जंगली च्याउ

विदेशमा औषधि, स्वदेशमा मृत्यु

बुधबार, २५ भदौ २०७६, ११ : ४० लक्ष्मण डंगोल

चीनमा च्याउलाई औषधिका रुपमा प्रयोग गर्न थालिसके तर नेपालमा भने च्याउ खाएर वर्षेनी मानिसको मृत्यु हुने गरेको छ ।

‘एमानिटा चेपाङगीयाना’ चेपाङको नाममा राखेको जंगली च्याउ हो । वैज्ञानिकहरुले यसलाई खानयोग्य च्याउको सूचीमा राखेका छन् । तर ‘एमानिटा चेपाङगीयाना’ जस्तै अन्य तीन च्याउ हुन्छन् । चेपाङ्गी च्याउमा औँठी तथा कचौरा हुन्छन् । सेता छाता र डाँठ हुन्छन् । तिनीहरु उस्तै तर छुट्याउन गाह्रो हुन्छ । संकलन कर्ताले ‘एमानिटा चेपाङगीयाना’ भनेर अर्को विशालु च्याउ खायो भने मानिसको ज्यान जान्छ भन्छन्, च्याउ वैज्ञानिक डा. महेशकुमार अधिकारी ।

च्याउमा अन्य वनस्पतिमा पाइने जस्तो हरितकण (क्लोरोफिल) नहुने हुँदा सूर्यको किरणद्वारा खाना बनाउन सक्दैनन् । यसकारण च्याउ सेपिला, सडेगलेका, माटो, गोबर र परालजस्ता स्थान यसका बासस्थान हुन्छन् । यसैका आधारमा संस्कृतमा ‘सिलिन्द्रम (कुहिएको ठाउँमा निस्कने), समस्वेदम (पसिना र वाफमा निस्कने), साकम (साग वर्गकोे), भूमि छिन्नम (भूइँमा उम्रने) र छत्रम् छत्राकम् (सानो छाता भएको) भनिएको छ । खाने र नखाने च्याउहरु छुट्याउने तरिका, संस्कृत, नेपाली र अन्य भाषाका नामहरु, पौराणिक र आयुर्वेदीय कथनहरु अध्ययनमा उल्लेख गरेका छन् (अधिकारी, १९८१–८२, २०००–२०१७) ।

डा. अधिकारीका अनुसार विश्वमा करिब २० हजार प्रजातिका च्याउ पाइन्छन् । त्यसमध्ये नेपालमा १२ सय ७१ प्रजातिका च्याउ पाइन्छन् । करिब १ सय ४७ प्रजातिका च्याउ खान योग्य, १ सय प्रजाति विशालु, औषधोपयोगी ७३ प्रजाति पाइएका छन् (अधिकारी, १९९९, २००९–२०१७ र डुर्‍यु, १९९६) । उपत्यकामा मात्रै करिब २० प्रजातिका च्याउहरु वर्षायाम लागेसँगै बेच्ने गरेको छ ।

डा. अधिकारी स्वदेशमा रहेर करिब चार दशक च्याउ तथा ढुसीजन्य वनस्पतिमा काम गरेका व्यक्तित्व हुन् । ६ च्याउमा उनको थर जोडिएको छ । विश्वका च्याउ तथा ढुसीका वैज्ञानिक समुदायले सन् १९९० मा नेपालमा पाइएको च्याउलाई वैज्ञानिक नाम ‘रसुला नेपालेन्सिस अधिकारी’ राखेका छन् । त्यस्तै गोदावरीमा पाइएको च्याउ ‘रसुला क्लोराइडस् भार गोदावरी एनसिस् अधिकारी’(१९९९), ‘रसुला काठमाण्डु एनसिस् अधिकारी (१९९९)’, ‘सिलस अधिकारीआई (२०१५)’ र ‘पक्सिनिया अधिकारीआई’ राख्न सफल भएका छन् डा. अधिकारी । यी च्याउहरु हुलाक टिकटमा समेत छापिएका छन् ।

कुनै बेला डा. अधिकारीले नेपालबाट तीन सय प्रजातिका च्याउ रिपोर्ट गरेका थिए । त्यसमध्ये विश्वका अन्य मुलुकमा नभएका र थाहा नपाएका च्याउहरु उनले वैज्ञानिक संग्रहमा दर्ता गरेका हुन् । उनले मात्रैे विश्वका लागि चौधांँ नयाँ प्रजातिका च्याउ पत्ता लगाएका छन् । काठमाडौं, फूलचोकी, गोदावरी, तामागढी (बारा) का स्थानको आधारमा पनि च्याउको वैज्ञानिक नामकरण गरेका छन् । उनी भन्छन्, यी नामका च्याउ विश्वभरका वैज्ञानिक समुदायले लिन्छन् ।

