८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

केही अमेरिकी सामानमा बेइजिङको कर छुट

बेइजिङ (एजेन्सी)– चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ।

दुवै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ। कर छुट आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ। छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्री र क्यान्सर प्रतिरोधी औषधिसमेत रहेका छन्। यो कर छुट एक वर्षसम्म कायम हुनेछ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वाधिक चासोका रूपमा रहेको अमेरिकी सोयाबिन र सुँगुरको मासुको आयातमा लागेका कर भने चीनले यथावत नै राखेको छ।

चिनियाँ भन्सार विभागले बुधबार जारी गरेको विज्ञप्तिमा अन्य अमेरिकी सामानमा पनि कर छुट गर्दै जाने जनाइएको छ।

एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुवै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन्। विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव सिर्जना गरिरहेको यस व्यापार युद्धले विश्व बजारमा त्रासको वातावरण सिर्जना गरेको छ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गत साता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका थिए। अमेरिकातर्फ निकासी हुने कूल ५ सय ४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा करवृद्धि हुने ट्रम्पको घोषणामा उल्लेख छ।

ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा करवृद्धि गरेको थियो। सेप्टेम्बर १ देखि लागू हुने गरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो।

सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए। उनीहरुको विचारमा कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरीद गर्ने सामान महँगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए। राष्ट्रपति ट्रम्पले अमेरिकामा चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताउँदै ‘राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेको र उनीहरुको व्यवस्थापन पनि कमजोर रहेको’ आरोप लगाएका थिए।

चिनियाँ सामानमा करवृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले करवृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने बताएका छन्। ‘हामीले चीनसँग कुराकानी गरिरहेका छौं। वार्ताका लागि मिति तोकिएको छ। एक अर्काबीच फोनमा संवाद भएका छन्। मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ। वार्ताहरु रद्द भएका छैनन्। हेरौं के हुन्छ,’ टम्पको भनाइ छ।

राष्ट्रपति ट्रम्पले चीनसँग व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गरेका थिए। उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन्।

चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रूपमा अघि बढेको भने पनि वासिङ्टन र बेइजिङबीच कुनै सम्झौता भएको छैन। दुवै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अवरुद्ध भइरहेको छ। फ्रान्सको बियारिजमा गत महिना सम्पन्न सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी भएको बेला राष्ट्रपति ट्रम्पले ‘चीनबाट फोन आयो र उनीहरुको भनाइ वार्ताको टेबलमा बसौं भन्ने छ। त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं’ भनेका थिए।

राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीका भनाइ निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको सो बखत बताएका थिए।

दुवै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनले देखाएका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा चीनमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ।

चिनियाँ भन्सार कार्यालयका अनुसार संयुक्त राज्य अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ। गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलर बराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएको उसको भनाइ छ।

प्रकाशित: २६ भाद्र २०७६ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App