coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गुँलाबाजा संरक्षणमा काठमाडौं महानगर, अनुदान रकम बढ्यो

काठमाडौं– काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न साँस्कृतिक बाजा, भाषा र संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले सोमबार २३ वटा गुँलाबाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रु एक–एक लाखका दरले २३ वटा समूहलाई रकम हस्तान्तरण गरेका हुन्। 

मेयर शाक्य निर्वाचित भएर आएपछि सो समूहलाई दिइने रकममा बृद्धि गरिएको हो। मेयर शाक्य निर्वाचित भएर आउनु अघिसम्म हरेक वर्ष हरेक समूहलाई रु ५० हजारका दरले दिइने गरेको थियो। पछि त्यो रकम बृद्धि गरेर ७५ हजार पुर्याएको भए पनि गत सालबाट भने मेयर शाक्यकै पहलमा रु एक लाख दिन थालिएको हो। गत साल २१ वटा गुँलाबाजा समूहलाई महानगरपालिकाले एक–एक लाखका दरले सहयोग गरेको थियो। यो वर्ष भने दुई वटा समूह थप भएका छन्। यो वर्ष महानगरले २३ वटा समूहलाई रकम हस्तान्तरण गरेको हो।  

मेयर शाक्यले सहयोग रकम हस्तान्तरण गर्दै संस्कृति र सम्पदाको संरक्षणमा महानगर सचेत रहेको बताए। मेयर शाक्यले महानगर क्षेत्र भित्रका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको पहिचान र संरक्षण गर्नु महानगरपालिको सबै भन्दा बढी दायित्व भएको पनि प्रष्ट पारे।   उनले संस्कृति र सम्पदाका बारेमा व्यक्ति पिच्छे फरक धारणा बनाउँदा संस्कृति र सम्पदा नै लोप हुने खतरा हुने भन्दै त्यससलाई बचाउन सबैको एकमुष्ठ सहयोग आवश्यक हुने बताए। उनले मूर्त र अमूर्त सम्पदालाई अलग बनाउँदा जीवन्तता हराउने भन्दै सम्पदाको प्राण नै मूर्त र अमूत सम्पदा भएकाले परम्परा अनुसार संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले गुँलाबाजा नेवाः समुदायको समावेशी बाजा भएको भन्दै यसको संरक्षणमा आफू सदैव लाग्ने पनि प्रण गरे। 

गुँलाबाजा व्यवस्थापन तथा संरक्षण संघका सचिव गजेन्द्रमान मानन्धरले महानगरपालिकाले अनुदान रकम बढाएकोमा खुशी व्यक्त गरे। ‘गुँलापर्व नेवाः समुदायको संस्कृति र परम्परा बोकेको विशिष्टखाले पर्व हो। यो पर्वको अस्तित्व जोगाइ राख्न महानगरको भूमिका पनि विशिष्ट हुन्छ’, उनले भने, ‘महानगरले जस्तै अरुतिरबाट पनि सहयोग भयो भने यो पर्वको महत्व पछिसम्म पनि जिवित रहने निश्चित छ।’ 

महानगरपालिकाको सम्पदा विभाग प्रमुख रामबहादुर थापाले पनि महानगर क्षेत्रभित्रका सांस्कृतिक सम्पदा संरक्षणका लागि महानगरले सहयोग गरेको प्रष्ट पारे। ‘नयाँ पुस्तालाई आकर्षित गर्न र पर्यटन प्रवर्द्धनका लागि पनि गुँलापर्वको महत्वलाई जोगाई राख्नुपर्छ,’ उनले भने, ‘महानगरको यो सहयोगले उहाँहरुलाई थप हौसला मिलेको महशुस गरेका छौँ।’ 

कार्यक्रममा संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, भीमसेनदास प्रधान, काठमाडौँ महानगपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतले पनि बोलेका थिए। गुँलापर्व साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाउने चलन छ। एक महिनासम्म विभिन्न बौद्ध धार्मिकस्थलमा बजाउने गुँलाबाजा नेवाः समुदायका लागि महत्वपूर्ण मानिन्छ।

प्रकाशित: २३ भाद्र २०७६ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App