८ वैशाख २०८१ शनिबार
अन्य

घामकीरीसँगै आकाशमा उड्नुको मज्जा

प्लेटफर्म उक्लँदै गर्दा घामकीरीको समूह आँखाअगाडि पखेटा फैलाएर मस्त उडिरहेको थियो ।
झल्याँस्स सम्झेँ, सानोबेला यिनै घामकीरीको पुच्छरमा डोरी बाँधेर खेलिन्थ्यो । हातको औंलामा डोरीलाई बेरेर घामकीरीको पछिपछि दगुरिन्थ्यो । घायल घामकीरी जतोतसो उड्न खोज्थ्यो, म भने घामकीरीसँगै उडेको अनुभव गर्थें ।

तिनै घामकीरी आज मेरो वरिपरि डुल्न आइपुगेको थियो तर आज परिस्थिति केही फरक । आज १ मिनेट २० सेकेण्डका लागि म तिनै घामकीरीसँगै आकाशमा उड्न तयार थिएँ । कृत्रिम पखेटासहित ।
घामकीरी आँखाअघिबाट ओझेल भइसक्दा म जिपलाइन गर्ने प्लेटफर्ममा पुगिसकेको रहेछु ।

घामकीरी जसरी उड्नको हतारोले कतिखेर सिँढी चढेँ, पत्तो भएन । यत्ति हो, मभन्दा अघिका साथीहरु टेकअफ हुने धुलिखेलको डाँडादेखि ल्यान्डिङ स्टेसन पाँचखालको खावाको दुरी हेरेर जिब्रो टोकेर, आत्तिएका देखिन्थे ।

एक युवती त त्यो दुरी देखेर आफ्ना अर्की साथीलाई भन्दै थिइन्, ‘कति डर लाग्दो, म त गर्दिनँ ।’
साथी भने उनलाई हौसला दिइरहेकी थिइन्, ‘सकिन्छ, अब गर्नुपर्छ । केही हुन्न । यहाँबाट फर्किनु हुन्न ।’ उनीहरु दुईजनापछि जिपलाइन गर्ने पालो मेरो थियो । म उनीहरु पछिको लाइनमा उभिइसकेकी थिएँ, निर्धक्क । त्यतिखेरसम्म त मलाई डर लागेको नै थिएन ।

हार्नेसिङ सुट लगाउँदा नै एकजना क्रुलाई सोधिसकेकी थिएँ, ‘कत्तिको थ्रिल हुन्छ जिपलाइनमा ?
‘हुन्छ, थ्रिल नभई के एडभेन्चर गराई भो र ?’ उनले हाँस्दै सुनाएका थिए, ‘यो एडभेन्चरको पहिलो स्टेप हो । यसपछि बन्जी, प्याराग्लाइडिङ गर्ने हो ।’

बन्जी र प्याराग्लाइडिङ मैले पहिल्यै गरिसकेकी थिएँ । त्यसैले प्रश्न गरिहालेँ, ‘बन्जी र प्याराग्लाइडिङ गरिसकेकालाई थ्रिल हुँदैन त ?’  
‘रोमाञ्चक अनि साहसिक खेलमा थ्रिल त भइहाल्छ नि !’ उनको जवाफ थियो । म उड्न उत्साहित भएँ । गत फेब्रुअरीदेखि खुलेको धुलिखेल जिपलाइनमा तीन किसिमका जिपलाइन गराइँदो रहेछ । क्लासिक, सुपरम्यान अनि टेन्डम (जोडी) । सुपरम्यान र टेन्डम जिपलाइन नेपालमै पहिलोपटक हो । उक्त क्रुले त्यसमध्ये पनि ‘सुपरम्यान’ अलि बढी साहसिक हुने भनेपछि मैले सुपरम्यान गर्ने निर्णय लिएकी थिएँ ।

त्यसैले सुपरम्यान जसरी उड्नका लागि म ती दुई साथीको पछि उभिइरहेकी थिएँ । अगाडिका दुई जना भने डराउँदै क्लासिक जिपलाइन गरे । त्यसपछि मलाई जिपलाइन गराइदिने क्रुले ठूलो टेबलमाथि लेट्न लगाए । टेबलमाथि लेट्नुअघि एकपटक खुट्टा काम्यो ।