उनको मत छ, त्यसले च्याउ अनुसन्धानमा नेपाली पनि छन् भन्ने हुन्छ । यद्यपि च्याउ कहुगुणी ढुंसी प्रजाति हुँदा यसबाट फाइदा लिन सकेको छैन । च्याउमा औषधि तथा पोषण तत्व पाइने वैज्ञानिक अध्ययनले देखाइसकेका छन् । चीनमा च्याउलाई औषधिको रुपमा प्रयोग गर्छन्, अधिकारी भन्छन् ।
डा. अधिकारीले गरेको अध्ययन–अनुसन्धानको तथ्यांकको रिपोर्टका आधारमा उष्ण प्रदेशमा १२ प्रतिशत, समशितोष्ण प्रदेशमा ४० प्रतिशत, शितोष्ण प्रदेशमा ७० प्रतिशत,  शित प्रदेशमा १३ प्रतिशत र हिमाली क्षेत्रमा ५ प्रतिशत च्याउ पाइने उल्लेख गरेको छ  ।

च्याउ अभिशाप
डा. अधिकारीको तथ्यांकले भन्छ, नेपालमा वर्षेनी २०–२५ जनाको मृत्यु हुने गरेको छ । यस वर्ष पनि म्याग्दी, बागलुङ, विराटनगर, रोल्पा र पाल्पामा मानिसको मृत्यु भैसकेको छ । यसरी मानिसको तत्काल ज्यानै लिने विषालु जंगली च्याउहरु काला, खैरा र कतिपय सेता हुन्छन् ।

प्राचीन ग्रन्थमा च्याउका कुरा नभएका होइनन् । यद्यपि त्यसबारेमा थप अध्ययन गर्न सकेनन् । डा. अधिकारी भन्छन्, ‘प्राचीन ग्रन्थमा च्याउ खाँदा पेट बटार्ने, वान्ता तथा झाडा पखाला लाग्ने उल्लेख छ ।’ त्योसँगै आयुर्वेदले परालमा उम्रने च्याउ खाऊ भनेको छ । त्यो मीठो पनि हुन्छ । हानिकारक तत्व त्यसमा हुँदैन भनिएको छ । यद्यपि परालमा उम्रेको सबै च्याउ भने खान हुँदैन ।

डा. अधिकारीका अनुसार, ‘च्याउ ढुसी हो तर सबै ढुसी च्याउ होइनन् ।’ त्यसलाई उनी यसरी अथ्र्याउँछन्, ‘च्याउलाई आँखाले देखिन्छ तर सबै ढुंसीलाई आँखाले देख्न सकिँदैन ।’ वैज्ञानिक दृष्टिकोणमा च्याउका दुई वर्ग हुन्छन् । ‘पेजिजोमाइकोटिना’को बीउ थैलो बाहिर हुन्छ । ‘एस्कोमाइकोटिना’ भनेको जसको बीउ थैलाभित्र हुन्छ । यिनलाई छुट्याउन माइक्रोस्कोपमा राखेर हेरेपछि मात्र देख्न सकिन्छ । यी दुई समूह मात्र च्याउअन्तर्गत पर्ने र बाँकी ढुसीअन्तर्गत पर्ने अधिकारी उल्लेख गर्छन् । यसकारण सबै च्याउ खानयोग्य हुँदैनन् । ढुसी अध्ययनमा पनि उनको दख्खल छ ।

च्याउ वरदान
‘ग्यानोडर्मा च्याउ’ नेपालका विभिन्न जंगलमा पाइन्छ । विदेशीले पहिचान गरेको च्याउ हो ‘त्यो’ । यो च्याउका पहिचानसँगै ‘ग्यानोडर्मा कफी’ लोकप्रिय भएको छ । कफी स्वादमा बनेको यो च्याउको सेवनले ट्युमर उब्जिनबाट बचाउने, कलेजो बलियो हुने, मुटुको मांशपेशी तन्दुरुस्त हुने, मधुमेह रोगथाम हुने अधिकारीले प्रकाशन गरेको पुस्तक ‘नेपालका च्याउहरुः छोटो चिनारीमा’ उल्लेख गरेका छन् । उनले च्याउसम्बन्धी पुस्तक मात्रै ७ वटा प्रकाशन गरेका छन् ।

