७ वैशाख २०८१ शुक्रबार
राजनीति

जनताको मन जित्न देउवाको निर्देशन

नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको नगरसभा उद्घाटन समारोहमा बोल्दै सभापति शेरबहादुर देउवा।

धरान - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जित्नेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। कांग्रेस धरान उपमहानगर कमिटीको नगरसभा उद्घाटनमा सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन्। उनले जनता सर्वशक्तिमान भएको धारणा राख्दै जनताको मन जित्नेगरी काम गर्न आफ्ना नेता, कार्यकर्तालाई निर्देशन दिए। यसको लागि जनताको घर घरमा पुग्नुपर्ने उपाय पनि उनले सुझाए।

धरानमा आगामी मंसिर १४ गते नगर प्रमुख र वडा नं ७ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचन जित्नका लागि नै कांग्रेसले जनताको मन जित्नुपर्ने सभापति देउवाको भनाइ थियो। ‘जनता सर्वशक्तिमान हो, त्यसैले जनताको मन जित्नुस्, काम गर्नुस्,’ देउवाले भने, ‘घर घरमा पुग्नुस्। एकपटक होइन, २ पटक, ३ पटकसम्म पुग्नुस्, भेट्नुस तब मात्र जनताको मन जितिन्छ, र चुनाव जित्छौं।’

वर्तमान सरकारले लोकतन्त्रको मर्म, मूल्य र मान्यता खोस्ने प्रयास गरिरहेको भन्दै देउवाले त्यसविरुद्ध कांग्रेसले डटेर सामना गर्ने बताए। नेपाली जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकारमाथि नै वर्तमान सरकारले प्रहार गरिरहेको र कांग्रेस हेरेर बस्न नसक्ने देउवाको भनाइ थियो। ‘जनताको प्रजातान्त्रिक अधिकार खोस्ने प्रयास भइरहेको छ। एक दलीय सर्वसत्तावाद शासन ल्याइन खोजिँदैछ,’ देउवाले भने, ‘मानवअधिकार आयोग, मिडिया काउन्सिल विधेयक ल्याएर यो सरकारले लेख्न, बोल्न नदिने व्यवस्था ल्याउन लागेको छ, यो प्रजातन्त्रमाथिकै प्रहार हो।’ उनले प्रजातन्त्रको मूल्य, मान्यता र आधारमाथि कांग्रेसले कुनै पनि सम्झौता नगर्ने पनि बताए।

सोही समारोहमा बोल्दै उपसभापति विजय गच्छदारले तीन दशकअघि आफू कम्युनिस्टसँग लुकीलुकी संगठन विस्तार गर्न धरान आएको स्मरण गर्दै अहिले आफू पुनः जनता र कांग्रेस जगाउन आएको बताए। ‘एक समय यहाँ कम्युनिस्टले कुट्छन् कि भन्दै संगठन विस्तार गर्न आउथे, आज कांग्रेस संगठन मजबुत भएको छ,’ गच्छदारले भने ,‘तर पनि सुनसरीको अरु क्षेत्रमा कांग्रेसले जित्दा यो धरान १ नं क्षेत्रमा जितेन, यहाँ कम्युनिष्टले सधै जित्यो तर धरानले सधै हार्यो। यसपाली चुनाव जिताउनुस्, कांग्रेसले जित्दा धरानले पनि जित्छ।’ प्रजातन्त्र र जनताको अधिकारको लागि लडेको पार्टीले नजितेकै कारण धरानको विकास हुन नसकेको गच्छदारको भनाइ थियो।

कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान केपी शर्मा ओली सरकारले भ्रष्टचार अन्त्य नगरी झन् संस्थागत गरेको आरोप लगाए। सुखी नेपाली, समृद्ध नेपालको नारा भए पनि व्यवहारमा ठिक उल्टो भएको भन्दै उनले भने, ‘अहिले कोही सुखी छ त सत्तामा भएका सीमित नेता छन्। भ्रष्टचार अन्त्य होइन, अर्बौमा भइरहेको छ। बिना प्रतिस्पर्धा अर्बौको ठेक्का दिने काम भइरहेको छ।’ नेता महतले धरान क्षेत्रमा सधै कम्युनिस्टले जिने पनि विकास हुन नसकेको भन्दै कांग्रेसलाई जिताउन आग्रह गरे। कांग्रेसले जितेमा धरान परिवर्तन गर्ने, बेग्लै सुशासनको अनुभूति दिलाउने र विकास, सेवामा कसैलाई पनि भेदभाव नगर्ने महतले बताए। ‘अहिले नेकपाले जस्तो मलाई भोट दिएनौं भन्दै भेदभाव हामी गर्दैनौं, गर्ने नै भए गिरिजाप्रसाद कोइरालालाई कालोझण्डा देखाउने धरानमा हामी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने थिएनौं,’ महतले भने।

समारोहमा केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मीन विश्वकर्मा, केन्द्रीय सदस्य तथा सांसद मिना सुब्बा, नरेन्द्र चौधरी, जिल्ला सभापति राजीव कोइरालालगायतले पनि मन्तव्य राखेका थिए। सबै वक्ता नेताले धरान क्षेत्रमा कम्युनिस्टले सधै जितेपनि विकास गर्न नसकेको आरोप लगाउँदै आगामी उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरेका थिए। समारोहमा सभापति देउवाले कांग्रेसका पुराना तथा अग्रज नेतालाई सम्मान पनि गरेका थिए भने विभिन्न पार्टी परित्याग गरेकालाई पार्टी प्रवेश पनि गराएका थिए।

धरान कांग्रेसको तीन दिने नगरसभाको दोस्रो र तेस्रो दिन धरान सभागृहमा बन्दसत्र हुनेछ। बन्दसत्रमा सांगठनिक, राजनीतिक, आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ। ती प्रतिवेदनमाथि व्यापक बहस र छलफलसँगै पार्टीको भावी कार्ययोजना पनि सभाले तय गर्ने कांग्रेस धरान उपमहानगर कार्यसमितिका सभापति तिलक राईले जानकारी दिए। ‘दुई दिनसम्म बन्दसत्रमा पार्टीको सांगठनिक, राजनीतिक भावी कार्ययोजना र धरानको सर्वाङ्गीण विकास र समृद्धिको बिषयमा पनि छलफल गर्छौै। अनि, धरान घोषणापत्र पनि जारी गर्छौ,’ सभापति राईले भने, ‘मंसिर १४ गतेको उपनिर्वाचनमा पार्टीको प्रमुख अजेन्डा तथा घोषणापत्र कस्तो बनाउने बारेमा पनि व्यापक छलफल गर्छौ।’

नगरसभाको उद्घाटनअघि बिहान बिपी चिन्तन प्रतिष्ठानले धरान २० र १३ स्थित बिपी स्मृतिपार्कमा आयोजित कार्यक्रममा सभापति देउवा सहभागी भएका थिए। त्यसक्रममा उनले २०७१ साल भदौ २ गते आफूले रोपेको शिशिरको बोटमा पानी हालेका थिए। बिपी पदयात्रा कार्यक्रमको बेला धरान आएका देउवा र नेता रामचन्द्र पौडेलले बिरूवा रोपेर बिपी पार्कको शिलान्यास गरेका थिए। राणाहरूले मजदुर आन्दोलनको बेला बिपी कोइरालालाई पक्राउ गरेर काठमाडौं लैजाँदा एक रात धरानको फुस्रेमा बास बसाएका थिए। बिपीलाई पैदल हिँडाएको उक्त ऐतिहासिक बाटोमा बिपी स्मृतिपार्क निर्माण गरिएको छ।

प्रकाशित: २६ भाद्र २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App