coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

व्यक्तिगत आकांक्षामा देशको भविष्य

दैनिकरूपमा सैकडौँ नेपाली खाडीको गर्मीमा पसिनासँग पैसा साट्न जान्छन्। झिनो संख्यामा केही विकसित मुलुक पुग्छन्, अध्ययनको मेसो मिलाएर। अध्यागमन नीति कडा भएको मुलुकमा स्थायीरूपमा बस्न सम्भव भएन। उनीहरूका लागि देश फर्कनु बाध्यता हो। तर परिश्रम गरी घरबास गर्न सहज भएका संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडा जस्ता मुलुकमा धेरै नेपाली स्थायी बासिन्दा बनेका छन्। परदेशमा सहज अवस्था हुँदाहुँदै पनि केही नागरिक भने स्वदेश फर्किएका देखिन्छ। त्यस्तो अवस्थामा फलानोले यति रुपियाँको जागिर छाडेर नेपाल फर्किए भन्ने खबर छापाको अग्रभागमा आउँछ। चर्चाको विषय बन्छ। तर अर्थशास्त्रको प्रचलित ‘अन्ट्राप्रिनुर थ्यौरी’ ले खाडीमा काम गर्ने, पाश्चात्य मुलुकमा घरजम गर्ने र विदेशको सुख त्यागेर नेपाल फर्कनेका बीच तात्विक फरक देख्दैन। सबै समूहका मानिसको अन्तिम लक्ष्य व्यक्तिगत फाइदाभन्दा अन्यथा होइन भन्छ उक्त सिद्धान्तले।

परिवार तथा आफ्नो व्यक्तिगत फाइदा नै सबै तप्काका मानिसको अभीष्ट देखिन्छ। खाडी जाने, पाश्चात्य मुलुक पुग्ने र नेपाल फर्कनेको अन्तिम लक्ष्य स्वयम्को भलोमात्र छ। व्यापारिक प्राणी भएकाले जता जाँदा फाइदा हुन्छ, नागरिक त्यतै लाग्छ भन्ने ‘अन्ट्राप्रिनुर थ्यौरी’ को निचोड हो। अझ नोबल पुरस्कार विजेता अर्थशास्त्री महमद युनिस मानवले विगतमा पनि आफ्नो फाइदाका लागिमात्र काम ग-यो, अहिलेसमेत त्यही बाटो हिँड्दैछ र भविष्यमा पनि उसले मार्ग परिवर्तन गर्दैन भन्नसमेत हिच्किचाउँदैनन्।

विद्यावारिधि गरेका बाबुरामको गैरराजनीतिक चरित्रबाट वाक्क भएका नेपालीमा साझा र विवेकशीलको फाटोले अध्ययन र राजनीतिबीच समानुपातिक सम्बन्ध नभएको देखाएको छ। पढे/लेखेका मानिसले राजनीति गरे राम्रो हुन्थ्यो भन्ने भ्रम यसले टुटायो।

सन् २००९ मा यस पंक्तिकारले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्याल्टेक) मा अनुसन्धान सुरु गर्दा प्राध्यापक डायन न्युम्यानले क्याल्टेक छाडेर म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) जाने तयारीमा थिइन्। क्याल्टेक र एमआइटी विश्वका उत्कृष्ट अनुसन्धान निकाय हुन्। त्यसैले अनुसन्धानको हिसाबमा एउटा प्राध्यापक क्याल्टेकबाट समकक्षी एमआइटी सर्नुको कुनै औचित्य थिएन। क्याल्टेकमा गर्न नसकिने विज्ञान त्यहाँ हुने होइन। नभन्दै दुई वर्ष नबित्दै डा. न्युम्यान प्राध्यापककै हैसियतमा फेरि क्याल्टेक फर्किइन्। स्थानान्तरणका सम्बन्धमा प्रश्न सोध्दा क्याल्टेकले भन्दा बढी सुविधा दिएकाले एमआइटी गएँ, अनि त्यहाँ भन्दा अझ अधिक सहुलियत पाएकाले फेरि यहाँ आएँ भन्न हिच्किचाइनन् उनी।

