coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वीच थिचेर गरे ओली-मोदीले पाइपलाइन उद्घाटन

काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार उद्घाटन गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत् आ–आफ्नो मुलुकबाट संयुक्त रुपमा स्विच थिचेर भारतको मोतिहारीबाट नेपालको अमलेखगंजसम्म विच्याइएको सो पाइपलाइन परियोजनाको उद्घाटन गरेका हुन्।

नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसबाट संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत एकैसाथ स्विच थिचेर सो परियोजनाको उद्घाटन गरे। यो पाइपलाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजना हो। यो परियोजनाबाट नेपालले सस्तो, शुुद्ध र विना रोकावट पेट्रोलियम पदार्थको उपयोग गर्न पाउने अवसर प्राप्त गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

विगतमा ढुवानी अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको हाराकार हुने समस्या अव सो परियोजनाबाट पेट्रोलियम पदार्थ आउने भएपछि  समाधान भएर जानेछ। अर्थमन्त्री खतिवडाले भारतको सहयोगमा सो परियोजनाको काम सम्पन्न भएसँगै अव एलपी ग्याँस पनि पाईप लाईनमार्फत् ल्याउने परियोजनालाई अघि बढाउन पनि बाटो सहज भएको प्रतिक्रिया दिए। त्यसका लागि उर्जाको कनेक्टिभिटी र दुई मुलुकबीच रेल सेवा संचालनमा पनि जोड दिइएको अर्थमन्त्री खतिवडाको भनाई छ।

पहिलो चरणमा  सो पाईपलाईनबाट डिजेल ल्याउने काम सुरु गरिएको छ। त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ। मोतिहारी–अमलेखगंज पाईप लाईनको दुरी ६९ दशमलव २ किलोमिटर छ। सो पाइपलाइनबाट दैनिक करिव ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ नेपाल भित्र्याउन सकिने परियोजनाको भनाई छ। सो परियोजनाबाट पेट्रलियम पदार्थ भित्र्ने काम आजैबाट सुरु भएकाले यसको ढुवानीमा हुने खर्च बचत हुनेछ। नेपाल आयल निगमका अनुसार पाईपलाईनबाट पेट्रोलियम पदार्थ ल्याउन थालेपछि नेपाल आयल निगमको वार्षिक दुई अर्व भन्दा बढि ढुवानी खर्च बचत हुनेछ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच सो परियोजना अघि बढाउने समझदारी सन् २००४ सालमा भएपनि एक दशकपछि आएर प्रधानमन्त्री ओलीको पालामा यसलाई अघि बढाउन उच्चस्तरीय सहमति गरिएको थियो। सोही सहमति अनुसार एक वर्ष अघि प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले सो परियोजनाको संयुक्त रुपमा शिलान्यास गरेका थिए। परियोजनाको लागत २ अर्व ७५ करोड भारतीय रुपैँया रहेको छ।

प्रकाशित: २४ भाद्र २०७६ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App