बन्जी र प्याराग्लाइडिङको अनुभवले यता त्यत्ति डर नलाग्ला भन्ने धाक थियो मनमा । प्लेटफर्म माथिको टेबलमा चढ्दा मेरो शेखी झरिसकेको थियो ।

अलिअलि डराउन थालिसकेकी थिएँ । टेबलमा लम्पसार परेर शरीर घोप्टो पर्दा मन काम्न थालिसकेको थियो । बस्, अनुहारमा त्यो डर झल्किसकेको भने थिएन । टेबलमाथि लम्पसार पर्दा आँखा अगाडि देखिन्थ्यो, पातलो फलामे लठ्ठा ।

म त्यही फलामे लठ्ठाको सहयोगमा उड्न तयार थिएँ । जब क्रुले हातमा ‘गोप्रो’ राखिदिएर मलाई त्यो टेबलबाट फलामे लठ्ठामा झुण्डाइदिए, मेरो आँत सुकिसकेको थियो । मन चिसो भइसकेको थियो । तर पनि क्यामेरातिर पोज दिइरहेँ । आखिर भिडियोमा डराएको देखियो भने बर्बाद हुन्छ । त्यसैले डर भगाउन क्रुहरुसँग गफ गरेँ । छेउमा मपछि उड्न तयार भएकाहरुले ‘अल द बेस्ट’ भने । मलाई अलिकति साहस मिल्यो ।

त्यसपछि केही क्षणमै मलाई क्रुले पाँचखालको डाँडातिर अनुहार पारेर फलामे लठ्ठामा तुर्लङ्ग झुण्ड्याइदिए । शरीरको भार हार्नेस सुटले बोकिसकेको थियो । फलामे लठ्ठाको सहारामा उड्न तयार थिएँ म । क्रुले काउन्टिङ सुरु गर्‍यो– ‘रेडी वन, टु, थ्री’ । क्रुले थ्री काउन्टिङ गर्नसाथ मेरो शरीरलाई अगाडितिर धकेलियो ।

त्यसपछि म उड्न थालेँ । एउटा हातमा पञ्जा थियो अनि अर्को हातमा गोप्रो क्यामारा । उड्नुअघि भिडियोमा यो बोल्छु, त्यो बोल्छु भनेर बनाएको योजना हावाको बहावसँगै कता उडेर गयो, थाहै भएन । उड्न थालेपछि सबै बिर्सिन थालें ।

अघि ओझेल परेको घामकीरी आकाशमै उडिरहेको थियो तर मेरो ध्यान त्यता पनि गएन । बस्, भिडियोमा भन्दै गएँ, ‘यस्, आम् फ्लाइङ ।’ भिडियोभरि मैले तिनै वाक्य दोहोर्‍याई तेहोर्‍याई रहेछु ! मनभित्रको डरका कारण अन्य शब्दै फुर्न सकेनछ ।

धुलिखेल जिपलाइनबाट लामटाङ, दोर्जेलक्पा, फुर्बीच्यातु लगायतका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ भनिएको थियो तर आकाशमा उड्दा मेरो नजर ती हिमालमा पनि ठोक्किएन । बरु ‘सुपरम्यान’ शैलीमा उड्दै शरीर भन्दा तलको पहाड अनि पहाडतिरका घरहरुमा एक नजर लगाएँ । ती घरका आँगन खाली देखिन्थे ।

त्यहाँ कोही व्यक्ति हुँदो हो त म फेरि चिच्याउने थिएँ होला, ‘आम् सुपर वुम्यान्, आम् फ्लाइङ ।’ तर २ सय ४० फिट मुनिका ती घरहरुमा मैले मानिस ठम्याउन सकिनँ । सायद कोही खेतमा पो काम गर्दै थिए कि ! त्यसैले आँखालाई अगाडिको ल्यान्डिङ स्टेसनमै केन्द्रित गरेँ ।

