७ वैशाख २०८१ शुक्रबार
समाज

‘सेनाभित्रको क्यान्सर निर्मूल पार्छु’

काठमाडौ - प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र रहेका भ्रष्टाचार र अनियमितता जस्ता गतिविधिप्रति कठोर ढंगले प्रस्तुत हुने बताएका छन्। मंगलबार प्रधानसेनापतिका रुपमा नेतृत्व सम्हालेको एक वर्षको अवधिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेनामा व्याप्त भ्रष्टाचार रुपि क्यान्सरलाई पूर्णरुपमा फ्याँकेर मात्र नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्। ‘संगठनभित्र क्यान्सरका रुपमा रहेका अवशेषले संगठनलाई दीर्घकालसम्म असर पु¥याउँछ। त्यसैले समयमै उपचार गर्नुपर्छ,’ उनले भने। क्यान्सर रुपि त्यस्ता अवशेषलाई औषधिले काम नगर्ने भएकाले त्यसलाई सर्जरी नै गर्नुपर्ने उनको भनाइ थियो।

सेनाको नेतृत्व सम्हाल्ने क्रममा उनले त्यस्ता विकृतिलाई अन्त्य गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका थिए। एक वर्षको अवधिमा थापाले संगठनभित्र आचारण सुधार र भ्रष्टाचार निर्मूलीकरणमा उल्लेख्य काम गरेका छन्। पहिलो एक वर्षलाई संगठनको विकास र सुधारको आधार वर्ष घोषणा गरेका उनले आगमी दुई वर्षलाई योजना कार्यान्वयनको वर्षका रुपमा लिएका छन्। त्यसका लागि आगामी वर्ष थप कठोर बन्ने र त्यसका लागि तयार रहन मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन्।

थापाले सजिलो बाटो हुँदा हुँदै पनि आफू संगठनको विकास र सुधारका लागि कठिन बाटोमा लागेको बताए। आफू संगठनमा कठोर ढंगले प्रस्तुत हुँदा कतिपय आफन्त र साथिभाइसँग पनि टाढिनु परेको उनको भनाइ थियो। ‘यथास्थितिमा रमाउन खोज्ने र परिवर्तन चाहनेकाबीचमा अनौठो घर्षण हुने गरेको छ,’ आफूले अघी सारेको परिवर्तनको लक्ष्यमा असहयोग गर्नेहरुप्रति लक्षित गर्दै थापाले भने। सेनाभित्रको विकृति अन्त्य नगरेसम्म आधुनिक सेना तयार पार्न नसकिने उनको तर्क थियो।

सेनाभित्र सुधारको प्रयास गत वर्षदेखि सुरु नभएको भए धेरै ढिलाई हुनसक्थ्यो भन्दै उनले विगतमा कसैको स्वार्थ पूर्तिका लागि गरिएका निर्णयले सेनालाई दीर्घकालसम्म असर गरेको बताए। उनले आफूले सुधारका लागि गरिरहेको प्रयास परिवर्तन स्वीकार गर्न नसक्ने र व्यक्तिगत फाइदा लिन चाहनेहरुलाई कठिन भइरहेको बताए। आफूले एक वर्षमा गरेको प्रयास सन्तोषजनक रहेको भन्दै थापाले सिमित स्रोत र साधनबाट पनि उपलब्धि हासिल गर्न सकिन्छ भन्ने अनुभव प्राप्त भएको बताए। प्रधानसेनापति थापाले आफूले शान्ति सेनामा जानेहरुका बारेमा आफूले गरेको निर्णयले कतिपय सेवारत र अवकाशप्राप्त जर्नेलहरुलाई समेत गाह्रो भएको बताए।

प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक

नेपाली सेनाको इतिहासमा पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक भएको छ। नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। उनले आफ्नो सम्पत्ति विवरण नेपाली सेनाको वेब पेजमा राखेका छन्। उनले यो वर्षदेखि रथी र अधिकृतको पनि सम्पत्ति विवरण सार्वजनिक गर्न सुरु गर्ने बताए। नेपाली सेनाभित्र हुने अनियमितताको छानबिन गर्ने अधिकार सरकार मातहतका संवैधानिक निकायलाई पनि छैन। जसले गर्दा नेतृत्वमा पुग्नले व्यापक आर्थिक अनियमितता गर्ने गरेको आरोप विगतका सेना प्रमुख तथा उच्च तहका अधिकारीमाथि लाग्ने गथ्र्याे। यसपटक प्रधानसेनापतिले आफैंले सम्पत्ति विवरण सार्वजनिक गरेर अन्य उच्च अधिकारीहरु र अधिकृतलाई समेत आर्थिक रुपमा पारदर्शी हुने दबाब सिर्जना गरेका छन्।

उनले भ्रष्टाचार नियन्त्रणका लागि मंगलबारदेखि नै निरीक्षणअधिकृतको अध्यक्षतामा विशेष संयन्त्र गठन गरेका छन्। उक्त संयन्त्रले जानकारीबिनै सैन्य अधिकारीको आर्थिक गतिविधिमाथि अनुसन्धान गर्न सक्नेछ। उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको विभिन्न बैंकमा झण्डै २४ लाख रुपैयाँ नगद रहेको छ। त्यस्तै श्रीमती र छोरीका नाममा विभिन्न बैंक तथा हाइड्रो पावरमा गरी ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उनको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र एउटा १० लाख बराबरको हार रहेको उल्लेख छ।

उनीसँग व्यक्तिगत रुपमा २२ लाख ५० हजार रुपैयाँमा खरिद गरेको फोर्ड फिगो कार रहेको उल्लेख र विभिन्न बैंकबाट सवारी साधन तथा घरसापटी लगायतका लागि लिएको करिब ८० लाख ऋण पनि उल्लेख गरिएको छ। प्रधानसेनापति थापा, श्रीमती दीपा थापा र छोरी रुरुका नाममा काठमाडौं, लमजुङ र नवलपरासीमा जग्गा रहेको उल्लेख गरिएको छ। उक्त जग्गामध्ये कतिपय जग्गा उनले संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डका रुपमा जिम्मेवारी सम्हाल्दा प्राप्त आम्दानीको रकमले खरिद गरेको जनाएका छन् भने कतिपय जग्गा श्रीमतीको माइतीबाट, पैत्रिक सम्पत्ति र आमाबाट बकसपत्र पाएको उल्लेख गरिएको छ।

सेना बाधक बन्दैन
प्रधानसेनापति थापाले संक्रमणकाल टुंग्याउनका लागि सेना बाधक नबन्ने जनाएका छन्। उनले संक्रमणकालका बाँकी काम टुंग्याउनका लागि नेपाली सेनाका तर्फबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली सेनालाई कमजोर बनाउन प्रयास हुनसक्ने भन्दै त्यसबाट सचेत हुनुपर्ने बताए। सेनाको दायित्व सिमित हुन नसक्ने भन्दै उनले राष्ट्रिय दायित्व पुरा गर्न सदा तत्पर रहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठनका आगामी कार्यायोजना, सकलदर्जाको वृत्ति विकासका लगायतका क्षेत्रमा महŒवपूर्ण काम अघि बढाउने योजना सार्वजनिक गरेका छन्। उनले अब सैनिक संगठनलाई शून्यबाट सुरु गर्ने वा गन्तव्यमा नपुग्ने अवस्था सधैंका लागि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २५ भाद्र २०७६ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App