coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विद्युत् अनियमिताले मासिक तीन करोड घाटा

उदयपुर सिमेन्ट उद्योग मुल गेट। तस्बिरःमहेश्वर/नागरिक

उदयपुर – नेपाल सरकारको स्वमित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग मासिक तीन करोड घाटामा गएको छ। विद्युत् प्राधिकरणको भाषामा ‘स्विचिङ/सिस्टम फेल/इलेक्ट्रो फ्लेक्चुएसन’ जस्ता समस्या झेल्दै आएको उद्योगले घाटा सहनुपरेको उद्योग व्यवस्थापनले जनाएको छ।

वर्षौंदेखि बेलाबेला भोल्टेज उतारचढाव र दिनमा १०–१५ पटकसम्म झ्याप्प जाने र झिलिक्क बत्ती आउने समस्याले उद्योगका मेसिन उपकरणमा धेरै क्षति पुग्ने गरेको छ। यसले किल्न फाइरिङदेखि क्लिंकर उत्पादन, पिसानी र लोडिङ हुँदै बिक्रीसम्मका समस्याले उद्योग निरन्तर घाटा सहन बाध्य भएको निमित्त महाप्रबन्धक (जिएम) नवलकिशोर साहले बताए।

उनका अनुसार हरेक दिन पाँचदेखि १५ चोटीसम्म विद्युत् जाने/आउने समस्याकै कारण उद्योग दैनिक तीनदेखि १० लाखसम्म घाटा हुने गरेको छ। वर्षौंअघिदेखि हुँदै आएको विद्युत् अवरोधको यस्तो अवस्था गत साउन २३ देखि हरेक दिन अलि बढेको छ। आकस्मिक विद्युत् अवरोधले चलिरहेको मेसिन एक्कासी रोकिन पुग्दा एकातिर मेसिन बिग्रने खतरा हुन्छ भने अर्कोतिर उत्पादन, प्रशोधन र बिक्रीमा समेत अवरोध हुने गरेको जिएम साहले बताए।

गएको जेठ २० गते उद्योगको मुख्य यन्त्रमा जडित सस्पेन्सन पंखा ९एसपी फ्यान० जलेर झन्डै दुई महिना उद्योगले क्लिंकर उत्पादन गर्न नसक्दा करोडौं घाटा सहनु परेको थियो। उक्त पंखा जेठ २२ गते बुटबल लगेर मर्मत गर्न झन्डै दुई महिना लागेको थियो। साउन २० गते मर्मत गरेर ल्याई पुनः जडान गरेपछि २२ गतेदेखि उत्पादन सुचारु भएको छ। वर्षौंदेखि भोग्नुपर्ने यस्तो समस्याको दीर्घकालीन समाधान मन्त्रीस्तरबाटै खोजियोस् भन्ने आग्रह जिएम साहको छ।

उद्योगका मेकानिकल प्रमुख इन्जिनियर टीका कुँवरले एसपी फ्यान जल्नुको मुख्य कारण पनि विद्युत् भोल्टेज नै हो। झ्याप्प झ्याप्प विद्युत् जाने अनि फेरि झिलिक्क आउने गर्दा मेसिनलाई दोहोरो बोझ परेर क्वाइल, आइसी र फ्युजजस्ता भित्री सामान जल्ने हुँदा यन्त्र उपकरण बिग्रने गरेको इन्जिनियर कुँवर बताउँछन्। उनले यसबाहेक विद्युत् अनियमिताबाट उद्योगलाई धेरै घाटा हुने गरेको छ। बरु लोडसेडिङ गरिदिए समय तालिकाअनुसार हुने भएकाले समयमै मेसिन उपकरण बन्द गरेर सुरक्षित गर्न सकिने उनको भनाइ छ। अहिले देशमा लोडसेडिङ नभए पनि त्यसभन्दा बढी उद्योगलाई मार पर्नेगरी विद्युत् अवरोध हुने गरेकाले त्यसको स्थायी समाधान गर्न मन्त्रीस्तरबाटै पहल हुनुपर्ने सुझाव उनको छ।

विद्युत् अवरोधकै कारण उद्योगले साउन र भदौमा लक्ष्यअुनसार उत्पादन र बिक्री गर्न नसकेको निश्कर्ष उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णको छ। कर्णले साउन २२ देखि भदौ १९ गतेसम्म १८ हजार मेट्रिक टन मात्र क्लिंकर उत्पादन भएको जानकारी दिए। उनका अनुसार यो परिमाण तीन लाख ६० हजार बोरा मात्र हो, जुन अवधिमा विद्युत्ले साथ दिएको भए २४ हजार मेट्रिक टन अर्थात झन्डै ५० लाख बोरा सिमेन्ट उत्पादन हुन्थ्यो।
दैनिक आठ सय ५० मेट्रिकटन क्लिंकर उत्पादन क्षमता भएको उद्योगले विद्युत् अवरोधकै कारण दैनिक चार सय हाराहारी मेट्रिक टन उत्पादनमा सीमित भएको कर्णले बताए। त्यसैले मन्त्रीस्तरबाट यसको निकास ननिकालेसम्म उद्योगले यस्तो घाटा निमियत बेहोरिरहनुपर्ने उनको भनाइ छ।

