coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सरकारी सुविधाका लागि रोहिन्जाका गाउँ ध्वस्त

यांगुन – सरकारी सुविधाका लागि म्यानमारमा रहेका रोहिन्जा मुसलमानका समग्र गाउँ ध्वस्त पारिएको समाचार बिबिसीले सार्वजनिक गरेको छ। रोहिन्जा मुसलमानको सम्पूर्ण गाउँलाई सखाप पारेर सरकारले त्यहाँ प्रहरीको ब्यारेक, सरकारी भवन र शरणार्थी पुनस्र्थापना शिविर बनाइएको बिबिसीले विवरण प्राप्त गरेको छ।

म्यानमार सरकारकै सरकारी यात्रामा गएको बिबिसीले कुनै बेला रोहिन्जाको वासस्थान रहेको क्षेत्रमा चारवटा सरकारी सुविधाका भवन बनाइएको देखेको छ। रोहिन्जाका वासस्थानमा सरकारी भवन बनाइएको भन्ने विवरण बाहिरिए पनि सरकारी अधिकारीहरुले भने त्यस्तो विवरणको खण्डन गरेका छन्। उनीहरुले विशेषतः रखाइन राज्यमा सरकारी भवन बनाइएको भन्ने विषयलाई अस्वीकार गरेका हुन्।

म्यानमारको रखाइन राज्य अल्पसंख्यक मुसलमान समुदायको वासस्थान रहेको क्षेत्र हो। रखाइन राज्यमै सरकारले  गरेको सुरक्षा कारबाहीका कारण सन् २०१७ मा सात लाखभन्दा बढी रोहिन्जा सो क्षेत्र छोडेर छिमेकी बंगलादेश पुगेका थिए। हाल बंगलादेशका विभिन्न शरणार्थी शिविरमा सात लाख ४० हजारभन्दा बढी रोहिन्जा मुसलमान शरणार्थी जीवन बिताइरहेका छन्।

रोहिन्जाका वासस्थानमा सरकारी भवन बनाइएको भन्ने विवरण बाहिरिए पनि सरकारी अधिकारीहरुले भने त्यस्तो विवरणको खण्डन गरेका छन्।

संयुक्त राष्ट्रसंघले तयार पारेको एउटा प्रतिवेदनमा म्यानमार सरकारले अल्पसंख्यक रोहिन्जामाथि ‘जातीय सफाया गरेको’ आरोप लगाएको छ। बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारले भने रोहिन्जा समुदायमाथि आफ्नो सेनाले जातीय सफाया र नरसंहार नगरेको बताउँदै आएको छ। उसले अहिले आएर बंगलादेशमा रहेका रोहिन्जा शरणार्थीलाई स्वदेश फर्काउन तयार रहेको पनि जिकिर गर्ने गरेको छ।

म्यानमार सरकारले रोहिन्जालाई फिर्ता लाने अभियान दुई पटक गरिसकेको भए पनि दुवै पटक सो प्रयास असफल भइसकेको छ। गत महिना उसले रोहिन्जालाई फिर्ता लानका लागि दोस्रो पटक प्रयास गरेको थियो। तर सो प्रयास सफल भने भएन। म्यानकारले स्वदेश लानका लागि तयार गरेका तीन हजार चार सय ५० जना रोहिन्जामध्ये कसैले पनि जान इच्छा देखाएनन्। उनीहरुले म्यानमारमा आफूहरुको सुरक्षा हुन नसक्ने र नागरिकता वा स्वतन्त्रता प्राप्त हुनेमा आशंका व्यक्त गर्न त्यसबेला स्वदेश फर्कन इन्कार गरेका थिए।

रोहिन्जा म्यानमार फर्कन नचाहनुको पछाडि बंगलादेशको हात रहेको यांगुनले आरोप लगाएको छ। उसले अझै पनि रोहिन्जालाई फिर्ता लान आफू तयार रहेको बताउँदै आएको छ। आफूहरु रोहिन्जालाई स्वेदश फिर्ता गराउनका लागि कति इच्छुक छौं भन्ने देखाउनका लागि म्यानमारले बिबिसीलगायतका कैयौं सञ्चारमाध्यमलाई रोहिन्जा मुसलमान बस्ने गरेको क्षेत्र देखाउन लगेको थियो।

रखाइन राज्य विशेषतः अत्यन्तै कडा सुरक्षा घेराभित्र राखिएको क्षेत्र हो। यस राज्यमा पहुँचका लागि अति नै कडा गरिएको छ। बिबिसीलगायतका अन्य सञ्चारमाध्यमका सञ्चारकर्मी सरकारी प्रतिनिधिसहित सो क्षेत्रमा पुगे पनि प्रहरीको सुपरिवेक्षणबिना उनीहरुलाई सो क्षेत्रको तस्बिर लिन वा त्यहाँका जनतासँग अन्तर्वार्ता लिन भने दिइएको थिएन।

सरकारी अधिकारीहरुले प्रतिबन्ध लगाए पनि बिबिसीले भने त्यहाँको विवरण संकलन गर्न सकेको बताएको छ। रोहिन्जाको आवास क्षेत्र रहेको ठाउँको भूउपग्रहमार्फत अध्ययन गरिरहेको ‘अस्ट्रेलियन स्ट्राजेटिक पोलिसी इन्सिच्युट’का अनुसार सन् २०१७ को हिंसापछि सरकारले रोहिन्जाका कम्तीमा पनि ४० प्रतिशत क्षेत्रलाई ध्वस्त बनाएको छ।

प्रकाशित: २५ भाद्र २०७६ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App