७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाली भूभाग डुबानमा

कपिलवस्तु - भारतद्वारा सीमावर्ती बझाहामा बनाइएको २८ वटा ढोकासहितको बाँधजस्तोे स्थायी संरचनाका कारण तीन सय बिघाभन्दा बढी नेपाली भूभाग डुबानमा परेको छ। मायादेवी गाउँपालिका–४ स्थित तुलसी डिहवामा, पिपराको तुल्सीडहवा गौरा गाउँ सेरोफेरोका धानखेत डुबानमा परेका हुन्। डुबानकै कारण दुई दशकयता कृषकले खेतीपाती राम्ररी स्याहार्नै पाएका छैनन्। भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षायाममा बन्द गर्ने गरेको कृषकहरू बताउँछन्।

‘बाँध’ मा रहेका नखोलिँदा तीन सय बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली पानीले डुबेको पिपराका जगदीशसिंह यादवले बताए। ‘सबै धान डुबेको छ। खेतको आली डुबेको छ,’ उनले दुःखी हुँदै भने, ‘चाँडै पानीको निकास नगरिए नेपालतर्फका सयौं कृषकले ठूलो क्षति व्यहोर्नु पर्नेछ।’

सरसापट, बैंकबाट ऋण लिएर धानखेती गरेका कृषकहरू धान डुबानमा परेको दुर्दसा देखेर निकै चिन्तित छन्। ढोका खोल्नका लागि आफूहरूले गेट खोल्ने कर्मचारीलाई रकम तथा अन्नपात दिने गरेको यादवले सुनाए। ‘गेट खोल्न लगाउन दुई हजार भारतीय रुपैयाँ, ५० किलो धान र ५० किलो गहुँ दिनुपर्छ,’ कृषकहरूको मर्का सुनाउँदै यादवले भने, ‘हरेक वर्ष दिने रकम र अन्नपात दिन तयार हुँदा पनि यो वर्ष गेट खोल्ने मान्छेले माथिको आदेश भन्दै फाटक खोल्न मानेका छैनन्।’

दुुई देशका अधिकारीबीच हुने समन्वयात्मक बैठकमा स्थानीय प्रशासनले तटबन्धले पार्ने समस्याबारे हरेकपल्ट कुरा उठाए पनि समाधान हुन सकेको छैन।

यादवका अनुसार भारतीयहरूले पानी धेरै भयो भने बाँधको ढोका बन्द गर्छन्, कम भयो भयो सिँचाइका लागि भन्दै बाँध खोल्छन् तर समाधानका लागि कसैले चासो लिएका छैनन्।’ तुलसी डिहवाका डुबानपीडित कृषक मोबिन अहमदले पूरै धान सखाप हुने अवस्थामा पुगेको छ तर समस्या समाधानका लागि सरकारीस्तरबाट पहल हुन नसकेको बताए। ‘अब कसरी परिवारको गुजारा चलाउने,’ उनले भने।

सीमावर्ती क्षेत्रको भारतीय भूभागमा पर्ने बझाहा तालको निकासी ढोका बन्द गरिँदा सो क्षेत्रमा रहेको ४७ नम्बरको सीमास्तम्भसमेत पानीमा डुबेको छ। करिब पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ। तालमा २८ वटा फलामका ढोका राखेर स्थायी संरचना बनाइएको छ। बझाहा क्षेत्रमा भारतले १० किलोमिटर क्षेत्रमा बाँधजस्तो संरचना बनाएको छ, जसको ढोका बन्द गरिँदा जमेको पानी निकास हुन पाएको छैन।

धेरै पानी जम्मा गर्न भारतीय पक्षले तालको तटबन्ध बर्सेनि अग्लो बनाउँदै आएको छ। सीमाक्षेत्रको बझाहा तटबन्धले बर्सेनि नेपाली कृषकलाई पीडा दिँदै अएकाले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने मायादेवी गाउँपालिका प्रमुख बजरंगीप्रसाद चौधरीले बताए। उनले वर्षायाममा तालमा कति पानी राख्ने भनेर प्राविधिकसँग सल्लाह गरी स्थानीय प्रशासनलाई दिनुपर्ने बताए। पीडितको मागलाई सम्बोधन गरी स्थानीय प्रशासनले भारतीय समकक्षीसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।

उनले तटबन्धका बारेमा संघीय र प्रदेश सरकार तथा प्रशासन कार्यालयलाई हरेक वर्ष स्मरण गराए पनि समस्या समाधान नभएको गुनासो गरे। स्थानीय प्रशासनले दुुई देशका अधिकारीबीच हुने समन्वयात्मक बैठकमा हरेकपल्ट सो तटबन्धले पार्ने समस्याको कुरा उठाए पनि समाधान हुन सकेको छैन।

प्रजिअ गजेन्द्रबहादुर क्षेत्रीले सीमावर्ती क्षेत्रमा रहेको स्थायी संरचनाका कारण सिर्जना भएको डुबानको समस्या विषयमा केन्द्रमा जानकारी गराएको उल्लेख गर्दै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए। उता, महली सागर मझौली तटबन्धका कारण पनि नेपालका सयौं बिघा जमिन बर्सेनि डुबानमा पर्ने गरेको छ।

प्रकाशित: २५ भाद्र २०७६ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App