८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथमा ह्याकरको कार्ड ‘सिज’

काठमाडौं - चिनियाँ ह्याकरहरूले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्न लाग्दा कार्ड ‘सिज’ भएको पाइएको छ। ह्याकरले प्रयोग गरेका चार थान कार्ड सिज भएको अवस्थामा एटिएम बुथबाट निकालिएको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए। ‘राष्ट्रिय वाणिज्य बैंकको ठमेलस्थित एउटा एटिएम बुथमा स्विच ह्याक गर्न कार्ड प्रयोग गरे पनि मेसिनले कार्ड सिज गरेपछि पैसा निकाल्न असफल भएको देखिन्छ,’ उनले भने।

चीनबाट काठमाडौं आएको २४ घण्टाको अन्तरालमा एटिएम बुथको स्विच ह्याक गरी १ करोडभन्दा बढी पैसा निकाल्ने गिरोह १४ भदौमा पक्राउ परेको थियो। १३ भदौमा चाइनिज एयरबाट काठमाडौं आएका पाँच चिनियाँ नागरिक विभिन्न बैंकका एटिएम बुथमा प्रवेश गरी अहिलेसम्मकै ‘हाई टेक्नोलोजी’को प्रयोगबाट पिन ह्याक गरेको जनाइएको छ। १ करोड २६ लाख २९ हजार रुपैयाँ निकालेर भाग्ने तयारीमा रहेका उनीहरूलाई दरबारमार्गबाट पक्राउ गरिएको थियो। प्रहरीका अनुसार एटिएम बुथमा उनीहरूले पाँच घण्टामा १ हजार ५ सयपटक कार्ड घोटेका थिए।

दरबारमार्गवरिपरि तथा ठमेल, बालुवाटारआसपासका एटिएम बुथबाट स्विच ह्याक गरी पैसा निकालिएको डिएसपी बोगटीले बताए। राष्ट्रिय वाणिज्य बैंकका एटिएम प्रमुख रिकु स्थापितका अनुसार ठमेलको एटिएम बुथमा ह्याकरहरूले स्विच ह्याक गर्न खोज्दा कार्ड सिज भएको हो। ‘हाम्रो बैंकबाट रकम निस्केको देखिएन तर सिज भएको कार्ड फेला परेपछि प्रहरीलाई अनुसन्धानका लागि लेखिपठाएका हौं,’ स्थापितले भने।

प्रहरीले ४० वर्षीय लु जियालिङ, ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ र २९ वर्षीय लिन जिनमिङलाई पक्राउ गरेको थियो। उनीहरूकै बयानका आधारमा प्रहरीले विमानस्थलबाट अर्का एक चिनियाँ नागरिक सु लुसलीलाई पनि पक्राउ गरेको थियो। भाग्दाभाग्दै पक्राउ परेका उनी भने चिनियाँ मूलका फ्रान्सेली नागरिक हुन्।

उनीहरूको पैसा साटिदिएको अभियोगमा नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन श्रेष्ठ र मेनेजर रेवती दवाडी तथा डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने पनि पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। एटिएमबाट पैसा निकालेर हेलिकोप्टर चार्टर्ड गरी भाग्ने योजनामा रहेका ह्याकरहरूलाई समयमै पक्राउ गर्न प्रहरी सफल भएको थियो। राष्ट्र बैंकका अनुसार पैसा झिक्न नबिल, नेपाल एसबिआई र नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएका छन्। कार्ड भने प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमई र सनराइज बैंकका प्रयोग भएका थिए।

एटिएम बुथमा पिन ह्याक गरी यति धेरै रकम निकालेको यो पहिलोपटक हो। ‘यस्तो प्रविधि प्रयोग गरेर एटिएम बुथमा पिन ह्याक गर्ने गिरोह नेपालमा आएको पहिलो अन्तर्राष्ट्रिय आपराधिक समूह हो,’ काठमाडौं परिसरका प्रमुख उत्तम सुवेदीले भने। हाल पक्राउ परेका चिनियाँ नागरिकलाई प्रहरीले बैंकिङ कसुर, संगठित अपराध र विद्युतीय कारोबार ऐन आकर्षित हुने प्रहरीले जनाएको छ।

दुई वर्षअघि टर्किस गिरोहले नक्कली एटिएम कार्ड बनाई सर्वसाधारणको खाताबाट पैसा निकाली ठगी गर्दै आएको थियो। त्यो गिरोहले नेपाली बैंकका एटिएम मेसिनबाट पैसा निकाली २६ लाख नेपाली रुपैयाँ तथा पाँच हजार अमेरिकी डलरसहित टर्किस मेहमतलाई ठमेलबाट पक्राउ गरेको थियो। मेहमतको गिरोहले ठमेलबाट करिब ५० लाख रुपैयाँ निकालेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि ८८ लाख ७६ हजार ८ सय ५० रुपैयाँ बरामद गरेको थियो। एटिएम कार्ड ठगीमा प्रहरीले १८ जना विदेशी नागरिकलाई मुद्दा चलाएको छ।

गृहमन्त्रीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले एटिएम बुथको स्विच ह्याक गर्ने समूहलाई बेलैमा पक्राउ गर्न प्रहरी सफल भएको भन्दै गृहमन्त्री रामबहादुर थापालाई बधाई दिएका छन्। बधाई दिने क्रममा ओलीले भने, ‘विदेशी आपराधिक गिरोहले मुलुकको ठूलो धनराशी विदेश लैजानबाट जोगाउन नेपाल सफल भएकाले तपाईंको गृह प्रशासनलाई मेरो तर्फबाट बधाई।’ गत आइतबार मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई बोलाएर बधाई दिएको बताइएको छ।

प्रकाशित: २६ भाद्र २०७६ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App