coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विपिलाई सम्झिँदै प्रदीप गिरीले भनेः अरुको विकासको मोडल नक्कल नगरौं, वैकल्पिक बाटो खोजौं

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताएका हुन्। स्वर्गीय विपि कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने  कुरा बताउदै आएको स्मरण गर्दे उनले विपिले देखाएको बाटोमा हिड्न आग्रह गरे।

उनले भने, ‘कुनै पनि विकास कुनै पनि समाजवाद कुनै पनि  साम्यवाद मनुष्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ।  मनुष्य साध्य हो। मनुष्य साधन होइन। केही हुँदैन विकास हुँदैछ। दुई चारवटा मान्छे मरे मरुन। दुईचार महिला बलात्कृत भए हुन्, भन्न पाइँदैन। प्रत्यक मनुष्य साध्य हो। त्यो विपिको मान्यता छ।’

विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर  र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे।

उनले भने, ‘विपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन। म नेपालका पिएचडीलाई, डाक्टरलाई , बुद्धिजीवीलाई , विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु।’

विपीले सधै ‘चहराइरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजारी र गुप्त बेरोजारी सम्बोधन गर्न तथा ठुलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दे उनले विकासका बारेमा विपीले देखाएको बैकल्पिक बाटोतर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै सांसद अनिल कुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुर्नस्थापनाको काम प्रभावकारी रुपमा संञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए। प्रत्येक बर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उनले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पुर्व तयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए।

सांंसद रंगमति शाहीले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपुर्ति लगायत कुनै पनि क्षेत्रमा सरकार प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गरे। साइकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेलसंग कर असुली गर्न नसकेको आरोप पनि उनले लगाए।

उनले भने, “खाली हात जाने कि भरि हात जाने भनेर हामीलाई चिन्ताको विषय भएको छ। जनताको माझ के सन्देश लिएर जाऊ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ। टिकट काट्नका लागि आव्हान गर्नुहुन्छ। जनता लाईनमा छन्। जनताले टिकट पाएका छैनन भनेर जाम कि? मेलम्चीको पानी बगर काठमाण्डौका खाल्डा खुल्डीमा पानी भरिएको छ। ती खाल्डामा पानी जहाज चलेका छन् भनेर सन्देश लिएर जाम कि?”

प्रकाशित: २४ भाद्र २०७६ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App