त्यसो त, पूर्वी एसियामा कुनै बेला ‘एमानिटा मस्क्यारिया’ च्याउलाई औषधि तथा लागू औषधिमा प्रयोग गरिन्थ्यो । उत्तरी रुसमा यसलाई दूध र चिनीसँग मिसाएर झिंगा मार्र्ने गरेको अनुसन्धानकर्ता रोल्फ सिंगरले प्रकाशनमा ल्याएको डा. अधिकारी उल्लेख गर्छन् । उनी भन्छन्, ‘हिमाली भेगमा च्याउको झुरबाट चुरोट सल्काउँछन्, त्यो मैले देखेको कुरा हो ।’

सिताके र कन्ने च्याउहरु बजारमा पाइन्छन् । यी च्याउहरु खेतीयोग्य च्याउ हुन् । डा. अधिकारी भन्छन्, ‘व्यावसायिक रुपमा उत्पादित बजारमा पाइने च्याउहरु अधिक खानु हुँदैन । जंगली च्याउ त झनै जताभावी टिपेर खाने कुरै भएन ।’

च्याउ कति खाने ?
बजारमा पाइने च्याउ कम्तीमा एक पटकमा दुई सय ग्राम पकाएर खान सकिन्छ । त्यसभन्दा अधिक भएमा पातलो दिसा लाग्न सक्छ । कतिपय मानिसलाई बान्ता पनि हुन सक्छ । अर्को कुरा च्याउ खाएपछि दही–दूध खान हुँदैन । मादक पदार्थ सेवनसँगै च्याउका परिकार खान नहुने डा. अधिकारीको भनाइ छ ।

च्याउको मुकुण्डो
‘मखुण्डे च्याउ’ उपत्यकाका नेवाः समुदायले गाईजात्रामा प्रयोग गर्दै आएका छन् । ‘ग्यानोडर्म एप्लानटम्’ भनिने प्रजातिका च्याउको आकार ठूलो र कडा हुन्छ । यो च्याउ मुस्ताङमा पाइन्छ । यस्ता च्याउबाट मुकुड बनेका हुन्छन् । त्यस्ता च्याउमा भएका विष नष्ट गरेर प्रयोगमा ल्याइन्छ । त्यसको काम सकिएपछि बजारमा बिक्रीमा राखेको पाइन्छ । जसलाई ४० हजारसम्ममा बिक्री गर्नेगरेको डा. अधिकारी बताउँछन् ।

च्याउ परीक्षण विधि
परम्परागत रुपमा मानिसहरुले च्याउ चिन्नका लागि विभिन्न प्रयोग गरेको पाइन्छ । चाँदीको चम्चा वा भाँडो प्रयोग गर्दा र प्याज वा लसुनसँग पकाउँदा भाँडो कालो हुने मान्यता राख्छन् । तर त्यस्तो नहुने अधिकारीको अध्ययनले देखाउँछ । उनका अनुसार, ‘गोबरमा उम्रने गोब्रे च्याउहरु अधिकांश विशालु हुन्छन् । तामाङ भाषामा त्यसलाई मङ्ग (कोपर स्यामो) भनिन्छ ।

जमिन वा माटोमा उम्रने च्याउ पनि विशालु हुन्छन् । रातो, सेतो, नीलो पहेँलो रङका चम्किला च्याउहरु विशालु हुन्छन् । छातामा कत्ला हुने अधिकांश च्याउ विशालु हुन्छन् । त्यसैगरी, चिप्लो छाता भएका, दुधालु, सडेगलेको बास्ना आउने च्याउ, रङ बदल्ने च्याउ, खैरो वा हरियो बीच भएका, च्याउ किरालागेका, वा चिप्ले किराले खाएका, च्याउमा ढुंसी आएका च्याउ, परालमा आफै उम्रेका च्याउ पनि खानयोग्य हुँदैन । तिनीहरु विशालु च्याउ हुन् । कतिपयले यस्ता च्याउमा टिमुर प्रयोग गरेर खान मिल्ने तर्क गरे पनि त्यस्ता च्याउ खान योग्य नहुने डा. अधिकारी बताउँछन् ।