विद्युत् अवरोधले सिमेन्ट बेच्न पनि उत्तिकै गम्भीर अवरोध खडा गर्ने गरेको बिक्री विभाग प्रमुख रामबहादुर जिसी बताउँछन्। उत्पादनसँगै बिक्रीमा उत्तिकै बाधक देखिएको बताउँदै जिसीले साउन २३ देखि भदौ १९ गतेसम्ममा एक लाख ८० हजार नौ सय ६० बोरा मात्र बिक्री भएको जानकारी दिए। अघिल्लो वर्ष भदौमा दुई लाख चार हजार चार सय ४९ बोरा बिक्री भएको स्मरण गराउँदै जिसीले भने, ‘पोहोर यसपालिजस्तो विद्युत् समस्या थिएन। त्यसैले साउनमा एक लाख ७२ हजार आठ सय १० बोरा बिकेको थियो, यसपालि जेठ अन्तिमदेखि साउन तेस्रो सातासम्म उत्पादनै रोकियो। साउन २३ देखि भदौ १९ सम्ममा दुई लाख बोरा पनि बिकेन।’

उद्योग प्रशासनतर्फका नायव महाप्रबन्धक ९डिजिएम० धु्रव देवकोटाले उद्योगलाई प्रगतिपथमा लम्कन नदिने मुख्य बाधक विद्युत् अवरोध नै भएको बताए। विद्युत् आपूर्ति नियमित हुने र भोल्टेज तलमाथि नहुने हो भने गैंडा सिमेन्ट नेपाली औद्योगिक प्रतिष्ठानमध्येको उत्कृष्ट सावित हुने र देशको अर्थतन्त्रमा मेरुदण्ड सावित हुने उनको ठम्याइ छ। त्यसैले विद्युत्को समस्या समाधान गर्न उद्योग मन्त्री र ऊर्जा मन्त्रीस्तरमै छलफल हुनुपर्ने आवश्यकता उनले औंल्याए। ‘हाम्रो तर्फबाट गर्नुपर्ने र हुनसक्ने सबै प्रयास गरिसक्यौं,’ डिजिएम देवकोटाले भने, ‘त्यसैले दीर्घकालीन समाधान गर्न अब उद्योग र ऊर्जा मन्त्रीबीचको छलफलले मात्र सम्भव होला नत्र गाह्रै छ।’

अर्थ विभाग प्रमुख कमल पौडेलले आर्थिक वर्ष ०७६/७७ को सुरु साउन तेस्रो सातादेखि मात्र चलेको उद्योगबाट अहिलेसम्म एक लाख ८५ हजार चार सय ७० बोरा सिमेन्ट बिक्री भएको छ। जसबाट मूल्य अभिवृद्धि कर ९भ्याट०सहित १४ करोड ८९ लाख ३२ हजार चार सय १० रुपैयाँ आम्दानी भएको पौडेलले बताए। उनले साउन २२ देखि भदौ १९ गतेसम्ममा २८ करोड ९० लाख ८० हजारको क्लिंकर उत्पादन भएको जानकारी दिए।

उद्योगको यो समस्या दीर्घकालीन समाधानका लागि उद्योग र ऊर्जा मन्त्रीबाटै पहल गर्न कर्मचारी मजदूरले माग गरेका छन्। विद्युत् अवरोधकै कारण दैनिक लाखौं घाटा सहन बाध्य उद्योग पटकपटक नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गर्दा पनि निकास ननिस्केपछि तालुक मन्त्रालय र विभागीय मन्त्रीबाटै समाधान खोज्न उनीहरूले आग्रह गरेका हुन्।्

मजदूर नेता चक्र कार्की, देवेन्द्र झा, कुवेर काफ्ले र राधे कोइरालाले पनि उद्योगको मात्र पहलले विद्युतीय समस्या समाधान हुने नदेखिएकाले मन्त्रीस्तरबाटै निकास निकाल्नुपर्नेमा जोड दिएका छन्। एसियाकै उत्कृष्ट गुणस्तरीय सिमेन्ट गैंडा छापलाई राष्ट्रको पहिचान बनाउने हो भने विद्युत् समस्या समाधान गर्नुपर्ने तर, त्यसका लागि मन्त्रीबाट नै पहल हुनुपर्ने मजदुर नेताहरूको राय छ।

प्रकाशित: २४ भाद्र २०७६ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App