८ वैशाख २०८१ शनिबार
समाज

फोहोर सीधै त्रिशूलीमा

त्रिशूली नदी किनारमा फ्याकिएको फोहोर। तस्बिर ः सरिता/नागरिक


सरिता श्रेष्ठ

धादिङ - फोहोरको उचित व्यवस्थापन र डम्पिङ साइट नहुँदा पृथ्वी राजमार्गस्थित मुख्य बजार क्षेत्रबाट निस्कने फोहोर सीधै त्रिशूलीमा फ्याँक्ने गरिन्छ, जसका कारण त्रिशूलीको पानी दुर्गन्धित हुनुका साथै राजमार्ग हुँदै यात्रा गर्ने जो–कोहीले पनि छिःछिः, दूरदूर गर्ने गरेका छन्। राजमार्गका मुख्य बजारहरू धादिङको धार्के, नौबिसे, थार्के, महादेव बेंसी, बैरेनी, गजुरी, मलेखु तथा चितवनका मुग्लिन, कुरिनटारलगायत क्षेत्रबाट दैनिक निस्कने फोहोर त्रिशूली नदी किनारामा फ्याक्ने गरिएको छ।

राजमार्ग क्षेत्रमा भइरहेको बस्ती विस्तारसँगै बजारमा फोहोर–मैलाको चुनौती पनि थपिँदै गएको छ। घर होस् या पसल, उद्योग–कलकारखाना, विद्यालयबाट निस्कने फोहोरको विसर्जन गर्ने निश्चित ठाउँ नहुँदा त्रिशूली नदी किनारमा फ्याक्दै आइरहेका छन्। चौबीसै घण्टा व्यस्त राजमार्ग किनारका बजारबाट दैनिक रूपमा संकलन हुने फोहोर सीधै त्रिशूलीमा फाल्ने र डढाउने गरिँदै आएको छ, जसले गर्दा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुले दुर्गन्धको सास्ती भोग्दै आइरहेका छन्।

सरकारले ‘भ्रमण वर्ष २०२० सफल पारौं’ भन्ने नारा प्रचारमा ल्याएको छ तर काठमाडौंको धुलो, धँुवा र फोहोरबाट बाहिरिँदासमेत सहज र स्वच्छ वातावरणमा यात्रा गर्न पाइरहेका छैनन्। राजमार्गका ठाउँठाउँमा थुप्रिएका फोहोरले भ्रमण वर्षको नारालाई समेत गिज्जाइरहेको यात्रुहरू बताउँछन्। राजधानी काठमाडौंबाट बाहिरिने मुख्य मार्गमा यस्तो फोहर थुप्रिन थालेपछि त्यसको छाप पर्यटकहरूमा नकारात्मक पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

राजमार्ग छेउमै बस्ती बसालिएको छ र सँगै त्रिशूली नदी सलल बगिरहेको छ। त्रिशूली नदीनजिकै बस्ती भएकाले पनि नदीमा फोहोर फाल्न सजिलो भएको मलेखुका स्थानीय सुरेन्द्रप्रसाद त्रिपाठीले बताए। ‘राजमार्ग वरपर कतै फोहोर विसर्जन गर्ने ठाउँ नै छैन, त्यसैले स्थानीयले फोहोर सीधै त्रिशूलीमा फ्याँकिदिन्छन्,’ उनले भने, ‘हामीले राजमार्ग सरसफाइ गर्नुपर्ने भनेर माग गर्दै आइरहेका छौं।’ बजार क्षेत्रबाट दैनिक निस्कने फोहोर व्यवस्थापनका लागि स्थानीय सरकारलाई समेत गुहारेको उनले बताए।

नागढुंगाबाट अगाडि बढ्दा पृथ्वी राजमार्गका दर्जनौं स्थानहरू यस्तै फोहरको थुप्रोले भरिएका छन्। यसको सरसफाइतिर स्थानीय तहहरूले प्रयास गर्नुको सट्टा पालिकाबाट निस्कने फोहरलाई राजमार्गका छेउछाउमा थुपार्न थालेपछि समस्या देखिएको हो। फोहरका कारण पृथ्वी राजमार्गका छेउछाउमा दुर्गन्ध बढ्दै गएको छ। गजुरी, बेनीघाट रोराङ, गल्छी, थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाले राजमार्गलाई नै डम्पिङ साइट बनाएका छन्।

स्थानीय सरकार निर्वाचित भएको तीन वर्ष बितिसक्यो तर फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको भने अत्तोपत्तो छैन। देशका ६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ सेरोफेरोका क्षेत्रहरू पछिल्लो समय दुर्गन्धित बन्दै गएका छन्। राजमार्ग वरपर यत्रतत्र थुप्रिएको फोहोरका कारण राजमार्ग क्षेत्रमा दुर्गन्ध बढ्दै गएको छ।
धादिङ र चितवनका केही स्थानीय तहहरूले राजमार्ग स्वच्छ अभियान भन्दै कार्यक्रमहरू गर्दै आएका छन्। तर त्यस्ता कार्यक्रमको कुनै प्रभाव पर्न सकेको छैन। स्थानीय तहहरूबाट निस्केको फोहरले त्रिशूली नदी प्रदूषित बन्दै जाँदा त्यसको प्रभाव जलचरमा परेको छ। फोहरले गर्दा जलचर तथा त्यस्तो पानी पिउँदा जंगली जनावरहरूसमेत लोप हुने अवस्थामा छन्। फोहरका थुप्राले एकातिर वातावरणलाई प्रदूषित गरेको छ भने नदी प्रदूषित हुँदा त्यसको असर पर्यटनमा समेत परेको छ।

कानुनअनुसार प्लास्टिकयुक्त फोहोर डढाउन निषेधित छ। कुहिने र नकुहिने फोहोरको व्यवस्थापनका लागि योजना बनाएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए। ‘फोहोरलाई मोहोरमा परिवर्तन गर्न सकिन्छ,’ अध्यक्ष डल्लाकोटीले भने, ‘राजमार्गको फोहोर व्यवस्थापनका लागि अब चाँडै नै सरसफाइ अभियान सञ्चालन गर्दै छौं।’

फोहोरमैला व्यवस्थापन ऐन २०६८ मा विद्युतीय तथा सूचना–प्रविधिका लागि प्रयोग भएका सामग्रीलगायत पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुलाई फोहोरका रूपमा परिभाषित गरिएको छ। ऐनको दफा ४ को उपदफा (२) मा हानिकारक, स्वास्थ्य संस्थाबाट निष्कासित, रासायनिक वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व उत्पादकको हुने व्यवस्था छ। दफा ७ को उपदफा (३) मा हानिकारक र रासायनिक फोहोरमैला संकलन केन्द्र वा स्थानान्तरण केन्द्रमा निष्कासन गर्न नपाइने उल्लेख छ।

प्रकाशित: २६ भाद्र २०७६ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App