८ वैशाख २०८१ शनिबार
अर्थ

समृद्धिको लागि प्रविधि विकास : बाँस्काेटा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले अगाडि सारेको डिजिटल नेपालको अवधारणालाई सफल बनाउन सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

बुधबार काठमाडौंमा द इकोनोमिक्स टाइम्सले आयोजना गरेको ग्लोबल इन्टरप्राइज टेक्नोलोजी फोरमलाई सम्बोधन गर्दै बाँस्कोटाले प्रविधिको विश्वव्यापी विकाशबाट नेपाल बाहिर रहन नसक्ने बताए। ‘सरकारले हरेक क्षेत्र प्रविधिमैत्री बनाउन विभिन्न योजना अगाडि सारेको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘प्रविधि संरचना, प्रविधि सुशासन, साइवर सुरक्षा, प्रविधि सचेतना लगायत योजना तथा कार्यान्वयन त्यसैको निरन्तरता हो।’ उनले ई–एटेन्डेन्स, ई–भिलेज, ई–स्कुल, विभिन्न प्रयोजनको लागि मोबाइल एप्सको प्रयोग, सरकारी गतिविधिलाई इन्टरनेट प्रविधिमा राख्ने कार्य तथा एकीकृत प्रविधि केन्द्रको विकासले समेत गति लिएको बताए।

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय कम्पनी अमाजोन, नेट एप्स, पोली, अल्काटेल लगायत कम्पनीका प्रतिनिधिसमेत सहभागी कार्यक्रममा बाँस्कोटाले नेपाल सरकारको प्रविधि विकासको लक्ष्यमा सहयोग गर्न आग्रह गरे।

‘प्रविधिको विकास र हस्तान्तरणले विश्व ग्लोबल भिलेजको रुपमा विकास भएको छ,’ उनले भने, ‘तपाईंहरु जस्ता प्रविधिमा काम गर्ने संस्थाको सहयोगले हाम्रो अभियान थप प्रभावकारी बन्छ।’

बाँस्कोटाले बैंक ह्याकिङको घटना स्मरण गर्दै प्रविधिको विकाससँगै त्यसको प्रयोग र सुरक्षाको सवालमा समेत गम्भीर  हनुपर्नेमा जोड दिए। साइबर सुरक्षामा नीति निर्माण तहमा काम गर्नेदेखि निजी क्षेत्र र सर्वसाधारण समेत सचेत हुनुपर्ने औंल्याए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रविधिको विकासका जति सबल पक्ष र अवसर छन् उत्तिकै चुनौती समेत रहेकोले यसलाई कम गर्न सरकारले ध्यान दिनुपर्ने बताइन्। ‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा दिएको छ, प्रविधिको विकासले यसलाई केही हदसम्म पूरा गर्न सहयोग गर्छ,’ राणाले भनिन् ‘दैनिक जीवन र व्यावसायिक हितमा यसको प्रभावकारी कार्यान्वयन गर्न उत्तिकै चुनौती छ।’

प्रकाशित: २६ भाद्र २०७६ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App