८ वैशाख २०८१ शनिबार
अन्य

सारंगीको धुनसँगै स्वादिलो शाकाहारी खान्की

तिम्रो माया लाग्छ साइली सम्झन्छु छिनछिन...
तिमीले माया नगरे पनि सम्झन्छु दिनदिन...
दिलु गन्धर्बको लोकप्रिय गीतलाई सुर र ताल दिँदै गाउन व्यस्त थिए कलाकारहरु, केही विदेशीहरु सारङ्गीको धुनसँगै रमाउँदै नाच्नमा व्यस्त देखिन्थे । यो दृश्य ठमेलस्थित सारङ्गी शाकाहारी भोजनालयको हो । जहाँ सारङ्गीको धुनमा नेपाली गीतको भाका फेर्दैै विदेशी तथा स्वदेशी पाहुनालाई नचाइन्छ ।

कलात्मक तरिकाले तयार गरिएका वाद्यबादन सामग्रीसँगै मिलाएर राखिएका कुर्सी टेबल रमाइलोका लागि मात्र नभएर पारिवारिक वातावरणमा भोजन गर्न सकिन्छ । दुईतले सारङ्गी शाकाहारी भोजनालयमा विशेष भिगेन (दूधबाट बनेको समेत नखाने) र शाकाहारीका लागि निकै राम्रो विकल्प हुन सक्छ । सन् २०१४ बाट सुरुवात गरिएको यस रेस्टुरेन्टमा नेपाली, इन्डियनलगायतका खानाका परिकारहरु अर्डरअनुसार खान सकिन्छ ।

लामो समयको अनुसन्धानपछि सामूहिक हितका लागि केही गर्नुपर्छ भन्ने मनसायले केदार गान्धारीले होटल व्यवसाय सञ्चालन गरे । आफू र आफ्नो परिवारका लागि मात्र भन्दा पनि सम्पूर्ण गन्धर्ब समुदायको गीतसंगीत र बाजाको व्यावसायिक हित हुने उद्देश्यले रेस्टुरेन्टको सुरुवात गरे,जसको नाम राखे सारङ्गी शाकाहारी भोजनालय (रेस्टुरेन्ट) । आफैं उद्यमी बन्न सक्नु पर्छ भन्ने हेतुले विदेशी नागरिक सान्ड्राफिडलचिको सहयोगमा सुरु गरेको उनले बताए । सारङ्गीमा प्लास्टिकबाट तयार गरिएका सामग्रीहरुलाई प्रयोग गरिँदैन् ।

पाहुनाले नभई हुन्न भनेपछि स्ट्र भने बाहिरबाट ल्याउने उनी बताउँछन् । ‘खासमा हामी ‘से नो टु प्लास्टिकब्याग’ को क्याम्पियनमा सहयोग गरिरहेका छौँ, उनी भन्छन्, ‘प्लास्टिकको बोटलबाट हामीले सपिङ्गब्यागसमेत बनाएका छौँ ।’ मिथिला आर्टका कलात्मक चित्रले भरिएको प्लास्टिकको बोटलबाट तयार गरिएको ब्याग विदेशमा निकै रुचाइएको उनी बताउँछन् । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने सारङ्गी रेस्टुरेन्टको साँझको रमझममा रमाउन आउने धेरै रहेको सञ्चालक केदार गान्धारीले बताए । हरेक दिन मौलिक सांस्कृतिक गीतमा ग्राहकलाई नचाउनु सारङ्गीको विशेषता हो ।

सारङ्गीका केही विशेष परिकारहरु :
नाचोस् :

