coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारी बिमामा ठगी : बिरामीलाई न औषधि न भर्पाइ

धनुषा - महोत्तरी, सोनमाका भुनेश्वर राय दिनदिनै अस्पताल दौड्नुपर्ने समस्याले हैरान थिए। कहिले बच्चा बिरामी, कहिले वृद्ध आमाबाबु त कहिले आफैं। एकपटक २५ सय रुपैयाँ तिरेपछि एक वर्षसम्म ५० हजार रुपैयाँबराबरको उपचार पाउने सुनेपछि खुसी हुँदै उनले बिमा गराए। तर सोमबार जनकपुर अञ्चल अस्पतालमा आफ्नै उपचारका लागि पुगेका उनले जब सर्तबमोजिम बिमाको औषधि पाएनन्, अनि दुःखी भए।

‘एकछिन त कर्मचारीलाई के गरौं, के गरौं जस्तो भयो। कर्मचारीलाई सोध्दा आन्तरीक समस्या रहेको बताए,’ उनले भने, ‘फार्मेसीमा बुझ्न खोज्दा त्यहाँ कर्मचारी झर्केर बोल्छन्। बिमाको काम यहाँ हुँदैन, बन्द भएको भनी सुनाउँछन्। आँफू ठगिएको हो कि जस्तो लाग्यो।’ परिवारका सबै सदस्यको स्वास्थ्य बिमा गराएका उनले सोमबार न उपचार न औषधि न त बिल भर्पाइ नै। बिमा बोर्डले सर्तअनुसारको सेवा नदिएपछि आजित भएका उनले आम सर्वसाधारणलाई सरकारले ठगी गरेको उनले आरोप लगाए। स्वास्थ्य बिमाको कार्ड गोजीमा राखेर पनि निजी फार्मेसीबाट औषधि किन्न बाध्य भएपछि बिमालाई तिरेको पैसा डुब्ने आशंकाले उनी निकै चिन्तित बने।

धनुषाको हंसपुर गाउँपालिका–७ का रजाबुल कवारीलाई पनि अस्पतालले औषधोपचार नगरी फर्काएको छ। कवारीले कर्मचारीलाई सोध्दा बिदा रहेको बहाना बनाउँदै आफूलाई फर्काएपछि निजी अस्पतालमा उपचार गराएको सुनाए।

‘सोमबार केको बिदा छ र अस्पतालमा पनि बिदा हुन्छ भनेर सोध्दा कर्मचारीले आफूलाई थाहा नरहेको भन्दै हप्काएर पठाए,’ उनले भने, ‘बीमा कार्ड बनाएको दुई वर्ष भए पनि अहिलेसम्म उपचार पाइएको छैन। आज त झन् न उपचार ग¥यो न औषधि दियो, न त बिल भर्पाइ नै। जनकपुर अञ्चल अस्पताल परिसरभित्रै रहेका निजी फार्मेसीबाट सशुल्क औषधि किन्दा स्वास्थ्य बिमा कार्डको के अर्थ ?’ उनले बिमाकर्ताले सर्तअनुसारको सेवासुविधा पाउनुपर्ने बताए।

बिमा बोर्डका प्रदेश २ संयोजक महेशप्रसाद ठाकुरले अञ्चल अस्पतालमा एक सातादेखि समस्या देखिएको भन्दै छिट्टै समाधान हुने बताए। ‘जुन फार्मेसीसँग सम्झौता भएको थियो, त्यसले औषधि दिन बन्द गरेको छ,’ उनले भने, ‘उपचार सेवा र उपलब्ध भएसम्म औषधि पनि दिएकै छन्।’ तर फार्मेसीको पैसा धेरै भएपछि औषधि दिन बन्द गरेको भन्दै अस्पतालको पनि कमकजोरी रहेको उनले उल्लेख गरे।

यता, जनकपुर अञ्चल अस्पताल खरिद एकाइ समिति अध्यक्ष डा. जामुनप्रसाद सिंहले बिमा बोर्डप्रति आक्रोशित हुँदै प्रतिक्रिया दिएका छन्। ‘अस्पतालले दोकानदारी गर्दैनन्, अस्पालले औषधि खरिद गर्छ १० रुपैयाँको, बिमा बोर्डले भुक्तानी दिन्छ तीन रुपैयाँको,’ उनले भने, ‘अर्को कुरा बिमा बोर्डले १७ सय आइटमका औषधि दिन भनेको छ तर बजारमा ती सबै औषधि पाइँदैनन्। सेवाग्राहीले औषधि पाएनन् भने अस्पतालमा विवाद गर्दिन्छन्।’

प्रकाशित: २५ भाद्र २०७६ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App