८ वैशाख २०८१ शनिबार
समाज

मिनी बसपार्कमा छाडा पशुचौपाया

file photo

भजनी- कैलालीको टीकापुर नगरपालिकाले निर्माण गरेको टीकापुरको मिनीबसपार्क क्षेत्र छाडा पशु चौपायाको बासस्थानको रुपमा परिणत हुँदै गएको छ।     

आर्थिक वर्ष २०७४/७५ मा करीब २० लाख रुपैयाँ नगरपालिकाबाट र बाँकी उपभोक्ता समितिमार्फत जनश्रमदान गरी निर्माण गरिएको मिनी बसपार्क नगरप्रमुखले उद्घाटन गरेपनि पछिल्लो समय बसपार्क प्रयोगविहीन हुँदा छाडा पशु चौपायाको बासस्थान बनेको छ। त्यस्तै निर्माण कम्पनीका ठेकेदारहरुको निर्माण सामग्री भण्डारण गर्ने थलो बनेको छ।     

टीकापुरको खड्कचोकलाई मिनी बसपार्कको रुपमा सडक छेउमै यातायातका साधन रोक्ने र यात्रु पर्खने गर्दा दुर्घटनाको उच्च जोखिम भएको भन्दै नगरपालिका, बस व्यवसायी समिति र उपभोक्ता समितिबीच सहमति भई मिनी बसपार्क निर्माण गरिएको थियो।     

मिनी बसपार्कमा भौतिक संरचना निर्माण भएसँगै यातायातका साधन बढीमा एक महीनासम्म नगरपालिका, प्रहरी प्रशासनको कडाइका कारण मिनी बसपार्कमा रोकिए पनि पुनः खड्कचोकमै केन्द्रित भए।

खड्कचोक लगायत बजार क्षेत्रमा यात्रु पर्खने गरी सवारीसाधन नरोक्ने भन्दै कडाइ भएपछि बस व्यवसायी समितिले एक दिन सवारीसाधन नै बन्द गरे। खड्कचोकदेखि बजार क्षेत्रमै सवारीसाधन रोक्न थालियो।

तत्पश्चात मिनी बसपार्क प्रयोगविहीन हुँदै गयो र छाडा पशु चौपायाको बासस्थान बन्यो। नगरपालिकाले मुख्य सडकमा यात्रु झार्न र चढाउनका लागि भन्दै साइनबोर्डसमेत राखियो। तर, हालको अवस्थामा न त ती साइनबोर्डको नै कार्यान्वयन भएको देखिन्छ न त मिनी बसपार्क प्रयोगमा नै आएको।     

टीकापुर नगरपालिकाले गर्ने अधिकांश कार्यक्रममा मिनी बसपार्क सञ्चालन गर्न र छाडा पशु चौपाया व्यवस्थापनका लागि कुरा उठ्ने गरेता पनि नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले छाडा पशु चौपाया व्यवस्थापन गर्न ठूलो चुनौती रहेको बताएका छन्।

उनले छाडा पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाले १० हजारसम्मको निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्दासमेत प्रभावकारी नभएको बताउँदै बीमा गरिएका चौपायाको कानको ट्याग काट्ने त कतिपयले त चौपायाको कानै काटेर छाडा छाड्ने गरेको र छाडा पशु चौपाया व्यवस्थापनका लागि बनाइएको काञ्जीहाउसमा समेत पशु चौपायालाई व्यवस्थापन गर्न कठिन भइरहेको बताए।     

“छाडा पशु चौपाया व्यवस्थापन गर्न निकै चुनौती छ। एकाध स्थानीय तहले चाहेर छाडा पशु चौपाया व्यवस्थापन गर्न सकिँदैन”, नगरप्रमुख रावलले भने, “मिनी बसपार्क सञ्चालनको विषयमा पुनः यातायात व्यवसायीसँग छलफल गरी सञ्चालनमा ल्याइनेछ।” नगरप्रमुख रावलले निर्माण गरिएका संरचनालाई प्रयोगमा ल्याउनु स्थानीय सरकारको कर्तव्य रहेको बताउँदै बस व्यवसायी समितिसँगको छलफल प्रभावकारी हुन नसकेका कारण मिनी बसपार्क सञ्चालन हुन नसकेको बताए।     

सिटी बसपार्क आसपासका स्थानीयवासीले छाडा पशु चौपायाका कारण करेसाबारी लगाउनसमेत छोडेको स्थानीयवासी प्रेमबहादुर कठायतले बताए। उनले एक कठ्ठा जग्गामा एउटा घर निर्माण गरी बाँकी रहेको जग्गामा करेसाबारी गर्ने स्थानीयवासीले छाडा पशु चौपायाका कारण केही करेसाबारी लगाउन छोडी बाँझै राख्ने गरेको बताए।

“हामी किसान छाडा पशु चौपायाका कारण आजित भइसकेका छौँ। लगाएको कुनै बाली भित्र्याउन पाएका छैनौँ”, कठायतले भने, “मिनी बसपार्क हाम्रा लागि झनै ठूलो समस्या भएको छ। बजारभरिका छाडा पशु चौपायाको बासस्थान मिनी बसपार्क भयो। वरपरका हामी स्थानीयवासीलाई ठूलो समस्या आए पनि स्थानीय सरकारले कुनै पहल गरेको छैन।” रासस

प्रकाशित: २४ भाद्र २०७६ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App