूलाई खुबै सजाएर पेटभरि निहारेकी थिइन् ।

सानी केटी जिङसँग सुनको मनको तार गाँसिन्छ । ऊ जिङलाई हरतरहले निःस्वार्थ भावसहित सहयोग गर्छ । तर, जिङमा कति बच्चापन छ भने ऊ सानोतिना कुरामा पनि सुनसँग रिसाइरहन्छे । सुन भने एक कर्मयोगीले जस्तै हरहालतमा उसलाई प्रेम र प्रतिदानरहित सहायता गरिरहन्छ । जिङलाई लुकीछिपी हेर्नैलाई ऊ ओभरटाइम काम गर्छ । बाबु बन्दी भए पनि, आमा छानबिनमै रहे पनि, जिङको कामलाई राम्रो मानिन्छ ।

ग्राजुएसनपछि शिक्षिकाको काम पाउन उसले स्वयंसेवी भएर श्रम गर्नुपर्ने हुन्छ । बुटको अभावमा नांगो खुट्टाले हिलो र सिमेन्ट मुछ्नुपर्दा कलिला खुट्टामा ठूल्ठूला फोका उठ्छन् । सुङ उसको घाउ धोइदिन्छ । उसका लागि बुट किनिदिन्छ । अस्पताल लगेर उपचार गराउँछ । यसै क्रममा जिङकी आमालाई उनीहरूको प्रेमबारे थाहा हुन्छ । जिङको भविष्य बर्बाद हुन नदिन दुई वर्षसम्म नभेट्न उनी सुनलाई आग्रह गर्छिन् । सुन यो कठोर सजाय चुपचाप स्वीकार्छ ।

यसबीच, सुनलाई ल्युकेमिया भएको खबर पाएर जिङ आमालाई छक्याएर उसलाई भेट्न अस्पताल पुग्छे । अस्पतालको नर्सकोठाको बेडमा उनीहरूबीच रोचक कुराकानी हुन्छ । जिङ सुनसमक्ष समर्पित हुन चाहन्छे । तर, सुन यस्तो मौकाको फाइदा उठाउने खालको केटो नै होइन । ऊ जिङ २५ वर्ष नपुगुन्जेल पर्खने वाचा गर्छ । त्यतिले नपुगे आजीवन पर्खन पनि सक्छ ।
‘केटा र केटी एउटै ओछ्यानमा सुतेपछि केटी गर्भवती हुन्छे भन्ने मैले कतै पढेकी थिएँ । के तिमी त्यसैले डराएका हौ ?’ सुन सोध्छे ।
‘मेरी प्यारी जिङ, कुनै दिन तिमी अवश्य गर्भवती हुनेछ्यौ । तिम्रा बच्चाहरू हुनेछन् । तिमी आमा र पछि हजुरआमा पनि हुनेछ्यौ ।’
‘अनि तिमी नि ?’
‘तिमी बाँचिरहे म पनि बाँच्नेछु । तर, तिमी म¥यौ भने म ज्युँदो रहनेछैन जिङ ।’
जिङकी एउटी साथी गर्भवती हुन्छे । ऊ केटासाथीसँग बिहे गर्न चाहन्थी । तर, त्यसले उसको गर्भ स्वीकारेन र भाग्यो । अब ऊ गर्भपतन गर्न चाहन्छे । जिङलाई ऊ केटाहरूको सहवास गर्ने चाहनाबाट बच्न चेतावनी दिन्छे ।
‘केटाहरूलाई ‘सफल’ हुन कहिल्यै नदिनू । के तिमीले पनि उसलाई सफल हुन दियौ ?’ ऊ सोध्छे ।
‘तिमीले केलाई सफल भनेकी हौ ?’ जिङ सोध्छे ।
‘एउटै ओछ्यानमा सुत्न नदिनू भनेको ।’
‘त्यसो भए के  अब म पनि गर्भवती हुन्छु ?’
‘हो, बिस्तारै तिम्रो पनि पेट भुक्किँदै आउँछ ।’

