६ वैशाख २०८१ बिहीबार
कला

सुनसान थारु संग्राहलय

चखौरामा रहेको थारु संग्राहलयमा राखिएका थारु समुदायको संस्कृति झल्कने मुर्तीहरु।

दाङ – थारुबाहुल क्षेत्र दाङमा यो समुदायको मौलिक संस्कृति संरक्षणका लागि प्रयास थालनी भएको लामो समय वितिसकेको छ। मुलतः आँफूहरुलाई बधुँवा किसानका रुपमा चिनाउँदै आएको थारु समुदायको पुरानो मौलिक पहिचानसंग जोडिएका बस्तुहरुको संरक्षणका लागि संग्राहलयको अवधारणा सुरु गरिएको छ। तथापी आफुहरुको मौलिक पहिचान जोगाउनका लागि थारुहरुले सञ्चालन गरेको संग्राहलयको अवधारणाले सार्थकता भने पाउन सकेको देखिन्न।

घोराही पनौरामा गुम्राह थारु सांस्कृति संग्राहलय सञ्चालनमा आएको एक दशकको अवधि पुरा भैसकेको छ। त्यो बेला संसद विकास कोषको एक लाख रकम र तत्कालीन घोराही नगरपालिकाको थप एक लाख सहयोगमा पनौरामा यो संग्राहलयको स्थापना भयो। भवन निर्माण संगै पुराना मौलिक पहिचान जोडिएका मुर्तीहरु खरिद गरेर यहि भवनमा राखिए। त्यो बेला बनेको निर्माण संरक्षण समितिले संग्राहलयको व्यवस्थापनको काम गर्यो।  तर अहिले यो संग्राहलय नाम मात्रैको छ। जिर्ण भवन। आकाशे झरी थाम्नै सक्दैन। बर्खा याममा संग्राहलय भित्रै जलाम्य हुन्छ। घर भित्रै जलाम्य हुने पानीका कारण त्यहाँ राखिएका सांस्कृतिक पहिचान जोडिएका बस्तुहरु नासिएका छन्। ‘भवन मर्मतको समस्या छ, आर्थिक अभावका कारण मर्मत गर्न सकिएको छैन,’ उक्त संग्राहलयक संरक्षणको जिम्मा पाएको थारु कल्याणकारिणीसभाका जिल्ला सचिव प्रकाश चौधरीले भने ‘भवन जिर्ण भएका कारण आकाशे पानीले त्यहाँ राखिएका माटाका बस्तुहरु नासिदै गएका छन्।’ माटाका बस्तुहरु पानीले भिजाएर नासिदै गएपनि काठबाट निर्मित बस्तुहरु भने जोगिएको उनले वताए।

घोराही बजारको नजिकै रहेको यो संग्राहलय सुनसान हुन्छ। संग्राहलयमा राखिएका सामाग्रीहरु अवलोकनका लागि दर्शकहरु शून्य प्राय हुन्छन्। बन्द अवस्थामै रहेको यो संग्राहलयको साँचो उनै थारु कल्याणकारीणीसभाका सचिव चौधरीसंग हुन्छ। कसैले संग्राहलयको अवलोकन गर्न चाहेको अवस्थामा उनलाई फोन सम्पर्क गर्नुपर्छ। अन्यथा ताल्च लगाईएको उक्त संग्राहलयको अवलोकन गर्न असम्भव हुन्छ।‘ संग्राहलयमा पहिला एकजना चौकीदारको व्यवस्थापन भएको थियो, ति चौकीदारलाई उपमहानगरपालिकाले तलव सुविधा दिँदै आएको थियो,’सचिव प्रकाश चौधरीले भने ‘अहिले ति कर्मचारीको सेवा सुविधा रोकिएपछि संग्राहलयको साँचो म आँफैले राख्ने गरेको छु, यहि कोहि हेर्न आएको खण्डमा म संग सम्पर्क गरेर अनि मैले नै त्यहाँको अवलोकन गराउने गरेको छु।’

