coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भीरमा गाडी गुडेपछि स्थानीय खुसी

मंगलबार उद्घाटन गरिएको गलेम भीर सडकखण्ड। तस्बिर: नागरिक

माेहन गुरूङ

स्याङ्जा - फेदीखोला–४ का रामचन्द्र पौडेल खुसीले गदगद छन्। सपनामा नदेखेको र कहिल्यै नसोचेको कुरा पूरा हुँदा उनी हर्षित भएका हुन्। फेदीखोला गाउँपालिकाले गौरव तथा महत्वकांक्षी योजनाका रूपमा लिएको गलेम भीरमा गाडी गुड्दा पौडेललगायत स्थानीयले खुसीको उत्सव नै मनाएका छन्।

गलेम भीर खण्डको ट्र्याकलाई मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन्। पर्यटकीय तथा कृषि उत्पादनको सम्भावना बोकेको गलेममा मोटरबाटोको सुविधा नहुँदा सयौं घरधुरी अन्यत्र बसाइँ सरेका थिए। फेदीखोला–४ गलेम रापुका ७७ वर्षीया हिमादेवी पाध्या पौडेलले जीवनको उत्तरार्धमा गाउँमै गाडीको सुविधा पाउने भएपछि मरेपछि स्वर्ग जानेमा विश्वस्त छिन्।

उनले भनिन्, ‘सपना हो कि विपना हो थाहा छैन। आँगनमै मोटर देख्न पाउँदा खुशीको सीमा नै छैन।’ गलेम भीर काटेर मोटरबाटो गाउँसम्म आउने कल्पना र सपना आफूले कहिल्यै नदेखेको र नसोचेको उनको भनाइ छ। गाउँपालिकाले आफ्नो पञ्चवर्षीय नीति तथा कार्यक्रमअन्तर्गत गलेम भीर छिचोल्ने योजना राखे पनि दुई वर्षमै निर्माण सम्पन्न भएको हो।

अर्का स्थानीय ६० वर्षीय यामबहादुर गुरुङले भने, ‘बजेट ल्यायो, तलतिरको बाटो पुरपार ग-यो सिद्धियो। तर, स्थानीय सरकारले बल्ल सरकारको अनुभूति दिलाएको छ। बाटो निर्माणपछि आफूहरूलाई गाउँमा मर्दापर्दा गाडीको समस्या टर्ने उनको दाबी छ। सर्केटारी गलेम पन्चासे सडकखण्डलाई विभिन्न निकायबाट १ करोड ६८ लाख रकम विनियोजित भएको थियो।

निर्माणकार्य १ करोड २७ लाख रुपैयाँमा सम्पन्न भएको निर्माण उपभोक्ता समिति अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिए। तोकिएको समयभन्दा छिटो निर्माण कार्य सम्पन्न भएकोमा उनी खुसी छन्। ‘दुर्गम सुगमतामा परिणत भएको छ,’ उनले भने, ‘चाहना, इच्छा र संकल्पले सफलता हासिल गर्न सकिँदो रहेछ।’

स्थानीयको चासो, सक्रियता र गाउँपालिकाको सहयोगले योजना सम्पन्न भएको उनले बताए। योजना सम्पन्न गर्न सांसद क्षेत्र विकास कोष क्षेत्र नम्बर १ बाट ४० लाख, गण्डकी प्रदेश सरकारबाट ६२ लाख र गाउँपालिकाले २५ लाख रुपमा बजेट विनियोजन गरेको थियो।

प्रकाशित: २६ भाद्र २०७६ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App