coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चार वर्षमा २० अर्ब राजस्व संकलन

रसुवा – २०७२ वैशाख १२ गतेको भूकम्पपछि व्यापारिक कारोबार सुरु भएको रसुवागढी नाकामा आयात तथा निर्यात बढ्दै गएको छ। नेपाल–चीनबीच मालसामान आयात निर्यात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको छ।

रसुवागढी भन्सार कार्यालयले चार वर्षमा २० अर्बभन्दा बढी राजस्व संकलन गरिसकेको छ। नाका सञ्चालन भएयता राजस्व संकलन पनि निरन्तर बढ्दै गएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। तथ्यांकअनुसार चार वर्षमा २० अर्ब १६ करोड १२ लाख २७ हजार सात सय ४४ रुपैयाँ राजस्व संकलन भएको हो।

आर्थिक वर्ष ०७२/७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आव ०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार र गत आव ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार राजस्व संकलन भएको छ। यसमा चालु आव ०७६/७७ को तथ्यांक समावेश गरिएको छैन।

सरकारले नीति परिवर्तन गरेको, सामग्री आयात बढेको, सामग्री मूल्यांकनको पार्ट बढेको, विदेशी मुद्राको भाउ बढेको र विकास निर्माण सामग्री आयात बढेको कारण राजस्व संकलन वृद्धि भएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

रसुवागढी नाकाबाट रेडिमेड सामग्री, इलेक्ट्रोनिक सामग्री र विमानस्थल निर्माणका लागि चाहिने सामग्री आयात भइरहेको छ। सामग्री आयात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको छ।

सामग्री आयात तथा निर्यातका लागि बाहिरी जिल्लाका व्यापारी तथा चालक जान नपाउँदा समस्या हुँदै आएको व्यापारी बुद्धराज बस्नेतले बताए। ‘वान डे पास दिने भनेको लामो समय भयो,’ उनले भने, ‘तर, अहिलेसम्म यसको कार्यान्वयन हुन सकेन।’ यसका लागि सरोकारवाला निकायले पहल गर्नुपर्ने उनको भनाइ थियो।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामान, मैदा, चिउरालगायत सामग्री निर्यात भइरहेको छ।

प्रकाशित: २५ भाद्र २०७६ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App