संग्राहलय स्थापनाका बेला दुईलाख रुपैयाँ सहयोग प्राप्त भएपनि त्यसयता संग्राहलयको व्यवस्थापनका नाममा कतैबाट पनि बजेट उपलब्ध भएन। फलतः यो संग्राहलय दिनानुदिन जिर्ण बन्दै गयो। संग्राहलयमा दाङका थारुहरु बुह्रान जाँदाखेरीको अवस्था झल्कने मुर्तीहरुलाई बढि प्राथमिकता दिएर राखिएको छ। यसैगरि माटाका भाँडा, गुरुवा प्रथाको चित्रण यो संग्राहलयमा देख्न पाईन्छ। यो लगाएत थारु संस्कृति झल्कने विभिन्न बाजागाजाहरु समेत राखिएको छ। हाल निकै जिर्ण अवस्थामा रहेको यो संग्राहलयलाई थारु कल्याणकारीणी सभाले थप व्यवस्थापनका साथ सञ्चालन गर्ने तयारी गरिरहेको छ। अहिले संग्राहलय रहेको क्षेत्रफल निकै साँघुरो रहेका कारण पनि यसलाई थप फराकिलो क्षेत्रमा स्थानान्तरण गरिने थारु कल्याणकारीणीसभाका सचिव चौधरीले जानकारी दिए। ‘संग्राहलय संरक्षणको जिम्मा थारु कल्याणकारीणीसभामा आईसकेपछि यसलाई व्यवस्थीत तरिकाले सञ्चालन गर्ने सोँच र तयारीमा छौँ,’ उनले भने ‘अलि फराकिलो क्षेत्रफलमा यसको स्थानान्तरण नितान्त आवश्यक देखिएको छ।’

संरक्षण अभावमा घोराहीमा थारु संग्राहलय बन्द अवस्थामा रहेपनि जिल्लाको पश्चिम क्षेत्र चखौरा भन्ने स्थानमा अर्को थारु संग्राहलय सञ्चालनमा आएको छ। हाल निर्माणाधिन अवस्थामै रहेको यो संग्राहलय भने आन्तरिक पर्यटकहरुका लागि पर्यटकीय गन्तव्यको थलो बन्दै गएको छ। यो संग्राहलयको सुरुवाती अवस्था भने पर्यटकहरुको नजरमा पर्न सक्ने अवस्थामा देखिन्छ। आर्थिक बर्ष २०७५/०७६ मा पाँच नम्बर प्रदेश सरकारबाट विनियोजित ६५ लाख रकमले यो संग्राहलयको निर्माण गरिएको हो।   थारु संस्कृति संरक्षण केन्द्रले सञ्चालन गरेको यो संग्राहलयमा थारु समुदायको पुरातात्वीक ईतिहाँस झल्कने सामाग्रहिरु व्यवस्थित तवरले राखिएको छ।

प्रमुखतः तत्कालीन थारु राजा दंगीशरणको मुर्ति यो संग्राहलयमा राखिएको छ। ‘हामीहरुले यो संग्राहलयलाइ थारु संस्कृति र पहिचानसंग जोडिएका पुरातात्वीक सामाग्रीहरुको प्रदर्शनी थलोका रुपमा बिकास गर्न चाहेका हौँ,’यो संग्राहलयका संरक्षककर्ता अशोक थारुले भने ‘संग्राहलयको व्यवस्थापनको धेरै काम गरिसकेका छौँ, अँझै थप व्यवस्थीत बनाउनका लागि काम पनि भैरहेको छ।’ यसैगरि थारुहरुले दाङमा क्षेत्र बर्गिकरण गरेर निर्माण गरेका ११ ‘प्रगन्ना’ का प्रमुखहरुको मुर्ती स्थापना गर्ने तयारीमा यो संग्राहलय व्यवस्थापन समुह जुटेको छ। तत्कालीन अवस्थामा थारु समुदायले दाङको क्षेत्र विभाजन गरेर ( अहिलेको निर्वाचन क्षेत्र जस्तै ) प्रगन्ना निर्माण गरेका हुन्थे। यि प्रगन्नाहरुको मुख्य ब्यक्ति चुनिएका हुन्थे—देशबन्ध्या। ‘उनै देशबन्ध्याहरु हम्रो समुदायका ऐतिहाँसिक महत्व बोकेका व्यक्तिहरु हुन्,’थारुले भने ‘ति ऐतिहाँसिक व्यक्तित्वहरुको चिनारीका लागि पनि मुर्ती स्थापना गर्ने तयारीमा छौँ।’ यि लगाएत थारुहरुका पुरातात्वीक महत्व बोकेको बस्तुहरुलाई संग्रहित गरेर राखिएको यो संग्राहलयको अवलोकनका लागि अहिले आन्तरिक पर्यटनको उपस्थिती बाक्लो बन्दै गएको छ। संग्राहलयमा अवलोकनका लागि आउने पर्यटकहरुलाई बसोबासका लागि त्यहिँ होमस्टे समेत सञ्चालनमा ल्याईएको छ। ‘एक दिनमा ६० जना सम्मालाई खान र बास बस्ने सुविधा प्रदान गर्न सक्छौँ,’थारुले भने ‘ यसका लागि होमस्टे नै सञ्चालनमा ल्याईएको छ।’ यो संग्राहलयमा थारु समुदायकै नागरिकहरु बढि जाने गरेको पनि अशोक थारुले जानकारी दिए।

प्रकाशित: २४ भाद्र २०७६ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App