त्यस्तै क्याल्टेकका अध्यक्ष जिनलु सुमो सन् २०१३ मा आफ्नो अवधि नसकिँदै पदबाट राजीनामा गरी साउदी अरबमा भर्खर खुलेको विश्वविद्यालयको नेतृत्व गर्न गए। प्रतिव्यक्तिका हिसावमा नोबल पुरस्कार पाउने वैज्ञानिक उत्पादन गर्ने संसारकै दोस्रो महाविद्यालय क्याल्टेकको नेतृत्व छाडेर डा. सुमो भर्खर जन्मिएको युनिभर्सिटीको नेतृत्व गर्न खाडी जानुको कारण व्यक्तिगत लाभभन्दा अन्यथा देखिएन। विज्ञानमा समेत ‘अन्ट्राप्रिनुर थ्यौरी’ ले कसरी प्रभाव पा-यो भन्ने उदाहरण भए यी परिदृश्य। केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले विदेशमा काम गर्ने वैज्ञानिकहरूलाई नेपाल फर्कन आह्वान गर्दैैै एउटा कार्यक्रम ल्यायो। शायद कार्यक्रम ल्याउँदा नास्टको नेतृत्वले विदेशमा स्थापित वैज्ञानिकहरू साँच्चिकै स्वदेश आउँछन् भन्ने आशा गरेको थियो वा उक्त अपिल केवल राजनीतिक श्रृंखला थियो भन्न गाह्रो होला। अनि विदेशमा स्थापित कति वैज्ञानिकले नास्टमा जागिरका लागि आवेदन हाले र कसले उक्त पद हत्यायो, त्यो पाटो यो आलेखको लक्ष्य होइन।

मानिस व्यापारिक प्राणी भएकाले विदेशमा स्थापित भएका कुनै पनि वैज्ञानिक आफ्नो आर्थिक उन्नयन र तुलनायोग्य अनुसन्धानको अवसर नभएसम्म स्वदेश फर्कर्दैन। संभ्रान्त मुलुकले दिने सुविधा र तुलनात्मक अनुसन्धानको अवसर काठमाडौँले दिन नसक्ने भएकाले नास्टको उक्त कार्यक्रमले लक्षित समूहलाई आकर्षित गर्न सक्ने अवस्था आएन र नतिजासमेत फरक आएको छैन। अब नास्टले कसरी नेपाली जनशक्तिको सिप उपयोग गर्न सक्छ भन्नेतर्फ हेरौँ ः

विदेशमा धेरै नेपाली वैज्ञानिक स्थापित भएका छन्। नवीन प्रकृतिका काम गरेका छन् उनीहरूले। स्तरीय अनुसन्धानकर्ताले तद्नुरूपको सुविधा पाउनु अन्यथा भएन। संयुक्त राज्य अमेरिकाको एउटा स्तरीय ल्याबले खर्च गर्ने अनुसन्धानात्मक रकम नास्टको बजेटभन्दा अधिक हुन्छ भन्दा अन्यथा नहोला। अत्याधुनिक उपकरण र नवीन प्रविधिसँगको पहुँच हुन्छ उनीहरूको। त्यस्तो अत्याधुनिक अनुसन्धानशालामा काम गर्ने वैज्ञानिक नास्टको उपकुलपतिको पद दिँदा त नेपाल नबस्ने अवस्थामा प्रज्ञा प्रतिष्ठानको वैज्ञानिक पदमा आवेदन हाल्न आउला भन्ने आकलन नै गलत देखियो। यद्यपि परदेशका नेपाली वैज्ञानिकसँगको सहकार्य गर्ने नास्टको योजना भने खराब देखिन्न। पहुँचको तरिका भने मिलेन।

