७ वैशाख २०८१ शुक्रबार
समाज

जटिल बन्दै डेंगी संक्रमण

काठमाडौं - देशैभरि फैलिरहेको डेंगी संक्रमणका कारण देशभर सोमबारसम्म ६ जनाको मृत्यु भइसकेको छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा दुई तथा चितवन, सिन्धुपाल्चोक, डोटी र सुनसरीमा एकएकजनाको मृत्यु भएको हो।

मृत्युको कारणबारे विस्तृत विवरण आउन भने बाँकी रहेको जनाइएको छ। महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार मृत्यु हुनेहरू उमेरले वृद्ध हुनुका साथै उनीहरूमा डेंगु संक्रमण पोजेटिभसँगै कलेजोसम्बन्धी र स्क्रबटाइफस रोग पनि देखिएका छन्। डेंगी एक्लै संक्रमण हुँदा सामान्य व्यक्तिको मृत्यु नहुने र बिरामी आफैं पहिल्यै बहुरोगी, दीर्घरोगी तथा अन्य संक्रमण रहे मृत्यु हुने भएकाले मृत्युको कारणबारे विस्तृत जानकारी आएपछि मात्र यकिन रूपमा भन्न सकिने उनले बताए।

राजधानीका विभिन्न अस्पताल डेंगीका बिरामीले भरिएका छन्। सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना भर्ना भए। साउनयता यो अस्पतालमा मात्र १ हजार ९ जनामा डेंगी संक्रमण प्रमाणित भइसकेको छ। यस अवधिमा उपचारका लागि आएका १७ सय ९८ जनामा डेंगी परीक्षण गरिएको थियो। दैनिक ३ सय जनाभन्दा बढी संख्यामा डेंगीको लक्षणसहितका बिरामी उपचारमा पुगेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए। उपचारमा पुग्नेमा चमती, डल्लु, नरदेवीबाट बढी छन्। यस्तै कालीमाटी, खुसिबँु, नयाँ बजार, ताहचल, टेकु, भोटेबहाललगायत स्थानबाट पनि बिरामी पुगेका छन्।

सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना भर्ना भए। साउनयता यो अस्पतालमा मात्र १ हजार ९ जनामा डेंगी संक्रमण प्रमाणित भइसकेको छ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता आइतबारसम्म देशभरमा ३ हजार ८ सय ९९ जनामा डेंगी प्रमाणित भइसकेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगीको प्रकोप बढिरहेको छ। काठमाडौंमा २ सय ५४, ललितपुरमा ३२, भक्तपुरमा ३३ जनामा डेंगी संक्रमणको तथ्यांक संकलन भएको छ। सबै अस्पतालले महाशाखालाई विवरण पठाइनसकेकाले यकिन तथ्यांक प्राप्त हुन बाँकी रहेको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाले जनाएको छ। वैशाखयता देशभरमा ७ हजारजनामा डेंगी प्रमाणित भएको महाशाखाको तथ्यांक छ।

डेंगी ज्वरोका बिरामीकै कारण अस्पतालको आकस्मिक कक्ष तथा बहिरंग विभाग भरिएको मनमोहन सामुदायिक अस्पताल ठमेलले जनाएको छ। अस्पतालले पछिल्लो चरणमा डेंगी परीक्षण गरेकामध्ये ९५ जनामा डेंगी प्रमाणित भएको बताएको छ। यो अवधिमा ४ हजार ५ सय ५० जना डेंगीको लक्षण लिएर पुगेका छन्। बजारमा किटको अभाव भएकाले लक्षणअनुसार उपचार गरिएको उक्त अस्पतालका मेडिकल अफिसर आश्विन केसीले बताए। धेरैजसो बिरामी काठमाडौंको नयाँ बजार तथा खुसिबँु क्षेत्रबाट आएको अस्पताल उनको भनाइ छ। अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका हरि निरौला तथा उनकै १४ वर्षीया छोरीको पनि ज्वरोेका कारण उपचार भइरहेको छ। दुई साताअघि मात्र उनकी पत्नी मनितालाई डेंगी भएपछि भर्ना गरी उपचार गरिएको थियो।

डेंगी संक्रमणकै कारण प्रदेश ४ का सांसद प्रकाश दवाडी मनमोहन अस्पताल ठमेलमै भर्ना भएका छन्। डेंगीकै कारण कोटेश्वर निवासी रोजनाथ पाण्डेका दम्पती चार दिनदेखि तीनकुनेस्थित कान्तिपुर अस्पतालमा भर्ना भएका छन्। सोही घरमा बस्ने एक नर्स पनि डेंगु संक्रमित भएको पाण्डेले जानकारी दिए। पाण्डे संसद् भवनका सचिव हुन्। डेंगी संक्रमणकै कारण तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सन्दुक रुइत नर्भिक अस्पताल भर्ना भएका छन्।

