coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ढल व्यवस्थापनमा ३२ करोड

सोलुखुम्बु – सोलुुदूधकुण्ड नगरपालिकाको बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि थप ३२ करोड रकम स्वीकृत भएको छ। मेयर नाम्गेल जाङ्बु शेर्पाको पहलमा नगरपालिकाको वडा नं ४ फाप्लु, वडा नं ५ सल्लेरी र वडा नं ६ दोर्पुबजार क्षेत्रको ढल व्यवस्थापनका लागि खानेपानी मन्त्रालयले ३२ करोड ५५ लाखको बजेट स्वीकृत गरेको छ।

ढल निर्माण तथा प्रशोधन आयोजना नाम दिइएको कामका लागि तीन वर्षे क्रमागत बजेट कार्यान्वयनमा लैजाने गरी टेन्डर आह्वान गर्न खानेपानी मन्त्रालयले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल खोटाङलाई पत्राचार गरेको छ।

२९ करोड ८२ लाख प्रस्तावित लागत अनुमान गरिएको आयोजनालाई बहु–वर्षीय खरिद गुरुयोजनाअन्तर्गत स्वीकृत गरिएको छ। आयोजनालाई चालु आव ०७६/७७ मा तीन करोड, आव ०७७÷७८ मा १५ करोड र आव ०७८÷७९ मा बाँकी ११ करोड ८२ लाख रकम विनियोजन गर्ने तालिकामा उल्लेख गरिएको छ।

आगामी तीन वर्षभित्र फाप्लु–सल्लेरी–दोर्पु क्षेत्रको ढल व्यवस्थापन चुस्त हुने मेयर शेर्पाले बताए। उनले भने, ‘अहिले पुरानो एनएमबि बैंकदेखि जेरो प्वाइन्टसम्म ढल व्यवस्थापन कार्य सुरु भएको छ। अहिले स्वीकृत बजेटबाट सल्लेरीको बाँकी भाग, फाप्लु र दोर्पु क्षेत्रमा ढल व्यवस्थापन कार्य हुनेछ।’ उनले आगामी तीन वर्षमा बजार क्षेत्रको मुहार फेरिने बताए।

अहिले सल्लेरी–जेरोप्वाइन्टसम्म सहरी विकास विभागको पाँच करोड ८० लाख बजेटमा खानी कुँवर ब्राइट जेभीले ढल व्यवस्थापनको काम गरिरहेको छ। बर्खामा रोकिएको काम ३५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७६ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App