८ वैशाख २०८१ शनिबार
समाज

अव्यवस्थित सडक निर्माणले बस्ती जोखिममा

ओखलढुंगा - एक महिनाअघि सुनकोसी गाउँपालिका–३ सिस्नेरी भन्ज्याङदेखि वडा नम्बर २ दिपसिङ जोड्ने मोटरबाटो खनियो। सोही मोटरबाटोका कारण वडा नम्बर ३ खानिगाउँका १० घर जोखिममा परेका छन्। बस्ती जोखिममा परेकाहरूले वडा कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिमा सुरक्षित बासको व्यवस्था गरी क्षतिपूर्तिका लागि निवेदन दिएका छन्।

वडा नम्बर ३ सिस्नेरी भन्ज्याङदेखि खानिगाउँ–२ माटे हुँदै दिपसिङसम्म जाने मोटरबाटोको माथिल्लो भागबाट पहिरो गई उनीहरूको बासस्थान जोखिममा परेको हो। यस विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी सुनकोसी गाउँपालिकालाई प्राविधिकसहित स्थलगत अनुगमन गरेर प्रतिवेदन पठाउन आग्रह गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। गाउँपालिकाको प्रतिवेदन आएपछि विपद् व्यवस्थापन समिति बैठक बसेर योजना बनाइने प्रजिअ आचार्यको भनाइ छ।

मोटरबाटोको मोड निकाल्दा बस्तीमुनिको पाखो अलि बढी च्यापेर खनिएकाले स्थानीय १० घरपरिवार सामान्य जोखिममा परेको वडाध्यक्ष विष्णुबहादुर खड्काले बताए। अहिले नै पहिरोले घर झरिहाल्ने र बस्ती स्थानान्तरण गरिहाल्नुपर्ने अवस्था नभए पनि तारजालीको वाल लगाउन पाए बस्ती सुरक्षित हुने खड्काको भनाइ छ। १० घरमध्ये हिराबहादुर र भक्तबहादुर मगरको घर पहिरो झरेभन्दा करिब सात मिटर टाढा छन्। सो पहिरो गएपछि घरनजिकै धाजा फाटेका कारण स्थानीय त्रसित भएको सामाजिक परिचालक वैकुण्ठ लुइँटेलले बताए।

त्यस्तै, खिजिदेम्बा गाउँपालिका–४ खिजिकातिका ७ घर सकडका कारण उच्च जोखिममा परेका छन्। खिजिफलाटे ओखलढुंगाबाट रामेछाप जोडिएको सडकका कारण बस्ती जोखिममा परेको भन्दै वडा कार्यालयमा तारजालीसहितको वाल निर्माण गरी सुरक्षाका लागि निवेदन दिइएको देवकृष्ण खड्काले बताए। खड्कासहित चेतबहादुर, युद्धबहादुर, बोधबहादुर, विष्णुबहादुर र बाबुराम खड्का र इन्द्रमाया सुनुवारको घर उच्च जोखिममा परेका छन्। सडकमाथिका बस्ती पहिरो झर्न थालेपछि त्रसित छन्।

असार अन्तिममा परेको अविरल वर्षासँगै गाउँभन्दा माथि भिरालो पाखाबाट आएको झोडाले सुनकोसी गाउँपालिका–४ जेरुङ घाटका पुस्कर माझी र देविका राईको घर पुरियो। घर पुरिए पनि उनीहरूको स्थानीयद्वारा तत्काल उद्धार भएकाले अरू मानवीय क्षति हुन पाएन। बलखु र डाँडा जेरुङ जाने सडक जेरुङघाटभन्दा सीधा माथि छत्रेपाखामा पर्दछ। भिरालो पाखामै सडकका दुईभन्दा बढी मोड राखिएका छन्। भारी वर्षाको समयमा सोही मोटरबाटोबाट सुरु भएको भलबाढीले दुई घर पुरिएका हुन्। अन्य १८ घरपरिवार जोखिममा परेको जेरुङघाटका राजन राईले बताए। यसका साथै नयाँ खनिएको सडकको ढुंगामाटोसँगै आएको भलबाढीले ८५ रोपनीभन्दा बढी खेत ढाँड भएका छन्। भर्खरै रोपाइँ गरिएको र पाकेका मकै भाँच्न बाँकी खेत ढाँडमा परिणत भएको हो।

जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुंगाले संकलन गरेको तथ्यांकअनुसार जिल्लामा पाँचजनाको बाढीपहिरोमा परेर ज्यान गएको छ। तीनजनाको पहिरो र दुईजनाको बाढीले बगाएर मृत्यु भएको हो। यसका साथ समितिको तथ्यांकअनुसार १३ घर भत्किएका छन् भने ३१ घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी तुलसी भट्टराईले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा ३१ घर जोखिमा परेको जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको तथ्यांकमा छ।

अन्य छुटेको हुनसक्ने भएकाले पुनः सम्बन्धित गाउँपालिकालाई विवरण संकलन गरी पठाउन अनुरोध गरिएको प्रजिअ भट्टराईले बताए। विपद्को समयमा क्षतिको विवरण संकलन र राहत पुनस्र्थापनाको काम प्राथमिकतामा भएकाले कारण नखोजिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। ‘तर कारण खाज्ने हो भने सडककै कारण विपद् बढी भएको हुन सक्छ,’ उनले भने।

बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवारलाई विपद् व्यवस्थापन समितिले प्रतिमृतक परिवार एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ। पूर्वसांसद रामहरि खतिवडाबाट प्राप्त ५० हजार रुपैयाँमध्येबाट प्रतिमृतक १० हजारका दरले र उद्योग वाणिज्य संघको तर्फबाट प्राप्त भएको १५ हजारमध्येबाट प्रतिमृतक तीन हजारका दरले राहत रकम पीडित परिवारले पाएका छन्। यसका साथै पुस्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओखलढुंगाले प्रतिपरिवार २५ हजार रुपैयाँ नगद राहत प्रदान गराएको छ।

प्रकाशित: २४ भाद्र २०७६ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App