एउटै ड्रममा डेंगु सार्ने लामखुट्टेका लाखौं लार्भा
‘लामखुट्टे तथा लार्भालाई खोज र नष्ट गर’ कार्यक्रम जारी रहेकै बेला चितवनमा एउटै ड्रममा डेंगु सार्ने लामखुट्टेका लाखौं लार्भा पाइएको छ। सरकारले चितवनका विभिन्न स्थानमा लार्भा खोज्ने क्रममा यस्तो अवस्था पाइएको राष्ट्रिय इपिडियोमोलोजी कीटजन्य रोग शाखाका प्रमुख डा. प्रकाश शाहले बताए। ‘लामखुट्टेको लार्भा खोज्नेक्रममा एउटै ड्रममा लाखौं पाइएको स्थानीय कर्मचारीले जानकारी दिए,’ उनले भने। देशभरि डेंगी फैलिएसँगै सरकारले उक्त अभिायन चलाएको हो।

‘लामखुट्टेका अण्डा र लार्भा खोजीखोजी माराैं’
पानी पर्न रोकिएको एक महिनापछि मात्र डेंगी आफैं नियन्त्रण हुने भए पनि यो स्थितिले अवधि लम्बिने राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. लालले बताए। यसको रोकथामका लागि हालसम्म कुनै खोप तथा औषधि नभएकाले एक मात्र उपाय एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट बच्नु भएको उनको भनाइ छ। ‘लामखुट्टेको संख्या बढ्न दिनुभएन, यसका लागि हरेक व्यक्तिको जिम्मेवारी हो,’ उनी भन्छन्, ‘यो रोग नेपालका लागि मात्र नभएर विश्वकै लागि चुनौतीपूर्ण बनेको छ। अन्य रोगमाजस्तो औषधि र खोप भएको भए सरकारले बाँडिहाल्थ्यो।’ यसका लागि सरकारले स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, स्वास्थ्य संस्था सबैलाई आग्रह गरिसकेको डा. लालले जानकारी दिए। ‘संघीयतामा स्थानीय जनस्वास्थ्यको जिम्मा लिएका स्थानीय तह यो अभियानमा थप सक्रिय हुनुपर्छ,’ उनले भने।

सबै जिल्ला प्रशासनलाई पत्र
देशैभरि फैलिरहेको डेंगी संक्रमण नियन्त्रणका लागि गृह मन्त्रालयले मातहतका कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले ७७ वटै जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय निकायसित समन्वय गरी प्रभावितको उपचार, डेंगी नियन्त्रणमा समन्वयकारी भूमिका खेल्न पत्राचार गरिसकेको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए। अधिकारीले प्रधानमन्त्री कार्यालयबाट डेंगी नियन्त्रणमा सहयोग पु¥याउन निर्देशन आएसँगै मन्त्रालयले पत्राचार गरी सबै प्रजिअसँग समन्वय गरिरहेको जानकारी दिए। ‘स्थानीय तहको स्वास्थ्य संस्थाको अवस्था, सेवाको स्थिति सबै हेरेर सहयोग गरिरहेको जवाफ आएको छ,’ उनले भने, ‘हामीले आवश्यक सहयोग गर्न भनेका छौं।’

डेंगी सक्रमणको औषधि नभएकाले यो रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नै नष्ट गर्ने नीतिलाई राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जोड दिन आग्रह गरेको छ। साथै संक्रमितको उपचारमा सहयोग पु¥याउन ¥यापिड कीटको सट्टा रगतमा हुने तŒवहरुको स्थिति हेरेर उपचार गर्न सबै स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ।

डेंगीबाट कसरी बच्ने ?

–घरवरपरको ड्रम, बाल्टिन, बट्टा आदिको पानी सफा गर्ने
–पानी जम्मा भएको ठाउँको नियमित सफाइ गर्ने

–शरीर छोप्नेगरी लुगा लगाउने
–घरबाहिर जाँदा खुला भागमा ओडिस मलम लगाउने

–लामखुट्टेको अण्डा र लार्भा हुने ठाउँको पानी फालेर सफाइ गर्ने

प्रकाशित: २४ भाद्र २०७६ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App