८ वैशाख २०८१ शनिबार
समाज

दुर्लभ पन्छी संरक्षणमा विद्यार्थी

दुर्लभ पन्छी गरुड संरक्षणमा प्रतिबद्धता जनाउँदै विद्यार्थी। तस्बिर ः नागरिक

धादिङ - विद्यालयवरपरका खेतबारीमा सधैंजसो देखापर्ने चराचुरुंगी तथा पन्छीलाई ढुंगा र गुलेलीले हानेर धपाउने विद्यार्थी अहिले संरक्षणमा जुटेका छन्। विश्वकै दुर्लभ र लोपोन्मुख भएको थाहा पाएपछि धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक माविका विद्यार्थी संरक्षणमा जुटेका हुन्।

वर्षौंदेखि बेल्खु खोलालाई आफ्नो बासस्थान र चरनक्षेत्र बनाएको लोभीपापी गरुड (गाउँमा यसलाई हिलेगिद्ध र केही ठाउँमा भुँडीफोरको नामले चिनिन्छ) संरक्षणको अभावमा संकटमा परेपछि विद्यार्थीले चासो देखाएका छन्। सधैं खेतका कान्लामा देख्दै आएको चरालाई आफूले भुँडीफोर नामले चिन्ने गरेको किरान्चोक माविमा अध्ययनरत विद्यार्थी विश्व अधिकारीले बताए। ‘मार्ने नियतले भन्दा पनि धपाएर उडेको हेर्ने इच्छाले ढुंगाले हान्ने गरेका थियौं,’ उनले भने, ‘यी त विश्वमै दुर्लभ मानिने चरा रहेछन्, आफ्नो बस्तीनजिकै फेला पर्नु गर्वको कुरा हो, यसको संरक्षणमा हामी लाग्नुपर्छ।’ विश्व जस्तै विद्यालयका तीन सय पाँचजना विद्यार्थीले एकै स्वरमा संरक्षण गर्ने प्रतिबद्धता गरेका छन्।

विद्यार्थीसँगै स्थानीय तह पनि तातेको छ। गजुरी गाउँपालिका–७ र ८ का धानखेतमा चर्ने यो गरुड दुर्लभ र लोपोन्मुख हो भन्न्ने थाहा पाएपछि विद्यार्थी, स्थानीय र स्थानीय तह संरक्षणमा जुटेका छन्। गजुरी गाउँपालिकाले गरुड संरक्षण गर्न गरुडको बासस्थान रहेका बस्तीमा रंगीन होर्डिङबोर्ड टाँसेको छ भने किसानलाई गरुडको महत्व र संरक्षणको आवश्यकताबारे जानकारीसमेत गराएको छ।

विद्यार्थी तथा किसानलाई विश्वमै लोपोन्मुख र दुर्लभ लोभीपापी गरुडबारे चेतना जगाउन गाउँपालिकाले नेपाल पन्छी संरक्षण संघका विज्ञ कृष्ण भुसाल र अध्येता प्रशान्त घिमिरेलाई आमन्त्रण गरेको थियो। गाउँपालिकाले स्थानीय दुईवटा माविका शिक्षक, विद्यार्थी र अभिभावकलाई संरक्षणका लागि अभिमुखीकरणसमेत गराएको छ। गरुडको बासस्थान रहेको वडा नम्बर ८ किरान्चोक मावि र वडा नम्बर ७ को किरान्चोक कटुन्जे माविका विद्यार्थीलाई संरक्षणको आवश्यकताबारे प्रशिक्षण दिइएको हो।

चराहरू सबैभन्दा बढी बालबालिकाबाटै असुरक्षित हुने भएकाले स्थानीय तहले संरक्षण गर्ने विद्यार्थीलाई परिचालन गर्ने नीतिसमेत ल्याएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए। ‘हामी वरपरका पन्छीलाई ढुंगा हान्ने गर्छौं तर त्यो विश्वमै लोपोन्मुख रहेछ,’ अध्यक्ष बस्नेतले भने, ‘संसारबाटै हराउन लागेको दुर्लभ चरा गाउँमा हुनुलाई गाउँपालिकाको गौरवको रूपमा लिएर यसको संरक्षण गर्न लगानी गर्ने र गाउँवासी तथा विद्यार्थीलाई सचेत बनाउने अभियान चलाएका छौं।’

स्थानीय तहले आफ्नो जंगलमा रहेका विश्वमै लोपोन्मुख र दुर्लभ गरुडलगायत, सालक र अन्य वन्यजन्तु संरक्षण गर्ने नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको अध्यक्ष बस्नेतले बताए। स्थानीय किसानका अनुसार दुई वर्षअघि १५÷१६ वटा देखा पर्ने गरुड हाल ३÷४ जोडी मात्र खेतबारीमा देखिने गरेका छन्। भूकम्पपछि आवास निर्माण गर्न आएका चेपाङ समुदायका मजदुरले मारेर खान थालेपछि यो चराको संख्या घटेको हो। चेपाङहरूले गरुडको गुँड भएको रुखमै चढेर असार महिनामा उड्ने तयारीमा रहेका बचेरा झिकेर लैजाने गरेको गजुरी गाउँपालिकाका अध्यक्षले बताए।

सन् २०१५ मा नेपालका ४२ स्थानका सिमसारमा मात्रै गरिएको यो गरुडको गणनामा ६८ वटा फेला परेको नेपाल पन्छी संरक्षण संघका विज्ञ कृष्ण भुसालले बताए। गरुडका गुँड नेपालको कपिलबस्तु, रुकुम, जाजरकोट, रुपन्देही, धादिङ, प्युठान, अर्घाखाँची मनाङ, सिन्धुपाल्चोक, सल्यान, सुर्खेत, बर्दिया, चितवन, कन्चनपुर, कैलाली र नवलपरासीमा मात्र फेला परेको उनले जानकारी दिए।

नेपालमा पाइने आठ प्रजातिका गरुडमध्ये सेतो घाँटी भएको, चुच्चो रातो भएको, अलि होचो कदको चरा नै लोभीपापी गरुड हो। अहिलेसम्म धादिङको किरान्चोकमा र कुम्पुर क्षेत्रमा यसको गुँड तथा बासस्थान फेला परेको छ। धादिङको किरान्चोक क्षेत्रमा केही वर्षअघि धेरै संख्यामा यो चरा भेटिएको भए पनि पशुमा लगाइने डाइक्लोफेनिक नामक औषधिको प्रयोग, चोरीसिकार, बासस्थान तथा आहाराको कमीले हराउँदै गएको चराविज्ञ प्रशान्त घिमिरेले बताए।

प्रकाशित: २४ भाद्र २०७६ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App