८ वैशाख २०८१ शनिबार
कला

भाइरल बनेकी ११ वर्षीय कमला को हुन्?

धादिङ– दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन्। दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ।

कमला उमेरले ११ वर्ष लागिन्। बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा उनको जन्म भयो। ९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन्। विद्यालयका प्रतियोगीतामा भाग लिई कुनै न कुनै पोजिसन जितेकै हुन्छिन्। गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्। 

परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन्। न कसैले गीत गाउँछन् न त उनको गीतमै रमाउँछन्। ज्याला मजदुरी र घरायसी काम गरेरै बिहान बेलुकाको छाक टार्दै आइरहेको कमलाका आमा देवकी घिमिरेले छोरीले दुःख र संघर्षको गीत गुन्गुनाइ रहने बताइन्। ‘छोरीको प्रगति देखेर खुसी लागेको छ’, खुसीको आशु निकाल्दै उनले भने, ‘भगवानले छोरीको प्रतिभालाई चिन्यो।’

कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थिन्। गाउँमा हुने कार्यक्रम र विद्यालयमा पनि अनिवार्य रुपमा उनको सहभागीता हुन्थ्यो। कार्यक्रममा सहभागी भई पुरस्कार समेत जितिसकेको उनकी आमा देवकीले बताइन्। ‘सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुन्थिन्, रेडियो, टिभीमा बजेको गीतका भाकाहरु टपक्कै टिप्थिन्’, उनले भने, ‘पहिले विद्यालय र छिमेकमा मात्रै सिमित थियो, अहिले छोरीको प्रतिभालाई सबैले चिनेका छन्।’ 

मध्यमस्तरको परिवारमा जन्मिएकी कमला दुखैले हुर्किइन्। बिहे गरेको तीन वर्षमा श्रीमान सम्पर्क बिहीन हुनु र परिवारको आर्थिक भार आफ्नो काँधमा आउनुको पीडा कमलाकी आमा देवकी जिन्दगीभर भुल्न चाहदिनन्। एक वर्षको काखे छोरीलाई जेनतेन दुःख गरेर हुकाईन्। घरको आर्थिक अवस्था धान्न धौँ धौँ परिरहेको बेला श्रीमानको अत्तोपत्तोले दिनहरु आशुको सहारामा गुजारिन्। सासुससुरा, नन्दआमाजु छरछिमेकीको हेला, छिमेकीको तिखो बाण सहदै पाँच वर्ष गुजारिन्। पाँचवर्षपछि सम्पर्कमा आएका श्रीमानले अर्को श्रीमती ल्याए। 

सासु ससुरासँग छुट्टै बस्दै आइरहेका देवकीले २०७२ बैशाखमा गएको भूकम्पपछि अनुदानको रकमले घर बनाइन्। अहिले छोरा र छोरीसँगै बस्दै आइरहेकी छन्। आमाको माया र साथले उनलाई निरन्तर प्रगति पथमा लम्काइरहेको छ। आमाले गरेको दुःख र संघर्ष उनले नजिकबाट नियालिरहेकी छन्। त्यसैले उनले आमाको संघर्ष र आशुलाई गीत मार्फत यसरी व्यक्त गर्छिन्। 

हे सानैदेखि हुर्के म काखमा 
नरोउ आमा म छु नि साथमा
चौतारीको वर, पिपलुको भर, 
छैन परपर मलाई माया गर...

नीलकण्ठ नगरपालिकाको वडा नं १२ स्थित पशुपति माद्यमिक विद्यालयमा अध्ययनरत छिन्। भविष्यमा के बन्ने भने खास लक्ष्य छैन। उनले अहिलेका चर्चित कलाकार प्रकाश सपुत, अन्जु पन्तको नाम सुनेको बताइन्। सानैदेखि आमाको संघर्ष नियालिरहेकी उनले गीतका टुक्काहरु पनि त्यस्तै खाले बनाउने गर्छिन्।  

यसरी बनिन् भाइरल

भदौ ७ गतेको दिन। नीलकण्ठ नगरपालिका वडा नं १२ रिजालडाँडामा तीज विशेष कार्यक्रम तथा प्रतियोगीताको रौनक थियो। प्रगतिशील महिला समूहले आयोजना गरेको तीज गीत प्रतियोगीता हेर्न गाउँभरिका मानिसहरु भेला भए। प्रतियोगीता सुरु भयो, कार्यक्रममा दोहोरीका भाकाहरु गुन्जन थाल्यो। केही बेरमा प्रतियोगिता सकियो र निर्णय पनि सुनाइयो। कार्यक्रमको अन्तिम भइसकेको थियो। 

कार्यक्रममा निर्णायकको भूमिका निर्बाह गरिरहेका रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत संचारकर्मी तथा गायक अमृत सापकोटा समक्ष कसैले दोहोरी गीत गाउने प्रस्ताव राखे। सापकोटाले सहजै स्वीकार गरे। एकैछिनमा रातो र गुलाबी रंग मिसिएको लेहेङ्गा लगाएकी सानी बहिनी स्टेजमा पुगिन्। माइक समातिन् र दोहोरी गीत गाउन थालिन। 

‘आकाशमा चिल घुम्यो फनन, कान्छा तिम्रो नाम के हो भनन्, गलबन्दी च्यातियो तिम्ले तानेर...’ ११ वर्षीय कमला घिमिरेको यो प्रस्तुतिले कार्यक्रममा सहभागी सबैको ध्यान तान्यो। सहभागीले आफूसँग भएको मोबाइल निकालेर फोटो, भिडियो खिच्दै गीतमा रम्न थाले। करिब १६ मिनेट जति कमला र अमृतको दोहोरी चल्यो। गीतमा माया प्रिती, दुःखसुख तथा सामाजिक परिवेश झल्केको थियो। बालिकासँग दोहोरी खेलेका सापकोटालाई गीतमा उत्तर दिन हम्मे हम्मे परेको थियो। 

कार्यक्रम सकियो, सबै आ–आफ्नो घर लागे। सानी बहिनीले दमदार प्रस्तुति दिएपछि   संचारकर्मी सापकोटाले आफ्नो मोबाइल खिचेको भिडियो, फोटो हेरे। भोलिपल्ट आफ्नै युटुब च्यानलमा अपलोड गरिदिए र सामाजिक संजालमा सेयर गरे। अतः सानै उमेरमा दमदार र मार्मिक शब्दहरुले सबैको मन जित्यो। केही दिनमै उनले गायकको गीत युटुबको टेन्डिङमा पर्यो। चारैतिर कमलाको खोजी हुन पुगेको सापकोटाले बताए। 

सामाजिक संजाल फेसबुक, युटुबमा कमला भाइरल भएकी छन्। उनको गीतको प्रशंसा गर्नेहरु धेरै भेटिएको संचारकर्मी सापकोटाले बताए। ‘सानै उमेरमा दोहोरी खेलेर सबैलाई टक्कर दिने क्षमता बहिनीमा छ’, उनले भने, ‘अवसर पाए उनको भविष्य सुन्दर छ।’ आफूले राखेको भिडियोले कमला बहिनीको प्रतिभालाई चिनाउन पाउँदा खुसी र हर्षित भएको उनले सुनाए। अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन्। उनको कला हेर्न काठमाडौँदेखि नै कलाकारहरु धादिङका आउने गरेका छन्।  

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App