अघिल्लो दशकको आर्थिक उन्नतिपछि चीनले अनुसन्धानात्मक लगानीमा उल्लेख्य वृद्धि ग-यो। अन्यत्र स्थापित चिनियाँ मूलका वैज्ञानिकमात्र होइन, विदेशी अनुसन्धानकर्तासमेतलाई उनीहरूले आकर्षित गरे। अनुसन्धानको अवसर दिए। चीनबाट प्रकाशित अनुसन्धानात्मक लेखहरूको संख्या अहिले ज्वलन्त उदाहरण बनेका छन्। त्यस अतिरिक्त विदेशमा स्थापित वैज्ञानिकहरूले चिनियाँ प्रयोगशालासँग सहकार्य गरेबापत अनुसन्धानात्मक सहयोग पाउने नीति लियो चिनियाँ निकायले। आफ्ना वैज्ञानिकलाई विदेशमा तालिमको व्यवस्था ग-यो चीनले। अनुसन्धान रकममा उल्लेख्य वृद्धि गर्ने र विदेशमा तालिम लिएका वैज्ञानिकहरूले काम गर्ने भएपछि विज्ञानमा एक्कासि फड्को मारेको हो। परिणामस्वरूप सन् २०१६ मा चीनबाट प्रकाशित अनुसन्धानात्मक लेखको संख्या अमेरिकाको भन्दा अधिक देखियो। वालस्ट्रिट जर्नलले गरेको सर्वेक्षणअनुसार अर्को वर्षसम्ममा चीनले संयुक्त राज्य अमेरिकालाई विज्ञानको अनुसन्धानमा पछि पार्ने देखिन्छ। विज्ञानको अनुसन्धानमा पुछारमा रहेको चीनले गत दुई दशकमा ठूलो फड्को मारेको छ।

चीनले विज्ञानमा हासिल गरेको सफलता हेर्दा पैसा र विदेशका वैज्ञानिकसँगको सहकार्यले विज्ञानको विकास खँदिलो हुन्छ। तर राष्ट्रिय बजेटको आकार र नास्टको विनियोजित रकम हेर्दा हामीले धेरै पैसा खर्च गरेर विज्ञानका अनुसन्धान गर्न सक्ने अवस्था रहेन। त्यस्तै अन्यत्र स्थापित वैज्ञानिकलाई यहाँ ल्याएर वैज्ञानिक उत्खननमा लगाउन सक्ने अवस्था भएन।

अर्थशास्त्रको प्रचलित ‘अन्ट्राप्रिनुर थ्यौरी’ ले खाडीमा काम गर्ने, पाश्चात्य मुलुकमा घरजम गर्ने र विदेशको सुख त्यागेर नेपाल फर्कनेका बीच तात्विक फरक देख्दैन। सबै समूहका मानिसको अन्तिम लक्ष्य व्यक्तिगत फाइदाभन्दा अन्यथा होइन भन्छ उक्त सिद्धान्तले।

नवीन विचार आविष्कारको कडी हो। विज्ञानको विकासका लागि सहकार्यलाई रणनीतिका रूपमा उतार्नुपर्छ। परिवार भेटघाटका लागि काठमाडौँ जाने वैज्ञानिकलाई परिसरमा बोलाइ अन्तरक्रियाको अवसर उपलब्ध गराउँदा नास्ट र विदेशी अनुसन्धान निकायबीच सहकार्यको अवसर वृद्धि हुने देखियो। ‘अन्ट्राप्रिनुर थ्यौरी’ लाई मध्यनजर राख्दै हवाई टिकट र बसोबासको व्यवस्था मिलाउन सके विदेशी वैज्ञानिकलाई नेपाल ल्याएर सिप आदान–प्रदानको अवसर मिल्थ्यो।
विदेशी भूमिमा नेपालीहरू साइन्स, सोसियल साइन्सलगायतका विभिन्न विषयमा स्थापित भएका देखिए। उल्लिखित परिवेशलाई मध्यनजर राख्दा विदेशमा स्थापित वैज्ञानिक तथा विषयगत दक्षहरूलाई नेपालमा रोजगारका लागि आह्वान गर्नुभन्दा उनीहरूसँगको सहकार्य नेपालको हकमा सान्दर्भिक देखिन्छ।

