७ वैशाख २०८१ शुक्रबार
राजनीति

महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने

काठमाडौं—आगामी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफल टुङ्गोमा पुग्ने भएको छ। 

व्यवस्थापिका–संसद्को बैठकपछि आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख ओनसरी घर्तीले महाभियोगका विषयमा लामो समयसम्म छलफल गर्नेभन्दा पनि छिटो टुङ्ग्याउन आफूले प्रमुख दलका नेतालाई अनुरोध गरेको र प्रतिनिधिमूलक ढङ्गले कुरा राख्न प्रमुख सचेतकमार्फत सांसदलाई आग्रह गरेको जानकारी दिइन्। 

महाभियोग प्रस्तावमाथिको छलफलमा हालसम्म ५१ सांसदले आफ्नो धारणा राखेका छन्। बाँकी ३० सांसदले बोल्न नाम लेखाएका छन्। सभामुखका अनुसार हाल ३३ विधेयक छलफलका क्रममा छन्। 

प्रमुख विषयमा राजनीतिक दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै उनले पछिल्ला दिनमा लगातार भइरहेका बैठकले समेत सहमतिको वातावरण तयार पारेको जिकिर गरिन्। 

प्रमुख दलको सहमतिबिना महाभियोग लगायत राष्ट्रिय कार्यसूचि अगाडि बढ्न नसक्ने भएकाले त्यसमा ध्यान दिन आफूले आग्रह गरेको उनको कथन थियो। संविधान कार्यान्वयनसँग जोडिएका विधेयकलाई प्रमुखताका साथ अगाडि बढाउन आफूले बिहानको समयमा समितिको बैठक राख्न र अपराह्न मात्रै सदनको बैठक राख्ने गरी समय मिलाएको जानकारी दिइन्। 

'संविधान कार्यान्वयनसँग जोडिएका विधेयक र अन्य विधेयकलाई सँगै लैजानुपर्छ भन्ने सोचका साथ समय व्यवस्थापन गरिएकाले सहजता हुन्छ भन्ने मैले विश्वास गरेको छु', सभामुखले भने। रासस 

प्रकाशित: ३ मंसिर २०७३ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App