७ वैशाख २०८१ शुक्रबार
अर्थ

जलविद्युतमा निजी क्षेत्रको लगानी बढ्यो

काठमाडौं – निजी क्षेत्रले गत आर्थिक वर्षसम्म ८३ वटा जलविद्युत् आयोजनाबाट ५६० मेगावाट बिजुली उत्पादन गरेको छ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले पछिल्लो समय सशक्त ढंगले आफ्नो उपस्थिति देखाउँदै आएको छ। परिणामस्वरुप निजी क्षेत्रले कुल उत्पादनको २९ प्रतिशत हिस्सा ओगट्दै आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा सात अर्ब ५५ करोड युनिट (गिगावाट आवर) मध्ये प्राधिकरण मातहतका आयोजनाबाट दुई अर्ब ५५ करोड युनिट (३४ प्रतिशत) बिजुली उत्पादन भएको छ। निजी उत्पादकबाट दुई अर्ब १९ करोड युनिट (२९ प्रतिशत) उत्पादन भएको थियो। भारतबाट करिब तीन अर्ब ४७ करोड युनिट (३७ प्रतिशत) बिजुली आयात गरेको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पछिल्लो समय निजी क्षेत्रले जलविद्युत् क्षेत्रमा आक्रामक ढंगले लगानी गर्दै आइरहेको बताउँछन्। ‘जलविद्युत् आयोजनामा निजी क्षेत्रको उपस्थिति बढ्दै गइरहेको छ,’ उनले भने, ‘अहिले निजी क्षेत्रले कुल उत्पादनमा २९ प्रतिशतभन्दा धेरै योगदान गरेको छ।’ गत आर्थिक वर्षमा निजी क्षेत्रबाट सञ्चालित आठवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको थियो। जसबाट ४८ मेगावाट बिजुली उत्पादन भएको थियो। ‘ऊर्जा विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ,’ उनले भने, ‘निजी क्षेत्रको भूमिकालाई हामीले भुल्नै सक्दैनौं।’

८५ जलविद्युत्का प्रवद्र्धकसँग १४८० मेगावाटको पिपिए

उनका अनुसार जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउन तथा लगानीको अनुकूल वातावरण सिर्जना गर्न प्राधिकरण सधैं सकारात्मक रहँदै आइरहेको छ। सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आइरहेको दाबी गरे पनि निजी क्षेत्रले पनि सरकारबाट बेवास्ता भइरहेको गुनासो गरेका छन्।

माथिल्लो हेवाखोला जलविद्युत् कम्पनीका प्रवद्र्धक भीमलाल पौड्यालले सरकारी नीतिकै कारणले पछिल्लो समय निजी प्रवद्र्धक समस्यामा पर्दै आएको गुनासो गरे । ‘निजी क्षेत्रले जलविद्युत् क्षेत्रमा ठूलो लगानी गर्दै आइरहेका छन्। तर, बारम्बार सरकारको नीति–नियम फेरिँदा जलविद्युत्का प्रवद्र्धक धेरै मर्कामा परेका छन्,’ उनले भने, ‘अहिले जलविद्युत्का लगानीकर्ता बैंकको ऋण बुझाउन नसकेर धराशयी हुने अवस्थामा पुगेका छन्। त्यसैले सरकारले निजीको लगानी सुरक्षित हुने कदम चाल्नुपर्ने देखिन्छ।’

प्राधिकरणले गत आर्थिक वर्षमा निजी उत्पादकबाट १४ अर्ब १३ करोड रुपैयाँ बराबरको बिजुली खरिद गरेको थियो। त्यसैगरी, छिमेकी मुलुक भारतबाट २३ अर्ब तीन करोड रुपैयाँको बिजुली आयात गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले निर्यात भने ३२ करोड रुपैयाँ बराबरको गरेको थियो।

८५ जलविद्युत्का प्रवद्र्धकसँग १४८० मेगावाटको पिपिए
नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष जलविद्युत् आयोजनाका ८५ वटा प्रवद्र्धक कम्पनीसँग एक हजार चार सय ८० मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ। प्राधिकरणले बर्सेनि जलविद्युत् प्रवद्र्धक कम्पनीसँग सम्झौता गरेर विद्युत् खरिद गर्दै आएको छ। प्राधिकरणले हालसम्म तीन सय ४० स्वतन्त्र विद्युत् उत्पादनकर्तासँग ६ हजार ४४ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता गरेको जनाएको छ। प्राधिकरणका अनुसार निजी क्षेत्रबाट कुल दुई हजार ६ सय १३ मेगावाट बराबरको विभिन्न एक सय २० जलविद्युत् आयोजनाको आर्थिक स्रोत सुनिश्चित भई निर्माण भइरहेको जनाएको छ। त्यसैगरी, दुई हजार आठ सय ६९ मेगावाट बराबरका विभिन्न एक सय ३७ जलविद्युत् आयोजना कार्यान्वयनको विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०७६ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App