नेताहरू बदनाम भएकाले विदेशमा बस्ने दक्षहरू राजनीतिमा आउन् भन्ने चाहना राख्ने नागरिक धेरै छन्। त्यसैले पनि होला, बिबिसीको सेवा अवधि छोट्याएर रवीन्द्र मिश्र काठमाडौँ हानिए अनि साझा पार्टी गठन गरे। त्यस्तै विदेशको अध्ययन सकेर आएका उज्ज्वल थापालगायतका समूह मिलेर विवेकशील दल बन्यो। ठूलो दल बनेर संसद्मा स्थापित हुने लालसाले अनैतिक सहबास गर्न पुगेका साझा र विवेकशीलको सहयात्रा कति चल्यो, सबैले देखे। विद्यावारिधि गरेका बाबुरामको गैरराजनीतिक चरित्रबाट वाक्क भएका नेपालीमा साझा र विवेकशीलको फाटोले अध्ययन र राजनीतिबीच समानुपातिक सम्बन्ध नभएको देखाएको छ। पढे/लेखेका मानिसले राजनीति गरे राम्रो हुन्थ्यो भन्ने भ्रम यसले टुटायो।
मानिसको सोच र व्यवहारका सम्बन्धमा आफूले नोबल पुरस्कार पाएको एक दशकपछि प्राध्यापक मोहम्मद युनिसले पत्रिका ‘द गार्डिएन’ मा राखेको एउटा धारणा सान्दर्भिक देखियो।

उनको विचारमा संसारमा दुई किसिमका मानिस देखिए। एउटा पक्ष सधैँ पैसाको चाहना राख्छ भने अर्को समूह संसारको समस्या समाधानमा तल्लीन रहन्छ। तर आफूलाई केन्द्रमा राखेर काम गर्नु दुवै समूहको अन्तिम लक्ष्य रहेको बताउँछन् डा. युनिस। पैसा कमाउने र राम्रो काम गरेर नाम कमाउने लोभमा संसार चलेको छ। नेपालको सन्दर्भमा भन्नुपर्दा खराब काम गरेर पैसा कमाउनेलाई दूर दूर गर्न नसके पनि राम्रो काम गर्ने मानिसलाई आदर गर्ने बानी बसाल्न आवश्यक छ। असल गर्ने मानिसलाई स्याबासी दिँदा राम्रा काम गर्न थप हैसला पुग्ने भएकाले त्यता विचार गर्नु उचित हुन्छ।

तानाशाह होस्नी मुबारकलाई अपदस्त गरेपछि त्यहाँका नेताहरूले इजिप्टको राजनीति सम्हाल्न सक्ने देखिएन। इजिप्टका सबै राजनीतिक दलले एक स्वरमा अरब जगतबाट विज्ञानमा प्रथमपटक नोबल पुरस्कार पाएर अमेरिकी विश्वविद्यालयमा अध्यापनरत अहमद जबेललाई देशको राष्ट्रपतिको पद सम्हालिदिन आग्रह गरे। तर उक्त आग्रहलाई डा. जबेलले स्वीकार गरेनन्।

इजिप्टको राजनीतिमा देखिएको वर्तमान अन्योललाई विचार गर्दा वैज्ञानिक जबेलले मुलुकको नेतृत्व गरेका भए त्यहाँको राजनीतिक संकट समाधान हुने ठान्ने राजनीतिक विश्लेषक धेरै देखिए। त्यस्तै, चेकोस्लोभाकिया विभाजन भई बनेको नयाँ देश चेक गणराज्यको राष्ट्रपतिका लागि चेकोस्लोभाकियामा जन्मिएकी अमेरिकी पूर्वविदेशमन्त्री म्याडलिन अलब्राइटलाई अनुरोध गरिनुले आफ्नो पेशामा दक्ष भए पदहरूले पछ्याउछन्। विदेशमा बसेर आफ्नो दक्षता देखाएका नेपालीले लहडमा लागेर अन्यत्र मन डुलाउनु भन्दा आफ्नो क्षमता निखार्न ध्यान दिन आवश्यक छ। आफ्नो पेशामा विशिष्टता हासिल गर्नु असल अर्थमा देशको सेवा हुने यथार्थ सबैले बुझ्नुपर्छ।  

प्रकाशित: २४ भाद्र २०७६ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App