सुरक्षित हुने कसरी ?
च्याउ कृषि उत्पादनसँग जोडिएको हुँदा जंगली विषालु च्याउका बारेमा कृषकलाई सूचित गर्नु पर्ने उनी धारणा राख्छन् । तर त्यसको प्रभाव न्यून देखिएको छ । कृषि विकास मन्त्रालयको व्यावसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारी पनि, ‘जंगली च्याउ खानयोग्य हो वा होइन भन्ने पक्का जानकारी नभई खान हुँदैन’ भन्छन् । उनी भन्छन्, ‘जंगली च्याउको बारेमा जंगल आसपासका बस्तीमा बस्ने मानिसहरुलाई घर–घरमा सूचना प्रवाह गर्ने सरकारी नीति तथा संस्कारको अभाव छ ।’

यद्यपि कीट विकास निर्देशनालयसँग जंगली च्याउ चिनाउने विभिन्न पोस्टरहरु छन् । तर त्यसलाई स्थानीय निकायसम्म पु¥याउन सकिएको छैन । नीतिगत तथा योजनाको अभावले केही हुन नसकेको निर्देशक हरिहर अधिकारीको भनाइ छ । त्योसँगै, बर्खासँगै जंगली च्याउ खाएर दर्जन मानिसको मृत्यु हुने गरेको छ तर सरकारले यकिन तथ्यांक राखेको पाइँदैन ।

स्वदेशी च्याउ, विदेशी अनुसन्धानकर्ता    
च्याउमा अनुसन्धान सन् १८३९ मा एमके वर्कले र सन्  १९०८ मा सीजी ल्वाइडले दुईवटा च्याउ नेपालको भनेर प्रकाशनमा ल्याए । त्यसपछि जेडी हुकर (१८४८), पोलिनिन, साइक्स, र विलियम्सले (१९५६), क्रेइजलले (१९७६), जोरस्टामले (१९८३), ओदा, तनाका, र शुदा (२००१–२००३)ले अध्ययन–अनुसन्धान गरेको ‘नेपालका च्याउहरु पुस्तक’मा डा. अधिकारीले उल्लेख गरेका छन् ।

सन् १९६६ मा एससी सिंहले काठमाडौंका बजारमा बेच्न ल्याइएका जंगली च्याउहरुमा अनुसन्धान गरेका थिए । त्यसपछि सन् १९७८ मा डा. अधिकारीले च्याउमा अध्ययन गरेको उनी बताउँछन् । भन्छन्, ‘मेरो नेतृत्वमा टोलीले सिसौको रुख मर्ने कारण पत्ता लगाएको थियो । त्यो रुख मर्नुमा सिसौको जरामा लागेको च्याउजन्य ढुसी थियो । उनका अनुसार विधिवत् रुपमा २०३२ सालबाट नेपालमा च्याउमा अध्ययन÷अनुसन्धानको  सुरुवात भएको देखिन्छ ।

बर्खाको समयमा वनजंगलमा पाइने च्याउमा अनुसन्धान गरी यसमा पाइने औषधिजन्य गुणको प्रयोग गर्न सकिने डा. अधिकारी बताउँछन् । ‘पहिचान भएका खानयोग्य च्याउलाई संकलन गरी वैज्ञानिक परीक्षण गरी विदेशमा व्यापार गर्न सकिन्छ, तर यस्तो काम राज्यले गर्न सकेको छैन,’ डा. अधिकारीको भनाइ छ ।

विगतमा त्यस्तो काम नेपाल विज्ञान प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, वनस्पति विभाग, बायोटेक्नोलोजी विभाग र वन मन्त्रालयले यसमा अध्ययन अनुसन्धान गर्न सक्छन् भन्नेमा डा. अधिकारी विश्वस्त छन् तर अहिले उनै  नास्टमा सचिव छन् ।

बजेट अभावमा सो कार्य गर्न नसकिएको उनी बताउँछन् ।
यार्सा गुम्बा पनि एक प्रकारको च्याउ (ढुसी) भएको अधिकारी बताउँछन् । त्यसलाई उत्पादन गर्न सकिन्छ । तर यसतर्फ कमैको ध्यानाकर्षण भएको डा. अधिकारी बताउँछन् । समुद्री सतहदेखि ५ हजार ५ सय सम्ममा च्याउ पाइन्छ । नेपालका हिमालमा पाइएको ‘सकेटियम हिमालीका’ यतिले खाएका च्याउ भनिन्छ । त्यो सिताके जस्तै डल्लो हुन्छन् । यस्ता च्याउलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सकिन्छ । हिम मानव यतिले खाएका भनेर प्रचार–प्रसार गर्न सकिन्छ । यसबाट राज्यले च्याउबाट आम्दानी गर्ने देखिन्छ ।

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad