coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भ्रमण वर्ष मनाउन तयारी शुरु

इलाम- आउँदो वर्ष ‘नेपाल भ्रमण वर्ष-२०२०’ मनाउनका लागि पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरु गरेका छन्। भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘टुरिजम प्याकेज’ बनाउने कामसमेत थालेका छन्।     

पर्यटन व्यवसायीहरुको भेलाले राजेन दङ्गालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा देवी पौड्याल, महासचिवमा अर्जुन कार्की, सचिवमा खेमराज सिटौला र कोषाध्यक्षमा कमला रिजाल चयन भएका छन्।    

समिति निर्माण गर्दै पर्यटन व्यवसायीले भ्रमण वर्ष सफल बनाउन सबै तह र तप्काबाट लाग्न सबैलाई आह्वानसमेत गरेका छन्। भ्रमण वर्ष सफल बनाउन जिल्ला–जिल्लामा समिति गठन गर्ने र सम्बन्धित संस्थासँग समन्वय गरेर आउने पर्यटकका लागि राम्रो व्यवस्था मिलाउने बारेमा समेत छलफल भएको पर्यटन व्यवसायी देवी पौड्यालले जानकारी दिइन्।।     

पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि इलाम जिल्लाभरिको ‘टुरिजम प्याकेजिङ’ समेत निर्माण गरेका छन्। इलाम भ्रमणमा आउने पर्यटकको बसाइ सहज बनाउनका लागि जिल्लाका उत्कृष्ट पर्यटकीय गन्तव्य भ्रमण गराउने गरी प्याकेज बनाइएको हो।

प्याकेजमा १५ हजार रुपैयाँमा इलाम जिल्लाभर घुम्न सकिनेछ। त्यसका लागि इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, माईपोखरी, सिद्धिथुम्का, ढापपोखरी, हागे थाम, गजुरमुखी लगायतका क्षेत्र रहेको पर्यटन व्यवसायी पौड्यालले जानकारी दिइन्।     
इलाम साहित्य महोत्सव हुने     

आउँदो नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि इलाममा असोजमा ‘इलाम साहित्य महोत्सव’ गरिने भएको छ। असोज ५ गतेदेखि दुई दिन चल्ने महोत्सवमा साहित्यका माध्यमबाट पर्यटकीय क्षेत्रको चिनारी गराइनेछ।     

महोत्सवमा जिल्लाभित्र तथा बाहिरका राजनीतिज्ञ, साहित्यकार तथा कलाकारको उपस्थिति हुनेछ र जिल्लाको पहिचानका बारेमा जानकारी गराइनेछ। साहित्यिक क्षेत्रमा अग्रपङ्क्तिमा रहेको इलाम पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि महोत्सवले टेवा पुर्‍याउने साहित्यकारको भनाइ छ। विशेषगरी मोफसलका साहित्यकारलाई ध्यानमा राखेर गरिने महोत्सवमा भारतीय क्षेत्रका साहित्यकारलाई समेत निमन्त्रणा गरिनेछ।     

“हामी साहित्यका माध्यमबाट पर्यटकीय क्षेत्रको चिनारीका लागि महोत्सव आयोजना गर्न लागेका हौँ, यसका लागि हामी छिमेकी देश भारतका सिक्किम, दार्जिलिङ लगायतका साहित्यकारलाई पनि ल्याउने प्रयत्नमा छौँ”, महोत्सव आयोजक संस्था इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले भने।     

मुलुक बाहिरका साहित्यकारलाई महोत्सवमा विशेष स्थान दिइने र महोत्सवलाई ‘अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन’का रूपमा चिनाउने प्रयत्न रहने अध्यक्ष थाम्सुहाङको भनाइ छ। इलामका सम्भावना बोकेका तर ‘गुमनाम’मा परेका पर्यटकीय क्षेत्रमा साहित्यकारको भ्रमण गराउने र आउँदा दिनमा पर्यटकको सङ्ख्या बढाउने महोत्सवको उद्देश्य छ।     

महोत्सवमा पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई, नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता

घनश्याम भुसाल र काङ्ग्रेस नेता प्रदीप गिरीलाईसमेत आमन्त्रण गरिएको छ भने अग्रज साहित्यकार श्रवण मुकारुङ, यज्ञस, वैरागी काइँला (तिलविक्रम नेम्वाङ), गणेश रसिक, युवराज नयाँघरेलगायतले आ–आफनो साहित्यिक कृति प्रस्तुत गर्नु हुने बताइएको छ।रासस

प्रकाशित: २५ भाद्र २०७६ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App