coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘पूर्वाधार विकासबाट समृद्धि’

काठमाडौं – नेपाल पूर्वाधार सम्मेलन बुधबार काठमाडौंमा सुरु भएको छ। नेपाल उद्योग परिसंघले विभिन्न निकायसँगको साझेदारीमा सम्मेलन आयोजना गरेको हो। पूर्वाधारमा पर्याप्त स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।

सम्मेलनमा विदेशीसहित करिब पाँच सय लगानीकर्ता सहभागी छन्। पूर्वाधारले देश विकास र समग्र अर्थतन्त्रमा पार्ने प्रभावबारे विभिन्न सत्रमा छलफल गरिएको छ।

सम्मेलनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रसँग लगानी साझेदारी गरी निर्माण गर्नुपर्ने बताए।

भट्टराईले द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। ‘अहिले काठमाडौं केन्द्रित सहरीकरण भइरहेको छ। अब सहरीकरणलाई समेत विकेन्द्रीकरण गर्नुपर्ने बेला भइसक्यो,’ उनले भने, ‘अहिलेसम्म तराई/मधेसमा विकास पुगेको छैन। त्यसैले अब काठमाडौंको सहरीकरणलाई तराई/मधेससँग जोड्नुपर्छ।’

पूर्वप्रधानमन्त्री भट्टराईले ठूला पूर्वाधार आयोजनामा निजी क्षेत्रले पर्याप्त लगानी गर्न सक्ने अवस्था भइनसकेको बताए। ‘हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर बन्न सकेन,’ उनले भने, ‘यसले हाम्रो निजी क्षेत्र पूर्वाधार परियोजनामा लगानी गर्न सक्ने अवस्थामा नपुगेको देखाउँछ।’ नेता भट्टराईले बजारको विकास गर्न हरेक गाउँसम्म सडक सञ्जाल जोड्नुपर्ने बताए।

अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा लगानीका लागि उपयुक्त वातावरण बनेको दाबी गरे। सडक, रेलमार्ग, विमानस्थल र पर्यटन पूर्वाधारमा आवश्यक लगानी गरेपछि मात्रै निजी क्षेत्रको प्रवेश सहज हुने उनको भनाइ छ। ‘विश्वमा लगानीकर्ताले १९ प्रतिशत नाफा लिन्छन्,’ उनले भने, ‘तर, नेपालमा २५ प्रतिशतसम्म नाफा लिन सकिन्छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लगानीका लागि निकै उपयुक्त समय भएकाले स्वदेशी, विदेशी लगानीकर्तालाई लगानी गर्न सुझाए। उनले अबको पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने समेत दाबी गरे।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐन लगायत थुप्रै ऐन, कानुन सुधार गरेर लगानीको वातावरण सुधार गर्न प्रयास गरेको बताए। एसियाली विकास बैंकका महानिर्देशक वुचोङ उमले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकासका लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पूर्वाधार विकासका योजना आवश्यक रहेको बताए।  उनले ज्ञान, सीप, पैसा र प्रविधि लगानी गर्न सरकार र निजी क्षेत्रले सामुहिक प्रयास गर्नुपर्ने बताए।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष  स्वर्णिम वाग्लेले भूपरिवेष्ठित मुलुकहरूले सम्पत्ति सिर्जना गर्नका लागि भौतिक पूर्वाधार, अन्तरआवद्धता, सूचना प्रविधि, दीर्घकालीन योजनाजस्ता निश्चित क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।  अहिले विश्व अर्थव्यवस्थाको केन्द्र एसियामा स्थानान्तरण भएकाले चीन र भारतबाट लाभ लिन सक्नुपर्ने उनको भनाइ छ ।

विश्व बैंकका उपाध्यक्ष चिङतोङ हुआले नेपालमा निजी क्षेत्रउन्मुख आर्थिक वृद्धि, समावेशीकरण र विविधीकरणका लागि विश्व बैंकले उल्लेखनीय योगदान गरेको बताए।  उनले हाल विश्व बैंकद्वारा नेपालमा २५ परियोजनामार्फत   २.६ अर्ब अमेरिकी डलर बराबरको लगानी भइरहेको जानकारी दिए।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्य पूर्वाधारको विकासबाट मात्र सम्भव हुने बताए। गत वर्ष सरकारले लगानी सम्मेलन गरे पनि अपेक्षित लगानी जुट्न नसकेको बेला अहिलेको सम्मेलनले लगानीका लागि पुनः झक्झक्याउने आयोजकको भनाइ छ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वित्तीय संस्थाले कुल लगानीको २० प्रतिशत हाराहारी पूर्वाधार क्षेत्रमा लगानी गरेको जनाए।  सम्मेलनमा देशभरिका पूर्वाधारसँग सम्बद्ध अधिकारी र सातै प्रदेशमा मुख्यमन्त्री, विज्ञलगायतका व्यक्ति सहभागी छन्। सम्मेलनको उदघाट्न उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन्। सम्मेलन दुई दिन चल्नेछ।

प्रकाशित: २६ भाद्र २०७६ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App