सारङ्गी शाकाहारी भोजनालयको विशेष खान्कीमा पर्छ नाचोस् । त्यहाँ आउने अधिकांश ग्राहकलाई मनपर्ने खानाको परिकार नाचोस् रहेको सञ्चालक केदार बताउँछन् । अधिकांशको रोजाइमा परेको नाचोस्मा चिजको स्वाद चाख्न सकिन्छ । नाचोस्लाई आकर्षक अनि कलात्मक ढंगले प्रस्तुत गरिन्छ । मकैको पिठोबाट तयार पारिएको त्रिकोणात्मक पापडमा राजमालाई म्यास गरेर तयार गरिएको हुन्छ । विभिन्न मौसमी तरकारीसँगै चिज र साँर क्रिमको स्वाद चाख्न सकिन्छ । चिजको स्वादमा रमाउने पारखीहरुका लागि नाचोस् राम्रो विकल्प हुन सक्छ । नाचोस्लाई दिउँसो वा रातिको खानाको रुपमा पनि खान सकिन्छ ।

फलाफेलप्लेट :
फलाफेलप्लेट सागङ्गी रेस्टुरेन्टमा निकै स्वादिलो मानिने खानाका परिकारहरुमध्ये एक विशेष परिकार हो । चनालाई म्यास गरी तयार पारिएको स-सानो बलहरुलाई डिपफ्राइगरी तयार गरिएको हुन्छ । एउटै साइजमा रहेका उक्त बलसँग पिटा ब्रेड (गहुँको पिठोबाट तयार गरिएको एक प्रकारको रोटि) खान सकिन्छ । फलाफेल प्लेटमा साइडडिसको रुपमा सलाद, इच्छाअनुसार दही, हुम्मुस् (चनाको दानालाई म्यास गरेर तयार गरिएको) लगायतको खान्कीको स्वाद लिन सकिन्छ । हुम्मुस्मा अलिभवयल, नुन, लसुन, कागती, मिन्टको स्वाद पाउन सकिन्छ ।

फार्मरस्प्लेट :
फार्मरस्प्लेट विशेष भिगेनका पारखीहरुका लागि रहेको सञ्चालक केदार बताउँछन् । मौसमअनुसारको तरकारीका परिकारहरुलाई हल्का रोस्ट गरी हरियो फ्रेस सलादसँग खान सकिन्छ । पिटा ब्रेड, हुम्मुस्, योगहर्ट, अरेन्ज ग्लेज लगायत फ्रेस सलाद फार्मरस्प्लेटको साइडडिसको रुपमा खान सकिन्छ । फार्मरस्प्लेटमा दहीलाई विकल्पको रुपमा राखिने सञ्चालक बताउँछन् । बिहानीको खान्कीको रुपमा फार्मरस्प्लेटलाई लिन सकिन्छ ।

टु डिप्स् :
टु डिप्स् सारङ्गी शाकाहारी भोजनालयको चर्चित खानाको परिकार हो । त्रिकोणात्मक पिटा ब्रेडसँग हुम्मुस्, ग्वाकोममोल (म्यास् एबोकाडो, नुन, धनिँया, खुर्सानी, चेरी टोमाटो, अलिवआयल राखी तयार पारिएको पेस्ट), बिटरुट र सलाद राखेर कलात्मक तरिकाले प्रस्तुत गरिन्छ । ग्वाकोममोल एबोकाडोबाट तयार गरिन्छ । ग्वाकोममोललाई प्राकृतिक रुपमा उपलब्ध अग्र्यानिक सामग्रीहरुको प्रयोग गरेर बनाइने भएकाले हरियो अनि आकर्षक देखिन्छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने भएकाले अधिकांश विदेशीको रोजाइमा टु डिप्स् पर्ने सञ्चालक बताउँछन् ।

पनिर बटर मसला विथ राइस् :
सारङ्गी शाकाहारी भोजनालयमा इन्डियनफुडमा धेरैे रुचाउने खान्की भनेको पनिर बटर मसला रहेको सञ्चालक केदारले बताए । मिलाएर काटिएका एक नासे पनिरमा बटरको स्वाद निकै नै  लोभलाग्दो छ । पनिरका पारखीहरुका लागि पनिर बटर मसला राम्रो विकल्प हुन सक्छ । पनिर र मसलाको ग्रेभीसँग रुचिअनुसार भात वा रोटी खान सकिन्छ । हरियो फ्रेस सलादसँग पनिर बटर मसला स्वदेशीदेखि विदेशी नागरिकले समेत निकै रुचाएको उनी बताउँछन् । शाकाहारीका लागि निकै उपयोगी हुने उनको ठहर छ ।

