coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छोरालाई घर ल्याउन खोज्दा तगारो बन्यो प्रशासन

छोरा अविनाश हराउनुअघि परिवारका साथमा खिचेको तस्बिर देखाउँदै आमाबाबु। फाइल तस्बिर:नागरिक

रौतहट - जिल्लाको चन्द्रपुर नगरपालिकाका अभिभावकले आफ्ना हराएका छोरा फेला पारे पनि प्रशासन संयन्त्र तगारो बन्दा घर ल्याउन सकिरहेका छैनन्। चन्द्रपुर–१० पडरियाटोलका चन्देश्वर बैठाले आफ्ना छोरा अविनाशलाई घर लानुअघि डिएनए परीक्षण गर्नुपर्ने अवस्था आएपछि आफू प्रशासनिक झमेलामा फसेको बताए। गत २०७५ जेठ ३१ गते आफ्नै घरबाट हराएका ६ वर्षीय छोरा अविनाश केही महिनाअघि भेटिएको उनको भनाइ छ।

छोरा हराएपछि स्थानीय प्रशासनमा फोटोसहितको निवेदन दिएको र केही महिनाअघि कटहरिया नगरपालिकाको बगहीमा रहेको थाहा पाएपछि घर ल्याउन बैठाले पहल गरेका थिए। बगहीका राजकिशोर महतोले बालक भेटेर प्रहरीको जिम्मा लगाएका थिए। बालक अहिले महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा छन्। सेवा केन्द्रमा रहेका बालकलाई आफ्नो घर ल्याउन जिल्ला प्रशासन कार्यालय रौतहटले डिएनए परीक्षण गरी छोरो आफ्नै हो भन्ने प्रमाणित गर्नुपर्ने बताएपछि बैठालाई त्यस किसिमको झमेला आइपरेको हो।

बाबु दाबी गर्ने चन्देश्वर र अन्य आफन्तलाई बच्चाले नचिनेको दाबी गर्दै प्रजिअ किरण थापाले दुवैको डिएनए परीक्षण गराएर मात्रै निष्कर्षमा पुग्दा उपयुक्त हुने स्पष्ट पारे।

जन्मदर्ता, वडाबाट गरिएको नाता प्रमाणित पत्र, विद्यालयको सिफारिस तथा परिवारसँग खिचेको तस्बिर पेस गर्दा पनि प्रहरीले आफ्नो बच्चा नदिएको उनी बताउँछन्। छोरा हराएपछि २०७५ असार ७ गते इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि फोटोसहित निवेदन पेस गरेको र पछि भेटिएको अवस्थामा पनि आफ्नो बच्चा नपाउनु दुःखद भएको बैठा बताउँछन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले शंका उब्जिएका कारण डिएनए परीक्षण गराएर मात्रै बच्चा लैजान भनेको जानकारी दिए। बाबु भनिएका चन्देश्वर र अन्य आफन्तलाई बच्चाले नचिनेको दाबी गर्दै प्रजिअ किरण थापाले दुवैको डिएनए परीक्षण गराएर मात्रै निष्कर्षमा पुग्दा उपयुक्त हुने स्पष्ट पारे। यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले बच्चाले आमाबुवा नै नचिनेका कारण शंका उब्जिएको बताए।

प्रकाशित: २६ भाद्र २०७६ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App