हलुङ्गो शरीरमा उड्न पाएर म मख्ख थिएँ । उड्दै गर्दा कताकता फलामे लठ्ठा नचुँडिदिओस् भन्ने भय पनि थियो मनमा । त्योभन्दा पनि धेरै डर त बीचैमा रोकिन्छु कि भन्ने पनि डर थियो किनभने यसअघि एक साथीले तौल कम अनि हावा नचलेर आफू बीचैमा रोकिएको अनुभव मलाई सुनाइएकी थिई । कतै ऊजस्तै म पनि बीचैमा रोकिने त हैन ? यो कल्पनेबित्तिकै मेरो मुटुको धडकन तीव्र भएर आयो ।

तर मेरो उडानलाई साथ दियो, तातो बतासले अनि म कतै नरोकिई उड्दै गएँ, भिडियो बनाउँदै गएँ ।
अचानक ल्यान्डिङ हुने ठाउँमा मलाई झट्काको अनुभव भयो । डोरी चुँडिएको जस्तो अनुभव भयो । लाग्यो, ल्यान्डिङ हुने ठाउँमा आएर चुँडियो कि क्या हो ! तर होइन रहेछ, खासमा यो त ल्यान्डिङको प्रक्रिया रहेछ !

मलाई ल्यान्डिङ स्टेसनका दुई क्रुले यताको प्लेटफर्ममा ताने । हार्नेस सुट पनि त्यहीँ फुकाइयो । ११ सय मिटरको दुरी त मलाई एकदम छोटो लाग्यो ! सायद मलाई उड्न पुगेकै थिएन । हार्नेस फुकालेर प्लेटफर्मबाट उत्रँदै गर्दा हरेक साहसिक खेल खेलिसकेपछि ‘मैले गरेँ’ भन्ने जुन महसुस हुन्छ, मनमा त्यही भयो । सानो बेलामा कसैले कुनै काम गर्न लगाउँदा, त्यो काम सक्किँदा जसरी मुटु फुलाउँथेँ, जिपलाइन गरेर ओर्लँदै गर्दा मेरो छाती गर्वले फुलेझैँ भयो ।

जिपलाइन गरेर मलाई कुरिरहेका मेरा साथीलाई सुनाएँ, ‘म त सुपर गःलजस्तै उडेँ नि !’
साथीहरुले पनि मेरो खुसीलाई साथ दिए ।
त्यसपछि जिपलाइन गरिसकेका टोली छेउकै एडभेन्चर पार्क घुम्न गयौँ । पार्कमा विभिन्न आठ किसिमका एडभेन्चर खेल अझै रहेछ । अब त्यत्रो साहसिक काम सकेपछि ती खेलहरु सामान्य नै लाग्यो तर खेल्दै जाँदा थाहा भयो, ती खेलहरु पनि रोमाञ्चक अनि साहसिक नै रहेछ ।

त्यहाँ ‘प्लेइङ ब्रिज’, ‘टायर ब्रिज’, ‘भिसेप ब्रिज’लगायत अन्य रोमाञ्चक खेलहरु खेलियो । त्यो पार्क बारी अनि जंगलसँगै जोडिएको थियो । त्यसैले हरेक खेल खेल्दा छुट्टै आनन्द मिल्यो । त्यहाँ बालबालिकाका लागि जिपलाइन पनि रहेछ । जंगल सफारीजस्तै भयो त्यो आधा घण्टा पनि ।

केदार थापा र भूपेश श्रेष्ठले पाँच करोडको लगानीमा धुलिखेलको त्यो जिपलाइन खोलेका रहेछन् । उनीहरु त्यहाँ अझै रोमाञ्चक खेलहरु थप्ने तयारीमा रहेछन् । युरोपियन र अमेरिकी मापदण्डमा बनाइएका जिपलाइनमा सेफ्टी पनि छ । सबै खेलहरु खेलेर फर्कँदै गर्दा मनमा भयो, ‘अब अर्को पालि त दिदीकी छोरीलाई पनि ल्याउनु पर्ला !’

 

प्रकाशित: २३ भाद्र २०७६ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App