साथीको कुरा सुनेर ऊ सुनसँग रिसाउँछे । जिङलाई काँडेस्याउ (हाथोर्न) को रूख, फल र फलको रङ मन पर्छ । त्यो त्यही रूख हो जसलाई जापानीसँगको युद्धमा चिनिया सहिदले आफ्नो रगतले सिँचेका थिए । त्यो थाहा पाएर सुनले उसलाई फलको रङ भएको कपडा र चित्र भएको आरी किनिदिएको हुन्छ । सुनको ‘बदमासी’ को बदलामा ऊ आरीमा छापिएको काँडेस्याउको चित्रमाथि खाम टाँस्ने माड दलिदिन्छे । साथीको एबोर्सन गरेको दिन फेरि ऊ सोध्छे, ‘होइन, त्यतिकै ‘केही’ नभई म गर्भवती हुन्छु र भन्या ?’
‘तिमीहरूबीच के भएको थियो, मलाई भन त !’
जिङ सबै बताइदिन्छे ।
‘ए, यो त ‘केही’ भएकै होइन । तिमी आत्तिनुपर्दैन । मेरो जस्तो तिमीलाई केही हुँदैन । ‘सफल’ हुने मौका पाएर पनि उसले त्यस्तो गरेनछ । मलाई लाग्छ, तिम्रो केटो तिमीलाई साँच्चीकै माया गर्छ ।’

त्यसपछि फेरि ऊ सुनको प्रेमले विह्वल हुन्छे । सुनले दिएको आरीमा काँडेस्याउको चित्र देखिनेगरी सफा गर्छे । सुनको खोजीमा ऊ फेरि किसानको घर पुग्छे । भूगर्भशास्त्रका विद्यार्थीसँग सोधपुछ गर्छे ।

ग्राजुएसनपछि जिङले शिक्षिकाको जागिर पाउँछे । एक दिन कक्षा लिइरहेकै बेला खबर आउँछ, सुन अन्तिम अवस्थामा छ । ल्युकेमियाले अन्तिम सास फेरिरहेको सुनसामु आँसु र रोदनको भाकामा ऊ भन्छे, ‘सुन, तिम्री जिङ तिम्रै सामु उभिएकी छ । तिमी भन्थ्यौ, काँडेस्याउ रङको कपडा मलाई खुबै सुहाउँछ । आज मैले तिमीलाई मन पर्ने त्यही लुगा लाएकी छु । तिमी भन्थ्यौ नि, मेरो आवाज सुन्नेबित्तिकै जहाँ भए पनि तिमी आउनेछौ । म यहीँ छु सुन, आँखा बन्द नगर ।’

र, अन्त्यमा
माओकालमा सुन र जिङको प्रेममा कुनै बाधा भएन । तर, नियतिले तिनको प्रेमको कोपिला फक्रन पाएन । माओको निधनसँगै मौलिक चिनियाँ समाजवादको सपना पनि तुहियो । माओपछि नेतृत्वमा आएका हुआ गाओफेङ चाँडै नै अपदस्थ भए । सन् १९७८ मा देङ सियाओ पेङले सत्ता सम्हालेपछि बजार अर्थतन्त्र र विदेशी लगानीको थाँक्रोमा डेढ दशकमै चीनको आर्थिक कायापलट भयो ।

अब चीन संसारकै महाशक्ति हुँदैछ । त्यहाँको राजनीतिक व्यवस्था साम्यवादी र अर्थ व्यवस्था पुँजीवादी छ । सांस्कृतिक क्रान्तिमा आफ्ना पिता सी झोंगसुनले सजाय पाए पनि वर्तमान राष्ट्रपति सी जिनपिङ स्वयंलाई कताकता यो अमिल्दो लाग्दोरहेछ । यसलाई उनी थोरै भए पनि अलिकति लाल रङ दिन चाहन्छन् । माओको मौलिक  समाजवादको छायाँ चीनमा सायद अझै सलबलाइरहेकै छ ।

 







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad