६ वैशाख २०८१ बिहीबार
समाज

आत्महत्याको मुख्य कारण मानसिक समस्या

फाइल फोटो

सरिता श्रेष्ठ/भगवती लामा
धादिङ/नुवाकोट - आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङ र सहयात्री समाज नेपालद्वारा आयोजित सचेतना कार्यक्रमले आत्महत्याको मुख्य कारण मानसिक समस्या रहेको निष्कर्ष निकालेको छ। सो अवसरमा आत्महत्या रोकथाम र मनोसामाजिक परामर्शबारे धादिङबेसीस्थित क्याम्पस तथा स्कुलका विद्यार्थीलाई सचेतना तथा सहजीकरण गरिएको थियो।

प्रहरीको आत्महत्याको तथ्यांक हेर्दा आत्महत्या गर्ने संख्या महिलाभन्दा पुरुष बढी रहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। ‘प्रहरीकोमा आएको तथ्यांकअनुसार आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी छन्,’ उनले भने, ‘रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिरहेका छौं।’ बैदवारका अनुसार हरेक वर्ष झुन्डिएर, विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। मानिस बढी महत्वाकांक्षी बन्दै जानु, मानसिक तनाव, बहुविवाह, आत्मग्लानि र गरिबीलगायत कारण वर्षेनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो। संख्या बढ्दै गएकाले मानसिक स्वास्थ्यको क्षेत्रमा स्थानीय तहले चासो लिनुपर्ने सरोकारवालाको भनाइ छ।

धादिङमा चार वर्षको अवधिमा तीन सय २३ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यलय धादिङको रेकर्डअनुसार आव २०७२/७३ मा धादिङमा ६२ जना, आव २०७३/७४ मा ७५ जना, आव २०७४/७५ मा ९२ जना र २०७५/७६ मा ९४ जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ। त्यस्तै आव २०७६/७७ को साउनदेखि हालसम्म १२ जनाले आत्महत्या गरिसकेका छन्।

त्यस्तै गत तीन वर्षमा नुवाकोटमा १ सय ५२ जनाले आत्महत्या गरेका छन्। विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्यांकअनुसार आत्महत्या गर्नेमा महिला ७६, पुरुष ७१, बालक २ र बालिका ३ जना रहेका छन्। वार्षिक तथ्यांकअनुसार गत आवमा नुवाकोटका ४८ जनाले आत्महत्या गरेका थिए। विष खाएर १२ जना, झुन्डिएर २५ जना र पानीमा हाम फालेर एकजनाले आत्महत्या गरेका थिए। जसमध्ये २५ जना पुरुष, २१ जना महिला र एकजना बालक रहेका थिए।

आव २०७४/७५ मा ६४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। तीमध्ये विष खाएर ३१, झुन्डिएर ३२ र एकजनाले पानीमा हाम फालेर आत्महत्या गरेका थिए। आत्महत्या गर्नेमा महिला ४० र पुरुष २४ जना रहेका छन्। यस्तै आव २०७३/७४ मा ४० जनाले आत्महत्या गरेका थिए। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेका अनुसार अनुसन्धान गर्दा लैंगिक तथा घरेलु हिंसा भोग्नु परेर, पारिवारिक बेमेल, झैझगडा र अनावश्यक खिचातानी, शारीरिक तथा मानसिक तनाव, दीर्घ रोग, आफूले रोजे अनुसार काम नपाएर/नभएर, प्रेममा धोका पाएर, नतिजामुखी प्ररिणाममा सफलता नभएर मान्छेले आत्महत्या गरेको पाइएको बताएका छन्।

विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष १० सेप्टेम्बरका दिन मनाउने गरिएको छ। यस वर्ष पनि ‘आत्महत्या रोकथाममा मिलेर काम गरौं’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा महिला बालबालिका संरक्षण सञ्जालले अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ।

प्रकाशित: २६ भाद्र २०७६ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App