७ वैशाख २०८१ शुक्रबार
समाज

अपराधीविरुद्ध फेरि निर्मम बने एसपी कार्की, आधा घण्टामै अपहरणकारी पक्राउ !

पोखरा– कास्कीको पोखरामा बिहीबार एक व्यवसायीको अपहरण भयो। विहान १० बजेर ५० मिनेटमा पोखरा ६ लेकसाइड बस्ने ४५ वर्षीय निर्माण व्यवसायी रत्नबहादुर कार्की ‘जीवन’को अज्ञात समूहले अपहरण गर्यो। पोखरा ९ नयाँबजारस्थित सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालय भवन अगाडिको सडकबाट ४/५ जनाको समूहले जीवनलाई जबरजस्ती गाडीमा हालेर लगेका थिए। साथमा पल्सर मोटरसाइकलले स्कटिङ गरेको थियो। 

लगत्तै प्रहरीले यो सूचना पायो। अपहरणकारीविरुद्ध कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले तत्कालै एक्सन लिए। फलस्वरुप कास्की प्रहरीको टोलीले आधा घण्टामै अपहरणकारी समात्न सफल भयो। प्रहरी टोलीले ११ बजेर ३० मिनेटमा पोखरा ९ शान्तिवन स्थित निर्माण व्यवसायी समितिको कम्पाउण्डभित्रबाट अपहरणमा परेका व्वयसायी जीवनलाई सकुशल उद्धार गर्दै ४ जना अपहरणकारीलाई नियन्त्रणमा लियो। पक्राउ पर्नेमा पोखरा १५ का ४२ वर्षीय गौतम थापा, पोखरा २ अर्चलबोटका ३४ वर्षीय रोहित सुनार, पोखरा ८ बस्ने ५० वर्षीय बासुदेव पोखरेल, पोखरा १० का ५४ वर्षीय प्रेमबहादुर थापा रहेका छन्। उनीहरुले प्रयोग गरेको सवारीलाई प्रहरीले बरामद गरेको छ। 

नेपाल प्रहरीको कार्यसम्पादनमा सायद पहिलोपटक प्रहरीले घण्टा नवित्दै अपहरणकारी समात्न सफल भएको छ। 

दानबहादुर कार्की कास्कीको प्रहरी प्रमुख भएर आएपछि यहाँ अपराधी धमाधम पक्राउ पर्न थालेका छन्। डिएसपी छँदा काठमाडौंमा दबंग प्रहरीको छवि बनाएका कार्की पोखरामा पनि अपराध र अपराधीविरुद्ध निर्ममरुपमा प्रस्तुत भएका छन्। कार्की जेठ १७ गते प्रहरी प्रमुखका रुपमा कास्की आएका थिए। 

उनी आएपछि कास्कीमा लागुऔषध, लैंगिक हिंसा, आर्थिक अपराधविरुद्ध प्रहरी सक्रिय भएको छ। विभिन्न कसुरमा कास्की, तनहुँ, स्याङजा, मनाङ र लमजुङका ५२ जना पक्राउ परेका छन्। 

कास्की मुख्य चुनौतीको रुपमा रहेको लागुऔषधको कारोवारीविरुद्ध पनि प्रहरीले एक्सन लिएको छ। करिब एक दर्जन ड्रग्स डिलर व्यापारीलाई समातेको छ भने सय भन्दा बढी साना व्यापारी पनि प्रहरीको फन्दामा परेका छन्। जिल्लामा लागुऔषध कारोवारको सिण्डिकेट तोडिएको दाबी गर्छन एसपी कार्की। 

यतिमात्रै होइन नेपाल प्रहरीको इतिहासमा पहिलो पटक कास्की प्रहरीले हरेक कसुर तथा मुद्दामा आर्थिक पाटोलाई गम्भीरताका साथ हेर्न थालेको छ। ‘छोटो समयमा धन कमाउने, त्यसैको बलमा गुण्डागर्दी, अवैध काम गर्ने बढेको छ। तिनीहरुले विभिन्न दलको आडमा पुलिसले केही गर्न सक्दैन भनेर दम्भ प्रस्तुत गर्ने गरेका छन्। त्यसकारण हामीले अनिवार्य रुपमा सबै मुद्दाको आर्थिक पाटो पनि हेर्ने गरेका छौं। तिनीहरुलाई कानुनी दायरामा ल्याउँछौं’, एसपी कार्कीले भने।

कार्की हाजिर भएपछि कास्की प्रहरीले लक्ष्मी परियारको मुद्दा, पेन गन लगायतका थुप्रै मुद्दा किनारा लगाएको छ। 

प्रकाशित: २५ भाद्र २०७६ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App