एक्स्प्रेसो मार्टिनी :
एक्प्रेसो मार्टिनी मिक्स ककटेल हो । ग्रे गुस भोट्का, कफिलिक्युर र आइस राखेर ककटेल सेकर प्रयोग गरी एक्प्रेसो मार्टिनी तयार गरिन्छ । यो ककटेलमा भोट्का र कफीको अलग स्वाद पाउन सकिन्छ । भोट्काको स्वादमा रमाउनेहरुका लागि एक्स्प्रेसो मार्टिनी ककटेल राम्रो विकल्प हुन सक्छ । भोट्का र कफी लिक्युरको मिक्स फ्लेबरमा समरमा रमाउन सकिने बारटेन्डर सुदेश गन्धर्भ बताउँछन् । ककटेल रुचाउने अधिकांश ग्राहकको रोजाइमा एक्स्प्रेसो मार्टिनी ककटेल पर्ने उनले बताए ।

सर्फ कोएस्ट सनसेट :
सारङ्गी शाकाहारी रेस्टुरेन्टको प्रसिद्ध ककटेलमध्ये सर्फ कोएस्ट सनसेट पनि निकै रुचाइएको प्रिय पदार्थ रहेको सञ्चालक केदार बताउँछन् । सर्फ कोएस्ट सनसेटमा एप्पल जुस, अरेन्ज जुस, नन अल्कोहलिक सिरप र आइस क्युब राखी तयार गरिएको हुन्छ । निकै कलात्मक ढंगले प्रस्तुत गरिने भएको मिक्स फ्रुट्स फ्लेबरमा तयार पारिएको मकटेल समरमा निकै रुचाइने उनी बताउँछन् ।

पाराडाइस:
ग्रेजेडाइन, कुरकाओब्ल्यु सिरप, पाइनएप्पल जुस, कोकोनट, रममलिबु र पानीलाई मिक्स गरेर पाराडाइस मकटेल तयार गरिन्छ । यो समर सिजनका लागि निकै उपयुक्त ककटेलको रुपमा पिइने बारटेन्डर सुदेश बताउँछन् । रम र कोकोनटको कम्बिनेसनको फ्लेबरमा पाराडाइस खान सकिने उनी बताउँछन् । कुरकाओ ब्ल्यु सिरपले निकै आकर्षित देखिने पाराडाइस अधिकांश तन्नेरीको रोजाइमा पर्ने उनी बताउँछन् ।

मिन्ट लेमोनेड :
समरमा हरेकको रोजाइमा पर्छ मिन्ट लेमोनेड । रिफ्रेसमेन्टको काम गर्ने भएकाले मिन्ट लेमोनेडलाई स्वास्थ्यका दृष्टिकोणबाट निकै फाइदाजनक मानिन्छ । मिन्टले रिफ्रेस गराउने र लेमनले अल्छीपना हटाउन मद्दत गर्ने भएकाले आइस राखिएको मिन्ट लेमोनेड धेरैको रोजाइमा पर्ने उनले बताए । सारङ्गीमा प्रयोग गरिने विभिन्न प्रकारका ह्रब्सहरु आफैँ कौशीमा उत्पादन गर्ने उनले बताए । ‘कौशीमा उत्पादन गरेकोले पुग्न त पुग्दैन तर अग्र्यानिकको स्वाद ग्राहकलाई चखाउन सधैँ तत्पर रहन्छौँ’ सञ्चालक केदार गान्धारी बताउँछन् ।

 

 

प्रकाशित: २६ भाद्र २०७६ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App